News Summary
Generated by OK AI. Editorially reviewed.- इरानले होर्मुज स्ट्रेट पुनः बन्द गरी अमेरिकामाथि पूर्ण अविश्वास व्यक्त गर्दै अन्य देशका जहाजलाई त्यहाँबाट जान नदिने चेतावनी दिएको छ।
- इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले बारुदी सुरुङ हटाउने कामलाई युद्धविराम उल्लङ्घन भन्दै कडा जवाफ दिने चेतावनी दिएका छन्।
- होर्मुज स्ट्रेट बन्द हुँदा बङ्गलादेशमा गहिरो इन्धन सङ्कट देखिएको छ र अमेरिकाले आपत्कालीन भण्डारबाट २ करोड ६० लाख ब्यारेल तेल उपलब्ध गराएको छ।
६ वैशाख, काठमाडौं । इरान र अमेरिकाबीचको तनाव थप चुलिएको छ । इरानले अमेरिकामाथि पूर्ण अविश्वास व्यक्त गर्दै होर्मुज स्ट्रेटबाट आफ्ना जहाजहरू निस्कन नपाए अन्य कुनै पनि देशका जहाजलाई त्यहाँबाट जान नदिने चेतावनी दिएको छ।
शनिबार इरानले होर्मुज स्ट्रेट पुनः बन्द गर्नुका साथै भारतीय जहाजमाथि समेत गोली चलाएको थियो । यसले विश्वव्यापी आपूर्ति शृङ्खलामा थप सङ्कट निम्त्याउने संकेत गरेको छ ।
बारुदी सुरुङ नहटाउन इरानी चेतावनी
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाको नाकाबन्दीलाई ‘गलत’ भन्दै जुनसुकै बेला परिस्थिति बिग्रन सक्ने र त्यसका लागि इरानी सेना पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले होर्मुजमा बारुदी सुरुङ हटाउने काम गरिए त्यसलाई युद्धविरामको उल्लङ्घन मानिने र कडा जवाफ दिइने चेतावनी दिएका छन्।
गालिबाफले अमेरिका हतियारमा बलियो भए पनि रणनीतिक रूपमा इरानसामु कमजोर रहेको र अमेरिकाले इजरायलको हितमा मात्र निर्णय लिने गरेको आरोप लगाए।
इरानसँग कति हतियार बाँकी छ ?

यसैबीच, अमेरिकी गुप्तचर निकाय र न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, यति ठूलो युद्धका बाबजुद इरानको सैन्य भण्डार सुरक्षित छ । इरानसँग अझै पनि युद्धअघिको ७० प्रतिशत ब्यालेस्टिक मिसाइल, ६० प्रतिशत मिसाइल लन्चर र ४० प्रतिशत ड्रोन भण्डार सुरक्षित रहेको बताइएको छ।
उता, इरानले अस्पतालहरूमा अमेरिकी र इजरायली आक्रमणबाट भएको क्षतिको नयाँ भिडियो सार्वजनिक गर्दै विरोध जनाएको छ।
अमेरिकामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै इरानले महत्त्वपूर्ण व्यापारिक मार्ग होर्मुज स्ट्रेट पुनः बन्द गरेको छ।
विश्वव्यापी प्रभाव
होर्मुज स्ट्रेट बन्द हुँदा यसको प्रत्यक्ष मार बङ्गलादेश जस्ता देशमा परेको छ। ९५ प्रतिशत इन्धन आयातमा निर्भर बङ्गलादेशमा गहिरो इन्धन सङ्कट देखिएको छ। पेट्रोल पम्पहरूमा घन्टौँ लामा लाइन छन् भने सरकारले ऊर्जा बचाउन विश्वविद्यालयहरू बन्द गर्नुका साथै कार्यालय समयसमेत कटौती गरेको छ।
विश्वव्यापी आपूर्ति सङ्कट टार्न अमेरिकाले आफ्नो आपत्कालीन भण्डार (इमर्जेन्सी रिजर्भ) बाट २ करोड ६० लाख ब्यारेल तेल निकालेर कम्पनीहरूलाई उपलब्ध गराएको छ।
वार्ता थप अन्योलमा

पाकिस्तानमा सोमबार वार्ताको अर्को चरण हुन सक्ने चर्चा चले पनि इरानले तत्काल प्रत्यक्ष वार्ताको सम्भावना नकारेको छ।
इरानका उप-विदेशमन्त्री सईद खतीबजादेहले नियम र ‘फ्रेमवर्क’ तय नभएसम्म र अमेरिकाले आफ्ना सर्तहरू नत्यागेसम्म वार्ता अघि नबढ्ने प्रष्ट पारेका छन्। उनले ट्रम्पको दाबीविपरीत इरानले आफ्नो प्रशोधित युरेनियम अमेरिकालाई नसुम्पिने बताए।
अमेरिकासँगको सम्भावित सम्झौतालाई लिएर इरानभित्रै तीव्र विरोध भइरहेको छ। इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी) र सरकारका समर्थकहरूले शीर्ष नेताहरूको हत्यापछि अमेरिकालाई बिना कुनै औचित्य छुट दिन नहुने भन्दै प्रदर्शन गरिरहेका छन्।
ट्रम्प इरानको ४६० किलो प्रशोधित युरेनियम जफत गरेर यसलाई आफ्नो ‘जित’ को रूपमा देखाउन चाहन्छन्। तर, आईआरजीसी भने नाकाबन्दी नहटाएसम्म सम्झौता नगर्ने अडानमा छ।
ट्रम्पको इजरायललाई प्रशंसा, ह्यारिसको आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी जारी रहने तर सम्झौता नजिक रहेको दाबी गरेका छन्। साथै, उनले इजरायललाई एक साहसी, बफादार र समझदार सहयोगी भन्दै सङ्कटको समयमा लड्न र जित्न जान्ने राष्ट्रको रूपमा प्रशंसा गरेका छन्।
यसको ठीक उल्टो, पूर्वअमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पलाई इरानसँगको युद्धमा तानेर अमेरिकी सैनिकहरूको ज्यान जोखिममा पारेको आरोप लगाएकी छन्। उनले यो युद्ध अमेरिकी जनताले नचाहेको बताइन् ।
प्रतिक्रिया 4