+
+
Shares
बुटवलमा फुटपाथ व्यवस्थापन :

व्यवसायीमाथि नगर प्रहरीको बल प्रयोग

बुटवलका व्यवसायी भन्छन्– ज्यादती रोकियोस्

अतिक्रमण हटाउने क्रममा नगर प्रहरीले व्यवसायीमाथि बल प्रयोग गर्ने, हातपात गर्ने र सामान जफत गरेका भिडियोहरू सार्वजनिक भइरहेका छन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८३ वैशाख ६ गते २१:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने क्रममा व्यवसायीमाथि बल प्रयोग, हातपात र सामान जफत गरेको आरोप लागेको छ।
  • चार व्यावसायिक संस्थाले उपमहानगरको बल प्रयोग र विना अभिलेख सामान जफत गर्ने कार्यको विरोध गर्दै स्पष्ट मापदण्ड बनाउन माग गरेका छन्।
  • नगर प्रहरी प्रमुख जयश्वर पाण्डेले फुटपाथ मिचेर राखिएका सामान मात्र उठाएको र आफूहरूमाथि हातपात भएपछि प्रतिकार गरेको दाबी गरेका छन्।

६ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकाले केही दिन यता फुटपाथ अतिक्रमण हटाउने अभियान चलाएको छ । अतिक्रमण हटाउने क्रममा नगर प्रहरीले व्यवसायीमाथि बल प्रयोग गर्ने, हातपात गर्ने र सामान जफत गरेका भिडियोहरू सार्वजनिक भइरहेका छन् ।

नगर प्रहरीले पसल सञ्चालकहरूमाथि बल प्रयोग गरेको, सामान उठाएर लैजाने क्रममा धकेलाकेल हुँदा आफूमाथि मुक्का प्रहार भएको र औंलासमेत भाँचिएको व्यवसायीले बताएका छन् । मापदण्डबारे स्पष्ट नपारी अनुचित बल प्रयोग, हातपात र विना अभिलेख सामान जफत गरिएको व्यवसायीको आरोप छ ।

अमेरिका–इरान युद्धको असरले महँगी बढेको र व्यवसायमा मन्दी छाएको विषम परिस्थितिमा उपमहानगरले व्यवसायीको मनोबल गिराउने काम गरेको उनीहरूको तर्क छ ।

फुटपाथ अतिक्रमण गरेर सामान नराखेका पसलमा पनि सटरमाथिको अस्थायी पाली (सनसेट पर्दा) टाँगेकै आधारमा नगर प्रहरीले हातपात गर्दै बलजफ्ती सामान झिकेर लगिदिएको राममन्दिर लाइनको सिटी ब्याग हाउसका सञ्चालक विजय रायमाझीको गुनासो छ ।

नगर प्रहरीसँगको धकेलाधकेलमा आफूमाथि मुक्का प्रहार भएको र दाहिने हातको औंला भाँचिएको रायमाझीले बताए । उपमहानगरको माइकिङमा सनसेट पर्दा राख्न नपाइने भन्ने जानकारी कहीँकतै नभएकाले आफूहरूले सटसेट राख्न पाइने ठानेर नहटाएको रायमाझीले बताए ।

‘पसलमा ग्राहक थिए, एक्कासि नगर प्रहरीहरू अराजक शैलीमा आएर सामान लैजान थालेपछि आफ्नो सामान खोस्न पुग्दा तीन–चार जना नगर प्रहरीले ममाथि मुक्का प्रहार गरे,’ रायमाझीले भक्कानिँदै भने, ‘फुटपाथ मिचेर भुईंमा कुनै सामान राखेको थिइनँ, यात्रुलाई बाटो हिँड्न अवरोध थिएन तर सनसेट भत्काइदिएर थुप्रै सामान लगिदिए, हातको औंला भाँचिदिए ।’

नगर प्रहरीले आफ्नो पसलका कति झोला लगे भन्ने यकिन हुन नसकेको रायमाझीले बताए ।

‘राज्यलाई कर तिरेर व्यवसाय गरे पनि उपमहानगरले अपराधीलाई जस्तो व्यवहार गर्‍यो, अब व्यवसाय गरौं कि बन्द गरेर विदेश जाऔं भन्ने दोभारमा परेको छु,’ रायमाझीले भने, ‘उपमहानगरले अभिभावकको भूमिका गर्ला भनेको उल्टै कुटपिट र ज्यादती ग¥यो । सुरक्षाको ग्यारेन्टी भएन । सरकारको ध्यानाकर्षण होस् ।’

बुटवल बीपी चोकको हिमालय फोम हाउसका सञ्चालक मोहम्मद मुस्तफाले बुटवल उपमहानगरले फुटपाथ व्यवस्थापनको नाममा राणा शासनको शैलीमा दमन र विनाअभिलेख सामान उठाएर लगेको गुनासो गरे ।

उपमहानगरले माइकिङ गरे पनि सबै व्यवसायीले फुटपाथको मापदण्ड के कति हो, कुन ठाउँसम्म सामान राख्न पाइने हो भन्ने प्रष्ट हुन नसकेको हुँदा त्यसलाई बुझाउने दायित्व उपमहानगरकै हुने उनले तर्क गरे ।

‘ट्राफिक प्रहरीले सडक पेटी बाहिर नराख्न भनेका थिए, त्यसलाई मानेका थियौं, तर दुई दिनपछि एक्कासि नगर प्रहरीसहित ठूलो शक्ति ल्याएर एकतर्फी आक्रमण शैलीमा हानाहान तानातान भयो,’ मुस्तफाले भने, ‘हामीले फुटपाथ कब्जा गरेकै थिएनौं, गल्ती नै गरेको भए पनि सम्झाइबुझाइ गर्न सकिन्थ्यो । तर राणा शासनको शैलीमा दमन भयो ।’

कुनै ठूलो गल्ती नगरेको अवस्थामा पनि ठूलै अपराधी समाए जस्तो थुप्रै मिडिया बोलाएर व्यवसायीको बेइज्जत गराएको मुस्तफाले गुनासो गरे ।

‘बुबाको पालादेखि ४० वर्ष र आफैंले पसल गरेको २१ वर्ष भयो । तर व्यापारीमाथि यस्तो मनोमानी कहिल्यै भएको थाहा छैन,’ मुस्तफाले भने, ‘कुनै अभिलेख नबनाई पसलबाट सामान लगियो, कति लगेको हो रेकर्ड छैन । व्यवसायीको मनोबल गिराउने काम मात्र भयो । भिडियो भाइरल हुँदा त्यसमा आएका कमेन्टले हाम्रो मानहानी भयो, अपराधी जस्तो बनाइयो ।’

विना अभिलेख सामान लगिएकाले फिर्ता के कति हुने भन्ने प्रश्न उब्जिएको उनले बताए ।

बुटवल बीपी चोककै गौशीकंकर भाँडा पसलका विजय कशौधनले बिक्री भएर ग्राहकले छेउमा राखेको तामाको भाँडा (ताउलो) नगर प्रहरीले लगिदिएको बताए ।

फुटपाथभन्दा बाहिर पसलमै राखिएको ताउलो सोधपुछ नगरी डाँका शैलीमा जबरजस्ती उठाएर लगिदिएको कसौधनले बताए । ‘हाम्रो पसल बुटवलकै पुरानो हो । १२० वर्षदेखि चलेको छ । म २२ वर्षदेखि पसलमै बस्दै आएको छु, तर अहिले जस्तो जबरजस्ती कहिल्यै देखेको छैन, सीसीटीभी हेर्दा पनि हुन्छ,’ कसौधनले भने, ‘ग्राहकलाई बेचेको सामानसमेत खोसेर लगे ।’

बेचिसकेको सामान ग्राहकलाई दिन उपमहानगर गएर निवेदन दिएको र तोक लागे पनि नगर प्रहरी जयश्वर पाण्डेले नदिएको कसौधनले बताए ।

बुटवल राममन्दिर लाइनका व्यवसायी शोभाखर पोखरेलले बजार क्षेत्रमा फुटपाथ क्षेत्रको बारेमा स्पष्ट मापदण्ड नभएको, आम व्यवसायीलाई त्यसबारे जनप्रतिनिधि, कर्मचारी कोही आएर जानकारी नगराएको र माइकिङमा पनि यसबारे प्रष्ट नपारिएको बताए ।

फुटपाथ व्यवस्थित बनाउने विषयमा सबैको समर्थन रहे पनि उपमहानगरको कार्यान्वयन कार्यशैली सरासर गलत भएको पोखरेलले बताए । कानुन लागु गर्ने नाममा कमजोर वर्गलाई दबाउने होइन, संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो भन्दै उनले विकासको नाममा मानवीयता नमार्न, व्यवसायीको सम्मान र संवेदनशिलता कायम राख्न उनले सुझाव दिएका छन् ।

‘नगर प्रमुख, उपप्रमुख, नगर प्रहरी, सुरक्षाकर्मीसहित ठूलो शक्ति ल्याएर व्यवसायीले ठूलै अपराध गरे जस्तो गरी तर्साउने, उद्दण्ड शैलीमा उपमहानगर प्रस्तुत भयो,’ पोखरेल भन्छन्, ‘अभिभावकको भूमिका हुनुपर्नेमा फिल्मी शैली भयो, यस्तो व्यवहारले बुटवलको व्यावसायिक वातावरण खल्बलिने र बुटवलका व्यवसायी तिलोत्तमा र सैनामैनातिर जाने क्रम बढ्छ ।’

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले फुटपाथ व्यवस्थित गर्नु सकारात्मक भए पनि व्यवसायीमाथि धरपकड, हातपात र ज्यादती खेदजनक भएको बताए ।

‘नगर प्रहरीले संयमता गुमाएर अनावश्यक बल प्रयोग गरेको हो कि भन्ने देखिएको छ, यसलाई सच्याएर जानुपर्छ,’ अर्यालले भने, ‘फुटपाथ मात्रै रहने, व्यवसायी जति अन्यत्र पलायन हुने अवस्था आयो भने के गर्ने भन्नेतर्फ उपमहानगर सचेत हुनुपर्छ ।’

चार व्यावसायिक संस्थाको ध्यानाकर्षण

बुटवलमा फुटपाथ खाली गराउने अभियानका क्रममा व्यावसायिक प्रतिष्ठानमा बलपूर्वक सामान हटाइएको प्रति बुटवलका चार प्रमुख व्यवसायिक संस्थाले ध्यानाकर्षण भएको जनाएका छन् ।

रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली र उद्योग व्यापार संघ बुटवलका अध्यक्ष लोकनाथ पन्थीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उपमहानगरले व्यावसायिक संस्थाहरूसँग भएको सहमतिविपरीत पसलहरूमा पसेर व्यवसायीमाथि बल प्रयोग र विना अभिलेख सामान जफत गरेको भन्दै विरोध जनाएका हुन् ।

सडक पेटी खाली गरी कार्यान्वयन गर्ने सन्र्दभमा अमरपथ, बीपी चोक, राममन्दिर लाइन लगायतका क्षेत्रमा उपमहानगरपालिकाले केही व्यावसायिक प्रतिष्ठानमा गरेको बल प्रयोगप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सडक पेटी तथा अस्थायी पाली (सनसेट) को स्पष्ट मापदण्ड तयार गर्न र सटर परिसरबाट लगिएका सम्पूर्ण सामान सम्बन्धित व्यवसायीलाई अविलम्ब फिर्ता गर्न चार संस्थाले उपमहानगरसँग माग गरेका छन् ।

रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले इन्धनको मूल्य वृद्धिले प्रताडित भएका व्यवसायीमाथि बुटवल उपमहानगरले नगर प्रहरी लगाएर धरपकड गर्नु खेदजनक रहेको बताए ।

संघका पूर्वअध्यक्ष दीपक अधिकारीले व्यवसायीले तिरेको करबाट तलब भत्ता खाएर शासन चलाउनेहरूले व्यवसायीमाथि नै अन्यायपूर्ण व्यवहार गर्दै आएको भन्दै आपत्ति जनाए ।

अमरपथका पुराना व्यवसायी अनुपमान सैंजुले अमेरिका इरान युद्धको असरले महँगी र मन्दीको मारमा परेका व्यवसायीमाथि बुटवल उपमहानगरले ज्यादती गरेको गुनासो गरे ।

बुटवलका व्यवसायी कृष्ण अर्यालले फुटपाथ नै नबनाइएको, खाल्डा मात्रै भएको र मान्छे हिँड्ने ठाउँ नभएको हुँदा त्यस्तो ठाउँमा गएर उपमहानगरले अराजकता मच्चाउनु कति शोभानीय हुन्छ भन्दै प्रश्न गरेका छन् ।

‘पहिला सडकपेटी तयार पार्नुपर्छ कि पर्दैन ?,’ प्रश्न गर्दै अर्यालले भनेका छन्, ‘अब मेयर तपाईं भाइरल हुनुभयो, चार वर्ष सुत्नुभयो अहिले आएर भाइरल हुनलाई व्यापारीसँग जुध्दै हुनुहुन्छ । पहिला आफ्नो कार्यालयका कर्मचारी तह लाउनुस्, आफ्नो कार्यालय सुधार्नुस् त्यसपछि बल्ल बाहिर आउनुस् ।’

बुटवल उपमहानगरका नगर प्रहरी प्रमुख जयश्वर पाण्डेले फुटपाथ मिचेर राखिएका सामान मात्र उठाएको र आफूहरूमाथि हातपात भएपछि प्रतिवाद गरेको दाबी गरे । फुटपाथ अतिक्रमण हटाउने अभियान अझै केही दिन चल्ने भन्दै उनले कुन व्यवसायीको कति सामान जफत गरेको भन्ने तथ्यांक तयार नभएको बताए ।

‘हामीले माइकिङ पनि गरेका हौं, सडक पेटी मिचेको ठाउँबाट सामान उठाएका हौं,’ उनले भने, ‘हामीले नगर प्रमुखले जे आदेश दिनुहुन्छ त्यही आदेश पालना गरेका हौं । हामीमाथि हातपात हुन थालेपछि प्रतिकार गरेका हौं ।’

बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले आफूहरूको कदमलाई धेरैतिरबाट समर्थन भएको दाबी गर्दै अझै केही दिन अभियान निरन्तर चल्ने बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?