+
+
Shares

मण्डला थिएटरले नि: शुल्क ‘थिएटर प्रोडक्सन प्रोसेस’ कार्यशाला गर्ने, आवेदन माग

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते ११:४३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मण्डला थिएटरले १८ देखि ३५ वर्ष उमेर समूहका १५ युवा रंगर्मीका लागि नि: शुल्क थिएटर प्रोडक्सन प्रोसेस वर्कशप आयोजना गर्ने भएको छ।

नेपाली रंगमञ्चको प्रवर्द्धनमा सक्रिय मण्डला थिएटरले नि: शुल्क थिएटर प्रोडक्सन प्रोसेस वर्कसप आयोजना गर्ने भएको छ । थिएटरले बुधबार एक सूचना जारी गर्दै इच्छुक उत्साही युवाहरूबाट आवेदन आह्वान गरेको हो ।

विशेष गरी १८ देखि ३५ वर्ष उमेर समूहका १५ जना युवा रंगर्मीहरूलाई लक्षित गरी यो कार्यशाला सञ्चालन गर्न लागिएको हो । कार्यशालामा सहभागी हुन चाहनेले कम्तीमा दुईवटा नाटकमा काम गरेको अनुभव हुनुपर्ने प्रावधान राखिएको छ।

के छ कार्यशालामा ?

६ हप्तासम्म चल्ने कार्यशालामा सहभागीहरूले अनुभवी नाट्यकर्मीहरूको प्रत्यक्ष मार्गदर्शनमा नाटक निर्माणको पूर्ण प्रक्रिया सिक्न पाउनेछन् । सहभागीहरूले अभिनय, निर्देशन, सेट तथा कस्ट्युम डिजाइन, प्रकाश, ध्वनि/संगीत, प्रचार-प्रसार र दस्ताबेजीकरण जस्ता विधाहरूमा विशेष सीप विकास गर्ने अवसर पाउने मण्डला थिएटरले जानकारी दिएको छ ।

कार्यशालाको संरचनाअनुसार पहिलो ३ हप्ता आधारभूत तालिम र प्रारम्भिक निर्माण प्रक्रियामा केन्द्रित हुनेछ । त्यसपछिका २ हप्ता व्यावसायिक कलाकारहरूसँगको एकीकृत रिहर्सल र अन्तिम १ हप्ता प्राविधिक तयारीका लागि छुट्याइएको छ।

कार्यशालाको मुख्य उपलब्धिका रूपमा युवाका मुद्दाहरूमा आधारित एक नाटक तयार गरिनेछ, जुन मण्डला थिएटरको ‘स्मल हल’ मा नियमित मञ्चन गरिनेछ । सहभागीहरूले नि:शुल्क तालिमसँगै खाजा, प्रमाणपत्र र व्यावसायिक रंगमञ्चमा काम गर्ने अनुभव प्राप्त गर्नेछन् ।

टिकट बिक्रीबाट प्राप्त हुने आम्दानीको हकमा थिएटरले पारदर्शी मोडल सार्वजनिक गरेको छ । सुरुवाती आम्दानीबाट हल भाडा र निर्माण खर्च कटाएपछि बाँकी रहने नाफामा ६० प्रतिशत मण्डला थिएटर र ४० प्रतिशत सहभागी कलाकारसहितको ‘प्रोडक्सन टिम’ लाई बाँडफाँड गरिने सूचनामा उल्लेख छ ।

समय र आवेदन प्रक्रिया

यो परियोजना आगामी जेठ १ गतेदेखि असार ५ गतेसम्म आइतबारदेखि शुक्रबार दिउँसो १२ देखि ५ बजेसम्म सञ्चालन हुनेछ । अन्तिम साता असार ६ देखि १२ सम्म भने सहभागीहरू पूर्ण समय उपलब्ध हुनुपर्नेछ।

इच्छुक रंगर्मीहरूले २०८३ वैशाख २२ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । प्राप्त आवेदनहरू मध्येबाट संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूलाई मात्र दोस्रो चरणको छनोट प्रक्रियाका लागि सम्पर्क गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?