News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली विवाहहरू अत्यन्त महँगो हुँदै गएका छन् जसले सामान्य परिवारको वर्षौंको बचत सकिन्छ वा ऋणको भार थपिन्छ।
- विवाह योजना गर्दा कुल बजेट पहिले नै तय गरी त्यसलाई विभिन्न शीर्षकमा विभाजन गर्नुपर्छ।
पछिल्लो समयमा नेपाली विवाहहरू अत्यन्तै महँगो हुँदै गएका छन् । ठूला पार्टी प्यालेस, महँगा लाइटिङ, विदेशी डेकोर, धेरै समारोह र सयौं अतिथिका कारण एउटा सामान्य परिवारको वर्षौंको बचत एकैचोटि सकिन्छ । अझ बचत नहुँने हो भने कयौं वर्षका लागि ऋणको भार थोपरिन्छ ।
तर विवाह जीवनको एउटा सुन्दर अध्याय हो, यो देखावटी प्रतिस्पर्धा होइन ।
विवाहमा अनावश्यक खर्च कटौती गरेर नयाँ जीवन सुरु गर्नका लागि केही बचत गर्न सकिन्छ ।अरूको देखासिकी तथा भड्किलो शैलीको सपना देख्नु स्वाभाविक हो, तर वास्तविकतामा विवाह भव्य बनाउन धुनमा लाग्दा आर्थिक रूपमा संटक उत्पन्न हुन सक्छ । खर्च घटाउनुको मतलब उत्सव नमनाउनु होइन । सही योजना बनाएर विवाह रमाइलो, यादगार र सस्तो बनाउन सकिन्छ ।
१. बजेट पहिले नै स्पष्ट रूपमा तय गर्ने
विवाहको योजना सुरु गर्नुअघि नै कुल बजेट तय गर्नुपर्छ । उदाहरणका लागि ५ लाख, ७ लाख वा ८ लाख जति पनि हुन सक्छ । यो रकमलाई विभिन्न शीर्षकमा विभाजन गर्नुपर्छ । भोज व्यवस्थापन, कपडा, गरगहना, फोटोग्राफी, यातायात आदि ।
बजेट तोकेपछि हरेक निर्णय त्यही सीमाभित्र राख्नुपर्छ । पार्टी प्यालेसहरूमा कुरा गर्दा पहिले आफ्नो बजेट बताउनुपर्छ र सोध्नुपर्छ । ‘यो रकममा तपाईंले के–के व्यवस्था गर्न सक्नुहुन्छ ?’ यसले अनावश्यक महँगो विकल्पबाट बचाउँछ । बजेट बनाउँदा आमाबुबा र दुवै पक्षको परिवारसँग छलफल गर्नुपर्छ, ताकि पछि आर्थिक तनाव नहोस् ।
२. समझदारीपूर्ण ‘भेन्यू’ को छनोट
ठूला पार्टी प्यालेसमा प्रतिप्लेट १५०० देखि ३५०० सम्म लाग्न सक्छ । यसको सट्टा उपत्यकाका बजेट फ्रेन्डली पार्टी प्यालेस, सामुदायिक हल, गुठी हल वा हेरिटेज स्थल रोज्नुपर्छ । यी ठाउँहरूमा आधारभूत डेकोर, लाइटिङ र पार्किङको सुविधा पनि प्याकेजमै आउँछ । यस्ता ठाउँहरू प्राकृतिक सुन्दरताले भरिपूर्ण हुन्छन् र महँगो डेकोरको आवश्यकता पनि पर्दैन ।
३.डेस्टिनेसन विवाह– राम्रो र सस्तो विकल्प
डेस्टिनेसन विवाह महँगो हुन्छ भन्ने सोच गलत हो । पोखरा फेवाताल किनार, नगरकोट हिमालको मनोरम दृश्य, चितवनको जंगल सफारी, ढोरपाटन वा इलाम जस्ता ठाउँमा सानो र सुन्दर विवाह गर्न सकिन्छ ।
यस्ता डेस्टिनेसन विवाहको फाइदाहरू पनि छन् । सबै अतिथिलाई एउटै रिसोर्ट वा होटलमा व्यवस्था गर्न सकिन्छ । यात्रा, बसाइ र खानाको खर्च मिलाएर कुल खर्च ३०–४५ प्रतिशत सम्म घटाउन सकिन्छ । प्राकृतिक वातावरणले डेकोरको खर्च पनि बचाउँछ ।
४. मेनुमा बुद्धिमानी छनोट
खानामा सबैभन्दा धेरै खर्च हुन्छ । महँगा स्टार्टर, चाट काउन्टर र विदेशी डिशहरूबाट बच्नुपर्छ । नेपाली परम्परागत मेनु दाल–भात, विभिन्न तरकारी, मासु, आचार, साग, रोटीलाई मुख्य बनाउन सकिन्छ । यो स्वादिष्ट र सस्तो दुवै हुन्छ । भारतीय वा महँगा मिठाइहरूको सट्टा स्थानीय मिठाइ जस्तै सेलरोटी, खजुर, लड्डु, काजु बर्फी प्रयोग गर्न सकिन्छ । स्टार्टर र चाटको संख्या घटाउन सकिन्छ । मेनुलाई सीमित गरेर २०–३० प्रतिशत खर्च बचाउन सकिन्छ ।
५. अन्य महत्त्वपूर्ण कटौतीका उपायहरू
अतिथि सूची घटाउने : नजिकका नातेदार र चिनजानका मानिसहरूलाई मात्र निम्तो दिनुपर्छ । अथिति संख्या १५०–२०० जनामा सीमित गर्दा ठूलो बचत हुन्छ ।
डेकोर र लाइटिङ : सादा तर सुन्दर डेकोर रोज्न सकिन्छ । स्थानीय फूल, कपडा र एलइडी लाइट प्रयोग गर्नुपर्छ । महँगो फ्लोरल डेकोरबाट बच्नुपर्छ ।
समारोहको संख्या घटाउने : एंगेजमेन्ट, मेहन्दी, सगुन, कन्यादान र रिसेप्सन सबै छुट्टाछुट्टै गर्नुको सट्टा २–३ मुख्य कार्यक्रम मात्र राख्नुपर्छ । दुवै परिवार सहमत भए एउटै ठूलो कार्यक्रम पनि गर्न सकिन्छ ।
फोटो–भिडियो : महँगो स्टुडियोको सट्टा राम्रा तर बजेट फ्रेन्डली फोटोग्राफर छनोट गर्नुपर्छ । प्र–वेडिङ शुटलाई छोटो र सिम्पल राख्नुपर्छ ।
ध्यान दिनुपर्ने कुरा
विवाह भनेको दुई व्यक्तिको प्रेम र दुई परिवारको मिलन हो, यो कुनै देखावटी प्रतियोगिता होइन । त्यसैले महँगो विवाह होइन, खुसी, समझदारी र यादगार विवाह रोज्नुपर्छ ।
सही योजना बनाएर सीमित खर्चमा पनि अत्यन्त राम्रो, रमाइलो र भावनात्मक रूपले भरिपूर्ण विवाह गर्न सकिन्छ । बचत भएको पैसाले हनीमुनमा सुन्दर ठाउँ घुम्ने, नयाँ घर सजाउनुहोस्, भविष्यका लागि सानो लगानी गर्न सकिन्छ ।
प्रतिक्रिया 4