News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्ममा सिम्बाले आफ्नो काका स्कारले खोसेको राज्य फिर्ता ल्याउन संघर्ष गर्छ र परिवार, साथीभाइप्रतिको प्रेम सिकाइन्छ।
- यो फिल्म पुरानो १९९४ को \'द लायन किङ\' को रिमेक हो, जसमा दृश्यहरू अत्यन्तै वास्तविक छन् र ३० देशका १२० एनिमेटरहरूले काम गरेका छन्।
‘अरूहरूले के लिन सकिन्छ भनेर खोजिरहन्छन् । एक सच्चा राजाले भने के दिन सकिन्छ भनेर खोज्छ’
तपाईंको अनुमान अनुसार नै यो एउटा राजाको उक्ति हो । तर, फिल्मको । मुफासा नामक सिंह राजाले सिम्बा नामक आफ्नो राजकुमारलाई यो उपदेश दिइरहेका हुन्छन् द लायन किङमा ।
जन फेबरोले निर्देशन गरेको यो एउटा एनिमेटेड फिल्म हो । २०१९ मा रिलिज भएको यसको अर्को भाग मुफासा: द लायन किङ नि प्रदर्शन भइसकेको छ । भिजुअल्ली निकै उत्कृष्ट रहेको यी दुवै फिल्महरू ओटीटी प्लेटफर्म डिज्जीमा उपलब्ध छन् । तर, द लायन किङ अहिले सान्दर्भिक छ त ? अथवा भनौं, यो फिल्ममा छ चैं के ?
सुरुमै भनिहालुँ, चलचित्र समीक्षकहरूले यो फिल्मलाई खासै मन पराएनन् । यसको मुख्य कारण सन् १९९४ मै डिज्नीले यो कथामा सोही शीर्षकमा फिल्म बनाइसकेको थियो । त्यसबेला भने विश्वभर व्यावसायिक र समीक्षात्मक दुवै रूपमा यो फिल्म निकै सफल भएको थियो । तर, अहिले कथा एउटै हुँदा समीक्षकहरूको मन नपराएका हुन् ।
यद्यपि त्यो पुरानो लायन किङ र अहिलेको लायन किङमा धेरै भिन्नता छ ।
सबैभन्दा बढी त प्राविधिक कुरो हो । यो कुरामा सबै समीक्षकहरू एउटै पक्षमा छन् । २०१९ को लायन किङ एनिमेटेड फिल्मको उत्कृष्ट उदाहरणमध्येको एक हो भन्दा फरक पर्दैन । यसमा दृश्यहरू यति वास्तविक छन् कि यी एनिमेटेड नलाग्न सक्छन् । जनावरको रौंदेखि बिरुवाका पातहरूसम्म अल्ट्रा रियालिस्टिक छन् । फिल्मका सबै दृश्यहरू कम्प्युटरबाट बनाइएका सीजीआई हुन् ।

उतिबेला सन् १९९४ मा पनि लायन किङ आउँदा प्राविधिक रूपमा उस्तै क्रान्ति समान मानिएको थियो । त्यसबेला फिल्म निर्माताहरूले ‘एचडी’ एनिमेसन भएको भन्दै फिल्मको प्रचार गरेका थिए ।
नयाँ ‘द लायन किङ’मा पनि फिल्मलाई निर्देशक जन फेबरोले प्राविधिक सीमाभन्दा निकै अगाडि पुर्याए । फिल्ममा कथा बिर्साउने, पत्याउन गाह्रो हुने दृश्यहरू छन् । तर, फिल्मको मुख्य कमजोरी भने दृश्यहरू नौलौ छैनन् । भन्नुको अर्थ, पहिले र यो नयाँ फिल्मको क्यामेरा सटहरू करिब समान छन् । दर्शकलाई उही पुरानो ‘द लायन किङ’ नै हेरे झैं लाग्छ ।
कस्तो छ त फिल्मको कथा ?
आफ्नो पिता मुफासापछि सिम्बा ‘प्राइड रक’ (राजसिंहासन) को राजा हुने तयारीमा छ । तर उसको काका स्कार आफैं राजा बन्न चाहन्छ । त्यसपछि स्कारले दाइ मुफासाको हत्या गर्छ र, सिम्बालाई राज्यबाट लखेट्छ ।
एक्लो र डराएको सिम्बाले टिमोन (मिरक्याट) र पुम्बा ( बँदेल) लाई भेट्छ । ऊ उनीहरूसँगै हुर्किन्छ । अलि ठूलो भएपछि उसले बाल्यकालकी साथी नालालाई पनि भेट्छ । त्यसपछि के हुन्छ ? के सिम्बाले स्कारसँग बदला लिन्छ ? उनीहरूको सुन्दर राज्य के हुन्छ ? त्यो कुरा फिल्ममा छ ।
यो फिल्मको टार्गेटेड अडियन्स बालबालिका पनि हो । यसकारण स्वभाविक रूपमा फिल्ममा गीतहरू प्रयोगमा छन् । फिल्ममा गीतहरू भएको तपाईंलाई मन पर्दैन भने पनि समस्या भने हुने छैन । किनकि कथा बगाउने शैलीमा गीतहरू प्रयोग भएका छन् ।
र, एनिमेटेड फिल्म भएकाले यो कतै कार्टुन जस्तो त छैन भन्ने पनि तपाईंलाई लागिरहेको हुन सक्छ । ढुक्क हुनुहोस्- फिल्म फिटिक्कै त्यस्तो छैन । यो कार्टुन भन्दा बढ्ता फिल्म हो । यसकारण यसको टार्गेटेड अडियन्स बालबालिका भएता पनि जुनै उमेर समूहका दर्शक बन्न सक्छन् । त्यसमा स्वभाविक रूपमा तपाईं परिहाल्नुभयो ।

तर, डिस्केमर नोट, यदि तपाईं डिज्नीको फ्यान हुनुहुन्छ, उसका फिल्ममात्र नभएर किताबहरू पनि पढ्नुहुन्छ भने केही सतर्कता छन् । किनकि अघि पनि उल्लेख गरिसकियो, फिल्म केही शब्द र संवाद बाहेक पुरानै फिल्मको हुबहु नक्कल हो ।
निर्देशक फेबरोले ‘द लायन किङ’लाई नयाँ मौलिकता दिनुभन्दा पनि त्यसलाई ‘वास्तविक जस्तो’ देखाउनमा बढी ध्यान दिएका छन् । फिल्मका धेरै दृश्यहरू पुराना दृश्यहरूको हुबहु सट-फर-सट कपी हुन् । भलै ती दृश्यहरू अद्भुत किन नदेखिउन्, तर तिनले फिल्ममा कुनै नयाँ अर्थ थप्दैनन् । यो कुरा पुरानो फिल्म रिमेक गर्नेहरूका लागि एउटा प्रश्न/शिक्षा/चेतना पनि हो ।
यद्यपि यो नयाँ फिल्ममा खलनायक स्कारका लागि बनाइएको ‘बि प्रिपेयर्ड’ गीतलाई भने परिमार्जन गरिएको छ । पुरानो फिल्मको डरलाग्दो क्षणलाई हटाएर सामान्य बनाइएको छ ।
यसरी २०१९ को लायन किङ असामान्य हुँदाहुँदै पनि सामान्य बन्न पुग्यो ।
यद्यपि सरल कविता जस्तो बनाइनु, यसका पात्रहरू कहिल्यै पनि आँखा नबिज्नु, कमाल एनिमेसन हुनु फिल्मको अबब्ल पक्ष हो । फिल्मले बालबालिकाहरूलाई विशेषत: परिवार, साथीभाइप्रतिको प्रेम/साथको महत्त्व पनि सिकाउँछ । तर, त्यो नैतिक पाटोभन्दा पनि फिल्ममा पाइने नयाँ भिजुअल अनुभव नै यसको यूएसपी हो । फिल्मको मुख्य आकर्षण हो ।
यसका लागि यो फिल्ममा ३० देशका १२० एनिमेटरहरूले काम गरेका थिए । यो फिल्ममा ८६ प्रकारका जनावरलाई फिचर गराइएका छन् । तर, ‘द लायन किङ’ राम्रो र नराम्रो दुवै पक्षका लागि ‘द लायन किङ’ नै हो । किनकि बनाइएको त पुरानोलाई नै नयाँ हो । कलेवर मात्र नयाँ हो ।
प्रतिक्रिया 4