News Summary
Generated by OK AI. Editorially reviewed.- स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लाजेनका अनुसन्धानकर्ताहरूले भिटामिन बी ७ को अभावले क्यान्सर कोषहरूको ऊर्जा प्राप्त गर्ने वैकल्पिक बाटो बन्द गरिदिने पत्ता लगाएका छन्।
- अध्ययनले क्यान्सर कोषहरूको 'मेटाबोलिक' लचिलोपन निस्तेज पार्न सकिने नयाँ तथ्य 'मोलिक्युलर सेल' जर्नलमा प्रकाशित भएको छ।
- 'एफबीएक्सडब्ल्यू७' जीनमा खराबी हुँदा क्यान्सर कोषहरू ग्लुटामाइनमा मात्र निर्भर हुन्छन् र ग्लुटामाइन रोक्ने औषधिहरू प्रभावकारी हुन सक्ने देखिएको छ।
७ वैशाख, काठमाडौं । क्यान्सर उपचारको क्षेत्रमा वैज्ञानिकहरूले एउटा नयाँ र महत्त्वपूर्ण सफलता हात पारेका छन्। स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लाजेनका अनुसन्धानकर्ताहरूका अनुसार भिटामिन बी ७ (बायोटिन) को अभावले क्यान्सर कोषहरूको ऊर्जा प्राप्त गर्ने वैकल्पिक बाटो बन्द गरिदिने र उनीहरूको वृद्धिलाई रोक्न सक्ने देखिएको छ।
‘मोलिक्युलर सेल’ जर्नलमा प्रकाशित यस अध्ययनले क्यान्सर कोषहरूको ‘मेटाबोलिक’ लचिलोपनलाई कसरी निस्तेज पार्न सकिन्छ भन्ने नयाँ तथ्य उजागर गरेको हो।
सामान्यतया धेरैजसो क्यान्सर कोषहरू ‘ग्लुटामाइन’ नामको एमिनो एसिडमा निर्भर हुन्छन्, जसलाई वैज्ञानिकहरूले ‘ग्लुटामाइन एडिक्सन’ भन्ने गर्छन्। जब क्यान्सर उपचारका क्रममा ग्लुटामाइनको आपूर्ति रोकिन्छ, धेरैजसो क्यान्सर कोषहरूले ‘पाइरुभेट’ जस्ता अन्य पोषक तत्वहरूलाई इन्धनका रूपमा प्रयोग गरेर बाँच्न र बढ्न सफल हुन्छन्।
तर, यो वैकल्पिक मार्ग प्रयोग गर्नका लागि कोषहरूलाई ‘पाइरुभेट कार्बोक्सिलेज’ नामक इन्जाइमको आवश्यकता पर्दछ, जसलाई सक्रिय बनाउन भिटामिन बी ७ अनिवार्य हुन्छ। अनुसन्धानका अनुसार यदि कोषमा भिटामिन बी ७ उपलब्ध भएन भने यो इन्जाइमले काम गर्न छोड्छ र क्यान्सर कोषहरूले वैकल्पिक ऊर्जा प्राप्त गर्न नसकी मर्ने गर्दछन्।
यस अनुसन्धानले क्यान्सरसँग सम्बन्धित ‘एफबीएक्सडब्ल्यू७’ नामको एउटा विशेष जीनको भूमिकालाई पनि प्रस्ट पारेको छ। धेरैजसो क्यान्सर रोगीहरूमा यो जीन उत्परिवर्तित ( भएको पाइन्छ। अध्ययनका अनुसार यो जीनमा खराबी आउँदा कोषहरूमा पाइरुभेट इन्जाइमको मात्रा घट्छ, जसले गर्दा क्यान्सर कोषहरू पूर्ण रूपमा ग्लुटामाइनमा मात्र निर्भर हुन पुग्छन्।
यस्तो अवस्थामा ग्लुटामाइन रोक्ने औषधिहरू बढी प्रभावकारी हुन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ। यो खोजले किन कतिपय अवस्थामा क्यान्सरका औषधिहरूले काम गर्दैनन् भन्ने प्रश्नको उत्तर मात्र दिएको छैन । अझ भविष्यमा क्यान्सरको मेटाबोलिक कमजोरीलाई लक्षित गरी नयाँ र प्रभावकारी थेरापीहरू विकास गर्ने ढोका समेत खोलेको छ।
प्रतिक्रिया 4