News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश सरकारले थारु समुदायको सिरुवा पर्वमा सार्वजनिक बिदा दिएको दिन दुहबीमा रामकुमारी चौधरीको घर डोजरले भत्काइयो।
- दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले आफ्नो निजी जग्गामा जाने बाटो बनाउन रामकुमारीको घर भत्काउन डोजर पठाएको बताइएको छ।
- डोजर भत्काउने क्रममा नगर प्रहरीले रामकुमारीलाई रुखमा अँठ्याएर राखेको र छोरी विनमले 'मेयरको जग्गामा जाने बाटो निकाल्न हामीलाई लछारपछार पार्यो' भनेकी छन्।
७ वैशाख, दुहबी (सुनसरी) । तराई-मधेशका आदिवासी थारु समुदायको विशेष पर्व सिरुवा मनाउन कोशी प्रदेश सरकारले वैशाख २ गते सार्वजनिक बिदा दिएको थियो । त्यही पर्वको दिन बिहानै दुहबी–१० कि रामकुमारी चौधरीको परिवारमाथि राज्यले अमानवीय व्यावहार गर्यो ।
यो अमानवीय कार्यमा सुनसरीको दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारको निजी स्वार्थ जोडिएको छ ।
आफ्नो घरको संरचना भत्काउन डोजर आएपछि रामकुमारीले रोक्न खोजिन् । दुहबी नगरपालिकाबाट नगर प्रहरी र डोजरसहित पुगेको टोलीले उनीमाथि धरपकड गर्यो । रामकुमारी मात्रै होइन, छोरी र श्रीमान्माथि पनि अमानवीय व्यवहार भयो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा रामकुमारीलाई प्रहरीले रुखमा च्यापेर राखेको देखिन्छ । छोरी विनम चौधरीका अनुसार आमालाई रुखमा अँठ्याएर राखेको प्रहरीले बुबालाई भ्यानमा राखेर लैजान खोजेको थियो । के आधारमा लैजाने भन्दै प्रश्न गरेपछि नगरपालिकाको टोली पछि हट्यो ।
रामकुमारीकी छोरी विनमका अनुसार बिहान साढे ८ बजेतिर दुहबी नगरपालिकाको डोजर घर अगाडि आएको थियो । दुहबी-१० का वडाध्यक्षले २ दिनभित्र टहरा हटाउनु भन्दै थमाएको पत्र चैत ३० गते मात्रै उनको घर पुगेको थियो ।

पूर्वसूचना विना पुगेको डोजरले वर्षौंदेखि भोगचलन गर्दै आएको संरचना भत्कायो । रामकुमारी चौधरी र उनको परिवारले प्रतिकार गर्न खोज्दा नगर प्रहरीले धरपकड गर्यो ।
सार्वजनिक भएको भिडियोमा नगर प्रहरीले रामकुमारी चौधरीलाई एउटा रूखमा च्यापेर दुवै हातले अँठ्याइरहेको देखिन्छ । उम्किन खोज्दा झन् जोडले समातेपछि अत्तालिएकी रामकुमारीको अनुहारको भावले विभत्स अवस्था देखाउँछ ।
‘ममीलाई रुखमा त्यसरी राख्यो, मलाई पनि लछारपछार पार्यो,’ मुखमा लागेको चोट देखाउँदै विनमले भनिन्, ‘मेयरको जग्गामा जाने बाटो निकाल्न हामीलाई लछारपछार पार्यो ।’
रामकुमारीले प्रयोग गर्दै आएको जग्गामा पहिले खाल्डो थियो । दुई वटा नम्बरी जग्गाको बीचमा रहेको ऐेलानी जग्गाको खाल्डो पुरेर उनले आफ्नो घरको संरचना बनाएकी थिइन् । उनको घरदेखि उत्तरपट्टि १ कट्ठा ९ धुर जग्गा दुहबी नगरपालिका प्रमुख बेदनारायण गच्छदारको थियो ।
आफ्नो जग्गामा जाने बाटो बनाउनका लागि उनले रामकुमारीको सपनामाथि डोजर चलाएको स्थानीय बताउँछन् । ‘ऐलानी जग्गामा संरचना बनाएर धेरै विपन्न परिवार बसेका छन् । बसेका मानिसले नै ऐलानी जग्गाको भोगचलन गरिरहेका छन्,’ स्थानीय अभिजित राम भन्छन्, ‘मेयरको जग्गामा जाने बाटो बनाउनका लागि गरिबको घरमाथि डोजर चल्यो ।’
यस्तो छ नालिबेली
रामकुमारी र विजय सामान्य परिवारका हुन् । उनीहरू खुकुरा पालेर गुजारा गरिरहेका छन् । छोरा बाहिर काम गर्छन् । उनको घरबाट उत्तरतर्फ मेयर गच्छदारको जग्गा छ । सो जग्गामा जाने बाटो रामकुमारीकै घरसँग सटेको ऐलानी जग्गा हो ।
सो जग्गालाई पहिलेदेखि अन्य किसानले खेतमा ट्याक्टर लैजानका लागि प्रयोग गर्थे । मेयर गच्छदारले आफ्नो जग्गा बेच्न खोजिरहेका थिए । उनले रामकुमारी र उनका श्रीमान् विजयलाई जग्गा खरिद गर्न आग्रह पनि गरे । तर उनीहरूले त्यति चासो देखाएनन् ।
चैत अन्तिम साता गच्छदारले सो जग्गा दीपेन ऋषिदेवलाई बिक्री गर्ने सहमति गरे । दीपेनलाई बिक्री गरेको थाहा पाउने बित्तिकै विजय र रामकुमारीले ऐलानी जग्गामा बाँस गाडेर, बाँसकै बेरा बारेर ड्रम राखेको मेयर निकट स्रोतको दाबी छ ।
आफूले बिक्री गरेको जग्गासम्म जाने बाटोमा संरचना बनेपछि मेयर गच्छदार रिसाए । वडा कार्यालयमार्फत उनले ऐलानी जग्गामा बनेको संरचना हटाउन चिठी पनि पठाए । नहटाएपछि बिदाकै दिन मेयरले डोजर पठाएर भत्काउन लगाए । टहरो भत्काउँदाको भिडियो भाइरल भयो ।

दुवै घटनालाई नजिकबाट बुझेको स्थानीय स्रोत चौधरी परिवारको जग्गा उपभोग गर्ने महत्वाकांक्षामाथि पालिका प्रमुखले अस्वाभाविक बल प्रयोग गरेको बताउँछ । ‘विजय चौधरीले पनि त्यो जग्गा अरूले नकिनोस् भन्ने हिसाबले संरचना बनाउन खोजेको देखिन्छ,’ ती व्यक्ति भन्छन्, ‘ निजी स्वार्थका लागि मेयरले पनि अस्वाभाविक बल प्रयोग गरे ।’
दुहवी नगरपालिका प्रमुख गच्छदार घटनालाई सामाजिक सञ्जालमा अतिरञ्जित बनाउने गरी दुष्प्रचार गरेको बताउँछन् । सामान्य घम्साघम्सी भएको विषयलाई तोडमोड गरिएको उनले बताए ।
‘जसरी अँठ्याएर राखेको भनिएको छ त्यो गलत हो,’ उनले भने, ‘ती महिला जबर्जस्ती डोजरको अगाडि जाँदा घाइते हुन सक्ने भएकाले त्यहाँ रोकेर राखिएको थियो ।’ उनले नगर प्रहरी तालिमप्राप्त रहेको र डोजर अगाडि हाम फाल्न खोज्ने तथा ढुङ्गामुढा गर्ने महिलालाई जोगाउन खोज्दा केही मुठभेड जस्तो देखिएको बताए ।
‘दुःख दिने नियत होइन’
पालिका प्रमुख गच्छदारले कसैलाई दुःख दिने नियतले नभई उत्पीडित समुदायको व्यक्तिले जग्गा किनेपछि जग्गा किन्नेमाथि भएको अन्याय रोक्न डोजर चलेको बताए । उनले सो जग्गा आफूले बिक्री गरेको पनि स्वीकार गरे ।
विजय चौधरी र रामकुमारी चौधरीलाई जग्गा लिन आग्रह गर्दा नमानेपछि अन्यत्र बिक्री गरेको उनको आशय थियो । सो जग्गा दीपेन्द्र ऋषिदेवले किनेको गच्छदारले बताए ।
‘सयौँ वर्षदेखि सुकुम्बासी रहेका मुसहरका छोराले नम्बरी जग्गा किनेर सुकुम्बासीको ट्याग हटाउन खोज्नु गर्वको कुरा हो,’ उनले भने, ‘तर त्यो जग्गा मुसहरले किनेको थाहा पाएपछि छिमेकीले रातारात नियत खराब गरेर संरचना बनाए ।’
‘त्यहाँ कुनै घर थिएन, नगरपालिकाले घर भत्काएको छैन, मध्यरातमा बाटो छेक्न बाँस गाडेर घेरा हालिएको टहरो मात्र भत्काएको हो,’ उनले भने, ‘नियतवश बाटो बन्द गर्ने र मुसहरलाई जग्गा भोगचलन गर्न नदिने खेल थियो ।’
उनले अन्य स्थानीयको खेतमा ट्याक्टर लैजाने एक मात्र बाटोलाई रोक्नका लागि संरचना बनाइएकाले नगरपालिकाले हटाएको बताए ।
घटनाको गहिराइ नबुझी एकपक्षीय भिडियो सार्वजनिक भएको भन्दै उनले असन्तुष्टि पनि जनाए । ‘जिन्दगीभर सुकुम्बासी भएको एउटा मुसहरले जग्गा किन्दा खुसी हुनुपर्नेमा मिडियाले उल्टो कुरा लेखेर नेगेटिभिटी फैलाइरहेको छ,’ उनले भने, ‘यो मुलुक बिगार्न मिडियाको पनि हात छ ।’
आफू पहिला नागरिक र त्यसपछि मात्र मेयर भएको बताउँदै आफ्नो निजी जग्गा बेच्न पाउने अधिकार रहेको र त्यसलाई विवादमा तान्नुको अर्थ नरहेको पनि बताए ।
नगरपालिकाले सिमरियामा कुनै सुकुम्बासीको घर नभत्काएको, बरु एउटा नम्बरी जग्गाको बाटोमा नियतवश राखिएको अवरोध मात्र हटाएको उनको भनाइ छ ।
चौतर्फी आलोचना भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले वैशाख ६ गते विज्ञप्ति जारी गर्दै भ्रामक सूचना फैलिएको बताएको छ । संरचना भत्काउने क्रममा डोजरमाथि ढुङ्गामुढा प्रहार गर्न खोज्दा र आक्रोशित भएर जेसीबीको नजिक जान खोज्दा दुर्घटनाबाट बचाउन मात्र उनलाई रोकेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4