+
+
Shares

जेनजी आन्दोलनबाट क्षतिग्रस्त बागमतीका भवन पुनर्निर्माण, एउटैमा चार मन्त्रालय

पुनर्निर्माणपश्चात् यो भवनबाट श्रम, रोजगार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, खानेपानी, ऊर्जा तथा सिँचाइ र सहकारी तथा गरिबी निवारण मन्त्रालयका कामकाज हुनेछ ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८३ वैशाख ७ गते २१:३७

७ वैशाख, हेटौंडा । जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बागमती प्रदेशको मन्त्रालय भवन पुनर्निर्माण गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका–१, स्थित पाँचतले भवन पुनर्निर्माणपश्चात् प्रयोग गर्ने अवस्थामा ल्याइएको हो । यो भवन २४ भदौमा जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले अगलागी र तोडफोड गरी क्षति पुर्‍याएका थिए ।

आज सोमबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले संयुक्त रूपमा मर्मतसम्भार गरिएको भवनको उद्घाटन गरे ।

मन्त्री डा. देवकोटाले वैज्ञानिक र आधुनिक प्रविधि प्रयोग गरी भवन पुनर्निर्माण गरिएको जानकारी दिए । उनका अनुसार पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ट्रक्चरल इन्जिनियरहरूको टोलीले भारवहन क्षमता परीक्षण गरेपछि ‘रेट्रोफिटिङ’ प्रविधिबाट भवनलाई थप मजबुत बनाइएको हो ।

मन्त्रालयका आवास, भवन तथा शहरी विकास महाशाखा प्रमुख भुपेन्द्रकुमार यादवले भवन मर्मतको प्राविधिक पक्षबारे जानकारी दिँदै ११ मंसिरमा टेन्डरमार्फत १ करोड २८ लाख रुपैयाँमा भवन पुनर्निर्माण गरिएको बताए । उनका अनुसार भवन पुनर्निर्माणको अनुमानित लागत १ करोड ८४ लाख रुपैयाँ थियो । मन्त्रालयले भवनको लिफ्ट र ट्रान्सफर्मर मर्मत गरी पुन: प्रयोगमा ल्याइएको उनले बताए ।

एउटै भवनमा चार वटा मन्त्रालय

पुनर्निर्माणपश्चात् यस भवनबाट श्रम, रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयसहित ४ वटा मन्त्रालयका कामकाज सञ्चालन हुने भएको छ । आन्दोलनअघि यो भवनबाट भौतिकसहित यातायात, कृषि र खानेपानी मन्त्रालय सञ्चालनमा थिए ।

भौतिक मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको भर्खरै निर्माण गरिएको भवनबाट सञ्चालन हुँदै आएको छ । शहरी विकास तथा भवन कार्यालय मकवानपुरको लागि बनाइएको भवनबाटै भौतिक मन्त्रालय सञ्चालन हुने सचिव ईश्वरचन्द्र मरहट्टाले जानकारी दिए ।

भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले उपयुक्त भौतिक संरचनाको अभावमा अहिलेसम्म मन्त्रालयहरूले ‘कामचलाउ’ ढंगले सेवा प्रवाह गर्नुपरेको बाध्यता अब अन्त्य भएको बताए । साथै, प्रदेशको मन्त्रालयसहितको निकायका लागि स्थायी संरचना निर्माण गर्न जग्गा प्राप्तिको प्रक्रिया टुङ्गिएकाले यसै आर्थिक वर्षभित्र स्थायी भवनको टेन्डर प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।

प्रदेशको भौतिक संरचनामा १ अर्ब बढी क्षति

भौतिक मन्त्रालयका सचिव मरहट्टाका अनुसार आन्दोलनका क्रममा प्रदेशका भौतिक संरचनामा करिब १ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो । जसमा भवनतर्फ मात्र ५८ करोड रुपैयाँ बराबरको नोक्सानी थियो । मर्मत कार्यलाई पारदर्शी बनाउन सार्वजनिक खरिद नियमावलीबमोजिम प्रक्रिया पूरा गरिएको उनले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त ५ वटा भवनको मर्मत योजनाअन्तर्गत ४ वटाको काम सम्पन्न भइसकेको छ भने प्रदेशसभा सचिवालयको मर्मत कार्य अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

मर्मतपछि प्रयोग गर्न मिल्ने भवन पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट ६ करोड २४ लाख रुपैयाँ बजेट सुनिश्चित भएकोमा ३ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पूर्ण रूपमा क्षति भएको प्रदेशसभाको नयाँ भवन र शहरी विकास तथा भवन कार्यालयको पुराना भवन कसरी निर्माण गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको प्रारम्भिक विवरणअनुसार काठमाडौं, चितवन, ललितपुर, भक्तपुर र मकवानपुरका गरी प्रदेश सरकारका २७ वटा कार्यालय र ६१ वटा भवनमा क्षति पुगेको थियो ।

जसअन्तर्गत काठमाडौंमा २ वटा कार्यालयका ३ वटा भवन, चितवनमा ३ वटा कार्यालयका १० वटा भवन, भक्तपुरमा १ कार्यालयका २ वटा भवन, मकवानपुरमा १८ वटा कार्यालयका ४१ वटा भवन र ललितपुरमा ३ वटा कार्यालयका ५ वटा भवनमा भौतिक क्षति भएको थियो ।

यस्तै, सवारी साधनतर्फ १४३ वटा दुईपाङ्ग्रे र ५६ वटा चारपाङ्ग्रे गाडी जलेर नष्ट भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयको अगुवाइमा काठमाडौंबाट ल्याइएको दुई विज्ञसहितको टोलीले हेटौंडास्थित विभिन्न मन्त्रालय, प्रदेशसभा हल, कार्यालय र निकायका भवनको प्राविधिक मूल्यांकन गरेको थियो ।

क्षतिग्रस्त भवनहरूको प्राविधि अवस्था बताउन तत्काल प्रयोग गर्न मिल्ने हरियो, मर्मतपछि प्रयोग गर्न मिल्ने पहेँलो र पूर्ण रूपमा असुरक्षित तथा पुनर्निर्माण गर्नुपर्ने रातो गरी तीन श्रेणीमा वर्गीकरण गरिएको थियो ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?