+
+
WC Series
Nepal
0/0 (0.0)
VS
१२० बलमा १२९ रन आवश्यक
UAE
128/8 (20)
Shares

केराको मूल्य नबढाएको किसानको स्पष्टीकरण, न्यूनतम समर्थन मूल्य तोक्न र बजार अनुगमन माग

बजारमा बिचौलियाको राज चल्दा केरा उत्पादक किसान र उपभोक्ता दुवै ठगिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल केरा उत्पादक महासंघले केराको मूल्य किसानले नबढाएको र बजारमा बिचौलियाले मूल्य आकाशिएको स्पष्ट पारेको छ।
  • महासंघ अध्यक्ष विष्णुहरि पन्तले किसानले मालभोग केरा ७० देखि ८५ रुपैयाँ र हाइब्रिड केरा ५० देखि ६० रुपैयाँमा बेचेको बताए।
  • महासंघले बजार अनुगमन, न्यूनतम समर्थन मूल्य निर्धारण र कृषि बीमा प्रणाली सुधार गर्न सरकारसँग माग गरेको छ।

८ वैशाख, काठमाडौं । केरा उत्पादक किसानले केराको मूल्य नबढाएको स्पष्ट पारेका छन् ।

बजारमा केराको मूल्य आकाशिएका बेला नेपाल केरा उत्पादक महासंघले केराको मूल्य नबढाइ बजार पठाएको स्पष्टीकरण दिएको छ ।

बजारमा बिचौलियाको राज चल्दा केरा उत्पादक किसान र उपभोक्ता दुवै ठगिएका छन् । किसानले प्रतिदर्जन ५० देखि ८५ रुपैयाँमा बेचेको केरा उपभोक्ताले खुद्रा बजारमा ४ सय रुपैयाँसम्म तिरेर किन्नु परेको गुनासो व्यापक बढेको भन्दै महासंघले तत्काल बजार अनुगमन गर्न सरकारसँग माग गरेको छ ।

महासंघ तदर्थ समिति अध्यक्ष विष्णुहरि पन्तका अनुसार १५–१६ वर्षमा किसानले पाउने मूल्य प्रतिदर्जन ६ देखि ८ रुपैयाँले मात्र बढेको छ, तर बजारमा उपभोक्ता मूल्य भने आकाशिएको छ ।

‘हामीले हाम्रो बारीबाट मालभोग केरा ७० देखि ८५ रुपैयाँ र हाइब्रिड केरा ५० देखि ६० रुपैयाँ दर्जनमा बेचिरहेका छौं, तर बजारमा कृत्रिम अभाव खडा गरेर ३ सय ५० देखि ४ सय रुपैयाँसम्ममा बेचिएको छ,’ अध्यक्ष पन्तले भने, ‘यसले गर्दा उपभोक्तामा किसानले नै मूल्य बढाए कि भन्ने भ्रम परेको छ ।’

उनले कृषिमन्त्री गीता चौधरी सहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लगायत भेटेर बीचको यो ‘ग्याप’ खोज्न र बजार अनुगमन गर्न ध्यानाकर्षण गराएको बताए ।

नेपालमा वार्षिक करिब ९ लाख टन केराको माग रहेकोमा हाल ७ लाख टन स्वदेशमै उत्पादन भइरहेको महासंघले जनाएको छ । अपुग २ लाख टनका कारण विशेषगरी वैशाख, जेठ र असारमा बजारमा केरा अभाव देखिने गरेको छ ।

‘अहिलेको सिजनमा उत्पादन अलि कम हुन्छ, तर साउन लागेपछि नेपाली केराले नै बजारको शतप्रतिशत माग धान्छ, साउनदेखि पुससम्म हाम्रै उत्पादन पर्याप्त हुन्छ,’ अध्यक्ष पन्तले थपे ।

अहिले देशभरि १५ हजार ७ सय हेक्टरमा केरा खेती भइरहेको छ । अब थप ६–७ हजार हेक्टरमा खेती विस्तार गर्न सके पूर्णरूपमा केरामा आत्मनिर्भर हुने उनको भनाइ छ ।

सरकारले केरामा लाग्ने खतरनाक रोग ‘पानामा टीआर फोर’ को जोखिम मध्यनजर गर्दै जैविक सुरक्षा (बायोसेक्युरिटी) का लागि भारतीय केरा आयातमा रोक लगाएको छ ।

मालभोग केरामा रोग प्रतिरोधात्मक क्षमता कम हुने र पानामा रोगको रेस–१ ले नै छिट्टै आक्रमण गर्ने भएकाले चितवन लगायत पुराना पकेट क्षेत्रमा केरा खेती मासिँदै गएको छ । यसबाट बच्न किसानले रोग नलागेका नयाँ जग्गा (भर्जिन ल्यान्ड) खोजी गर्दै दाङ लगायत जिल्लामा खेती विस्तार गरिरहेका छन् ।

यसका साथै उत्पादन बढाउन बेल्जियमबाट ‘मदर प्लान्ट’ ल्याएर नार्कको अनुसन्धान मार्फत टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिएका स्वस्थ बिरुवा किसानलाई वितरण गर्ने कार्य भइरहेको महासंघले जनाएको छ ।

महासंघले बजारमा बिचौलियाको अत्यधिक हस्तक्षेप रोक्न तत्काल प्रभावकारी अनुगमन गर्नुपर्ने सहित विभिन्न माग सरकार समक्ष अघि सारेको छ ।

महासंघले किसान र उपभोक्ता दुवै ठगिनबाट जोगाउन केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, कृषि बीमा प्रणाली सरल र प्रभावकारी बनाउन, गुणस्तरीय टिस्युकल्चर बिरुवा तथा रासायनिक मल सहज आपूर्ति व्यवस्था मिलाउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?