८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसद्वारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले मंगलबारदेखि काम सुरु गरेको छ । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठक बसेर काम थालेको हो ।
पहिलो बैठकमा पार्टी सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय उदयशमशेर राणा र योगेन्द्र चौधरीसमेत सहभागी थिए ।
बैठकमा पार्टी सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।
सो क्रममा उनले संविधान बनेको १० वर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रममा केही प्रावधान संशोधनको आवश्यकता महशुस गरिएको बताएका थिए । लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतीलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन उनले समितिका पदाधिकारीसँग आग्रह गरे ।
सो क्रममा संविधानको सूक्ष्म अध्ययन गरी संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आम नागरिकसँग वृहत छलफल गर्ने योजना बनाएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका थिए ।
यस्तै सरकारले शुक्रबारसम्ममा कांग्रेसबाट संविधान संशोधन बहसपत्र तयार पार्न प्रतिनिधिको नाम पठाउन अनुरोध गरेको पनि समितिमा जानकारी गराइएको थियो ।
कांग्रेसले बताएको समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितबहादुर बस्नेत, अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया बिक र निरज गुप्ता सदस्य छन् ।
प्रतिक्रिया 4