+
+
Shares

इरानसँग जारी लडाइँका बीच अमेरिकी नौसेनाका मन्त्री जिम्मेवारीबाट हटे

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते ६:३७
Photo Credit : AP

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी नौसेनाका मन्त्री जोन सी. फेलान इरानसँग जारी तनावका बीच तुरुन्त लागू हुनेगरी जिम्मेवारीबाट हटेका छन्।
  • फेलानको स्थानमा २५ वर्ष नौसेनाको अनुभव भएका हुंग काओले कार्यवाहक मन्त्रीको जिम्मेवारी सम्हालेका छन्।
  • ट्रम्प प्रशासनमा उच्च तहका सैन्य नेतृत्वकर्ताको पदबाट हटाइएका घटनाक्रम इरानी नाकाबन्दी र स्ट्रेट अफ होर्मुजमा जारी झडपसँग सम्बन्धित छ।

१० वैशाख, काठमाडौं । अमेरिकी नौसेनाका मन्त्री जिम्मेवारीबाट हटेका छन् ।

इरानसँग जारी युद्ध र स्ट्रेट अफ होर्मुजको नाकाबन्दीका बीच नौसेना (समुद्री सेना)का मन्त्री जोन सी. फेलान तुरुन्त लागू हुनेगरी जिम्मेवारीबाट हटेको पेन्टागनले जनाएको छ ।

पेन्टागनका सचिव सिन पार्नेलले भनेका छन्, ‘हामी फेलानले विभाग र संयुक्त राज्य अमेरिकाको नौसेनामा पुर्‍याएको सेवाका लागि आभारी छौं । उहाँको आगामी यात्राका लागि शुभकामना दिन्छौं ।’

फेलान जिम्मेवारीबाट हटेपछि हुंग काओले नौसेनाको कार्यवाहक मन्त्रीको जिम्मेवारी सम्हाल्ने पनि पेन्टागनले जनाएको छ । काओ २५ वर्ष नौसेनाको अनुभव भएका व्यक्ति हुन् ।

फेलान ट्रम्प प्रशासन छाड्ने पछिल्लो उच्च तहका सैन्य नेतृत्वकर्ता हुन् । बीबीसीका अनुसार फेलानको बहिर्गमनको कारणबारे नौसेनाले भने कुनै जानकारी दिएको छैन ।

यो घटनाक्रम अमेरिकी रक्षा सचिव पिट हेगसेथले केही साताअघि सेनाका प्रमुख (आर्मी चिफ अफ स्टाफ) र्‍यान्डी जर्जलाई पदबाट हट्न आग्रह गरेको केही समयपछि आएको हो ।

अन्य दुई सेना अधिकारी– जनरल डेभिड होड्ने र मेजर जनरल विलियम ग्रीनलाई पनि हालै पदबाट हटाइएको थियो ।

पेन्टागन प्रवेश गरेयता हेगसेथले नौसेनाको सञ्चालन प्रमुख र वायुसेनाका अधिकारीसहित एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीलाई हटाइसकेका छन् ।

फेलान, यसअघि सैन्य सेवामा नरहेका व्यक्ति हुन् । तर सन् २०२४ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई नौसेनाको मन्त्रीमा नियुक्त गरेका थिए । उनले सन् २०२५ मार्चमा नौसेना मन्त्रीको रूपमा शपथ लिएका थिए ।

नौसेनाको कार्यवाहक मन्त्रीको जिम्मेवारी पाएका हुङ काओले भने सन् २०२४ मा भर्जिनियाबाट अमेरिकी सिनेटका लागि उम्मेदवारी दिएका थिए । उनलाई ट्रम्पले समर्थन गरेका थिए, तर उनी तत्कालीन डेमोक्रेटिक उम्मेदवार टिम केनसँग पराजित भएका थिए ।

नौसेनाको नेतृत्व परिवर्तन यस्तो बेला भएको हो, जब ट्रम्पले युद्धविरामका बीच पनि इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी जारी रहने बताएका छन् । विश्वको ठूलो मात्रामा तेल आपूर्ति हुने महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा झडपहरू जारी छन् । त्यहाँ इरानले दुई जहाज ‘कब्जामा लिएको’ जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्प इरानी बन्दरगाहहरूमा जारी अमेरिकी नौसैनिक नाकाबन्दीप्रति ‘सन्तुष्ट’ रहेको र इरान ‘कमजोर अवस्थामा रहेको’ बुझेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?