News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा विद्यार्थीहरूले सैद्धान्तिक ज्ञान मात्रले व्यावसायिक क्षेत्रमा सजिलै प्रवेश पाउन नसक्दा विदेशिने प्रवृत्ति बढेको छ।
- इन्टर्नसिप कार्यक्रमले विद्यार्थीहरूलाई वास्तविक काममा अनुभव र आत्मविश्वास बढाउने अवसर प्रदान गर्दछ।
- सरकारले इन्टर्नसिपलाई दिगो बनाउन स्पष्ट नीति र निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।
नेपालमा प्रत्येक वर्ष हजारौं विद्यार्थीहरू उच्च शिक्षा हासिल गरी श्रम बजारमा प्रवेश गर्दछन् । तर, शिक्षण संस्थाबाट प्राप्त सैद्धान्तिक ज्ञान मात्रले व्यावसायिक क्षेत्रमा सजिलै प्रवेश पाउन नसक्दा उनीहरुमा गहिरो निराशा बढेको पाइन्छ । फलस्वरूप, नयाँ पुस्ताको ठुलो हिस्सा विदेशिने प्रवृत्ति देखिएको छ ।
धेरैजसो युवा विदेश जानुका प्रमुख कारणहरूमा देशभित्र अवसरको अभाव, जागिर खोज्दा सुरुमै अनुभवको माग गरिनु र नयाँ पुस्तामा बिना अनुभव व्यावसायिक काम गर्न आत्मविश्वासको कमी हुनु पर्दछन् । यस्ता समस्याहरूलाई सम्बोधन गर्न इन्टर्नसिपलाई एक व्यवहारिक र परिणाममुखी उपायका रूपमा लिन सकिन्छ । यसले विद्यार्थीहरूलाई आफ्नो सिकाइलाई वास्तविक काममा प्रयोग गर्ने अवसर दिन्छ, जसबाट उनीहरूमा सीप विकाससँगै आत्मविश्वास पनि बढ्छ । त्यसकारण इन्टर्नसिप कार्यक्रमले सैद्धान्तिक ज्ञान र व्यावसायिक अभ्यासबीचको प्रभावकारी पुलको रुपमा काम गर्दछ ।
इन्टर्नसिपमार्फत विद्यार्थीहरूले आफ्नो कार्यक्षेत्रका चुनौती र अवसरहरूलाई नजिकबाट बुझ्ने मौका पाउँछन् । यस्ता कार्यक्रम मार्फत उनीहरुले कार्यस्थलको वातावरण, टिममा काम गर्ने तरिका, समय व्यवस्थापन, तथा पेशागत जिम्मेवारीजस्ता पक्षहरूमा प्रत्यक्ष अनुभव हासिल गर्न सक्ने छन् जसले गर्दा उनीहरूलाई भविष्यमा रोजगारीका लागि थप सक्षम र प्रतिस्पर्धी बनाउँछ ।
यसको एक सफल उदाहरणका रूपमा इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रा. लि. ले हालै चार जना भर्खरै उत्तीर्ण सिभिल इन्जिनियरहरूलाई इन्टर्नसिप कार्यक्रममार्फत नयाँ अवसर प्रदान गरेर निकालेको नतिजाबाट प्रस्ट रुपमा बुझ्न सकिन्छ । कम्पनीले आफ्ना अनुभवी इन्जिनियरहरूको प्रत्यक्ष मार्गदर्शनमा ती इन्टर्नहरूलाई वास्तविक परियोजनामा संलग्न गराएको थियो । प्रारम्भिक सिकाइ चरणमा रहेका ती इन्टर्नहरूले छोटो समयमै उल्लेखनीय प्रगति गर्दै अनुभवी इन्जिनियरहरूकै स्तरको काम गर्न सफल भएका थिए । यसले के देखाउँछ भने उचित अवसर र सही मार्गदर्शन पाए नयाँ इन्जिनियरहरूले पनि छोटो समयमै उत्कृष्ट नतिजा देखाउन सक्दछन् ।
सरकारले गर्नुपर्ने काम
यद्यपि, यस्ता पहलहरू केही निजी कम्पनीहरूले स्वेच्छिक रुपमा गरेर मात्र यसको प्रभाव व्यापक रूपमा फैलिन सक्दैन । त्यसैले इन्टर्नसिपलाई संस्थागत र दिगो बनाउन राज्यको सक्रिय भूमिका अपरिहार्य देखिन्छ । सरकारले इन्टर्नसिपको महत्वलाई आत्मसात् गर्दै स्पष्ट नीति तथा कार्यान्वयन संरचना विकास गर्न आवश्यक छ ।
विगतमा केही मन्त्रालयहरुले इन्टर्नसिप कार्यक्रमहरू सञ्चालन गरे पनि त्यसले अपेक्षित नतिजा दिन सकेको छैन । यसको मुख्य कारण इन्टर्नहरूलाई अविश्वास गरी वास्तविक काममा संलग्न नगरिनु र कार्यक्रमको प्रभावकारी व्यवस्थापन नहुनु हो । यसलाई सुधार गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक कम्पनीहरूमार्फत इन्टर्नशिप कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।
यसका लागि विभिन्न मन्त्रालयहरूले आफ्ना मातहतका विभागहरूमार्फत केही वास्तविक परामर्श सेवा तथा अन्य कार्यक्रमहरु इन्टर्न मार्फत् गराउने गरी टेन्डर आह्वान गर्ने र इन्टर्नमार्फत काम गर्न इच्छुक कम्पनीहरूले मात्र त्यस्ता टेन्डरमा भाग लिन पाउने व्यवस्था मिलाउन सकिन्छ । यस्ता परियोजनाहरूमा अनुभवी पेशाकर्मीहरूको सुपरिवेक्षणमा इन्टर्नहरूलाई संलग्न गराउँदा उनीहरूले वास्तविक कार्यअनुभव प्राप्त गर्नेछन् ।
यदि एउटा मन्त्रालयले आफ्ना मातहतका विभागहरूमार्फत वार्षिक रूपमा करिब १०० वटा यस्ता कार्यक्रमहरु सञ्चालन गर्न सके र प्रत्येक कार्यक्रममा औसत ५ जना इन्टर्न समावेश गरियो भने, करिब ५०० जना नयाँ विद्यार्थीहरूले प्रत्यक्ष रूपमा व्यवसायिक कामको अनुभव लिन पाउनेछन् र यसलाई विभिन्न मन्त्रालयहरूमा विस्तार गर्न सके हजारौं युवाहरूले प्रत्येक वर्ष लाभ लिन सक्नेछन् ।
दीर्घकालीन रूपमा, यस्तो कार्यक्रमले दक्ष, आत्मविश्वासी र अनुभवी जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउनेछ । साथै, देशभित्रै अवसर सिर्जना भई शिक्षित युवाहरूको विदेश पलायन कम गर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
अन्तत:, इन्टर्नसिपलाई केवल शैक्षिक पूरक कार्यक्रमका रूपमा नभई राष्ट्रिय विकासको महत्वपूर्ण उपकरणका रूपमा हेर्न आवश्यक छ । राज्य, निजी क्षेत्र र शैक्षिक संस्थाहरूबीचको सहकार्यबाट मात्र यस्तो पहललाई प्रभावकारी र दिगो बनाउन सकिन्छ ।
सही नीति, स्पष्ट संरचना र प्रतिबद्ध कार्यान्वयनका साथ इन्टर्नसिपले नेपालको नयाँ पुस्तालाई सक्षम, आत्मनिर्भर र भविष्यप्रति आशावादी बनाउने आधार तयार गर्दै शिक्षित युवाहरु विदेश पलायन हुने समस्यालाई कम गर्न सकिन्छ ।
(लेखक अनुप खनाल इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रा. लि.को कार्यकारी अध्यक्ष हुन् । उनी अनलाइनखबरको २०८१ संस्करणको चालिस मुनिका चालिस युवा विजेता पनि हुन् ।)
प्रतिक्रिया 4