+
+
Shares

सिरहा कारागारमा किन हुन्छ पटक-पटक लफडा ?

सिरहा कारागारमा यो घटना पहिलो होइन । यहाँ आन्तरिक व्यवस्थापन कब्जा गरेर बसेका कैदीबन्दीबीच पटकपटक कुटपिट, झडप तथा अन्य आपराधिक क्रियाकलाप दोहोरिँदै आएका छन् ।

सुरेश राय सुरेश राय
२०८३ वैशाख १० गते १८:४३

१० वैशाख सिरहा। गत सोमबार सिरहा कारागारका कैदीबन्दीको एक समूहले चौकीदार प्रेम चौधरीलाई जबरजस्ती बाहिर निकाल्यो । थप झडप र असुरक्षाको अवस्था सिर्जना हुनसक्ने भन्दै २३ जना कैदीलाई नियन्त्रणमा त लिइयो तर यो घटनाले कारागार प्रशासनको निरीहता, कैदीबन्दीको गुण्डागर्दी र कारागार अपराधको थलो बन्दै गएको प्रमाण दिन्छ ।

कारागारको आन्तरिक व्यवस्थापन कब्जा गर्ने प्रयासस्वरूप कैदीहरूले चौकीदारमाथि आक्रमण गरेको प्रशासनले समेत स्वीकार गरेको छ ।

सिरहा कारागारमा यो घटना पहिलो होइन । यहाँ आन्तरिक व्यवस्थापन कब्जा गरेर बसेका कैदीबन्दीबीच पटकपटक कुटपिट, झडप तथा अन्य आपराधिक क्रियाकलाप दोहोरिँदै आएका छन् ।

यसअघि २०८२ माघमा जिल्ला सुरक्षा समितिले कारागारमा सर्च–अपरेसन गर्दा कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको थियो। सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील मानिने कारागारमा बन्देज रहेका हतियार फेला परेपछि नाइके इन्द्रजित यादवसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिई पछि अन्यत्र सारिएको थियो।

नाइके यादवको समूहले २०८२ साउन ४ गते कारागारभित्रै १३ जना कैदीबन्दीमाथि निर्घात कुटपिट गरी घाइते बनाएको घटना पनि सार्वजनिक भएको थियो। उक्त समूहले आफ्नो आदेश नमानेको भन्दै १० जना कैदीलाई आँखामा पट्टी बाँधेर र हात पछाडि बाँधेर कुटपिट गरेको थियो।

त्यसैगरी, २०८१ मा कारागारभित्र प्रतिबन्धित लागुऔषध बिक्री वितरण र सेवन हुने गरेको घटना बाहिर आएको थियो। त्यसपछि छानबिन समिति गठन गरी २०८२ माघमा प्रतिवेदन बुझाइए पनि हालसम्म सार्वजनिक गरिएको छैन ।

समितिले प्रतिबन्धित सामग्री नियन्त्रण, आर्थिक पारदर्शिता र प्रशासनिक सुधारसम्बन्धी सुझाव दिएको भनिए पनि बेवास्ता गरिएको स्रोत बताउँछ । प्रशासन भने उक्त प्रतिवेदन कमजोर रहेको भन्दै सार्वजनिक नगरेको दाबी गर्छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, विगतको प्रतिवेदनमा सार्थक कुरा नभएकाले सार्वजनिक गर्न उपयुक्त ठानिएन।

कारागारलाई भित्रैबाट कब्जामा लिएर थुनुवाकै समूहले चलाउने गरेको प्रमुख जिल्ला अधिकारी पौडेल स्वीकार्छन् । सोमबारको घटनाबारे उनी भन्छन्, ‘करिब दुई वर्षदेखि कारागारलाई भित्रैबाट कब्जामा लिएर थुनुवाकै एउटा समूहले आफ्नो तरिकाले चलायो । कारागारको जीर्ण अवस्थालाई प्रशासनले बेलैमा हस्तक्षेप गर्नुपर्थ्यो । हस्तक्षेप गर्न नसकेका कारण घटना हुन पुग्यो ।’

विगतदेखि नै कैदीबन्दीमा हामी नै सर्वेसर्वा हौं भन्ने भावनाले काम गरेको र अहिलेको घटना पनि त्यसकै उपज भएको उनको भनाइ छ । ‘कारागारमा पसिसकेपछि यो सबै हाम्रो नियन्त्रणमा हुनुपर्छ भन्ने भावना कैदीमा सिर्जना भयो । जसका कारण यस्ता घटना दोहोरिइरहेका हुन्,’ प्रजिअ पौडेलले भने ।

अहिले भने कानुनविपरीतका कैदीबन्दीका क्रियाकलाप विरुद्ध प्रशासनले कदम चालेको उनको दाबी छ । ‘अहिले हामी मौन बसेका छैनौं । हामीले निर्वाचनअघि सर्च अप्रेसन गरेर कारागार कब्जामा लिने समूहलाई नियन्त्रणमा लियौं । खानतलासी गर्दा एउटा पेस्तोल भेटियो,’ उनले भने, ‘पहिलादेखि कारागार कब्जा गर्ने समूहका केही व्यक्ति अहिले पनि त्यहाँ रहेकोले तिनीहरू पुन: सल्बलाएका रहेछन् । अब त्यस्ता घटना दोहोरिन नदिन निगरानी गर्दैछौं ।

कारागार प्रशासनले कैदीबन्दीका गतिविधिलाई निगरानी गर्न नसकेको उनले स्वीकारे । ‘निगरानी हुन नसकेकै कारण यसपालि पनि घटना हुन गयो । घटना हुनुअघि प्रशासनले थाहा पाउनुपर्छ । यो स्थिति आउन दिनु हुँदैनथ्यो,’ पौडेलले भने ।

कारागारभित्र छुट्टै अनौपचारिक प्रशासन सञ्चालनमा रहेको र त्यो प्रशासनमा चौकीदार, नाइके र भाइ-नाइकेहरूमध्ये कसले राज गर्ने भन्ने विषयमा झगडा हुने गरेको आरोप लाग्दै आएको छ ।

अवैध असुली, सामानमा चर्को मूल्य र चाडपर्वको नाममा उठाइने रकम नै यस्ता द्वन्द्वको मुख्य कारण हुन् । जसका लागि कैदीहरूले आफ्ना समूह बनाउँछन् र झडपहरू भइरहन्छन्।

चाडपर्व तथा मेला-महोत्सवको नाममा कैदीबन्दीसँग गरिने अवैध असुली, आवश्यक लत्ताकपडा लगायतका सामग्री कारागारभित्रै महँगोमा किन्नुपर्ने बाध्यता, अवैध लागुऔषधको कारोबार तथा कारागारभित्रै कटुवा पेस्तोल र गोली भेटिनु जस्ता घटनाले सिरहा कारागार विवादित बन्दै आएको छ। कारागार जस्तो संवेदनशील र कडा सुरक्षा घेरामा रहेको स्थानमा हतियार र लागुऔषध कसरी पुग्छन् भन्ने प्रश्न अनुत्तरित छ।

कारागारभित्रका झडपहरू व्यक्तिगत नभई शक्ति नियन्त्रणको संघर्ष भएको जानकारहरू बताउँछन् । ‘एकपटक नाइके बनेपछि छोटो समयमै ठूलो रकम आर्जन हुन्छ । त्यसको बाँडफाँट र नयाँ शक्ति उदयले विवाद बढाउँछ,’ कारागार स्रोत भन्छ, ‘कतिपय अवस्थामा कारागार प्रशासन र सुरक्षा निकायबीचको असहमति पनि झडपको कारण बन्ने गर्छ। प्रशासन र सुरक्षा निकायको सहमति बिना कुनै समूहले अर्को समूहमाथि आक्रमण गर्न सक्दैन ।’

बारम्बार हुने घटनाहरूले कारागार प्रशासन र सुरक्षा निकायको संलग्नताको आशंकालाई थप बल पुर्‍याएको छ। सिरहा कारागारको समस्या व्यक्तिगत विवादभन्दा माथि उठेर संरचनागत कमजोरी, पारदर्शिताको अभाव र कमजोर अनुगमन प्रणालीसँग जोडिएको देखिन्छ।

१५० जनाको क्षमता भएको कारागारमा हाल ४१० जना कैदी रहेको तथ्यले पनि व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ। सुधार गृहको उद्देश्य पुनःस्थापित गर्न निष्पक्ष व्यवस्थापन, कडा सुरक्षा, आर्थिक पारदर्शिता र प्रभावकारी अनुगमन अत्यावश्यक देखिन्छ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?