+
+
Shares

पश्चिम बंगाल विधानसभा निर्वाचन : ममता बनर्जीको किल्ला भाजपा तोड्ला ?

पश्चिम बंगालमा कम्युनिस्ट गढ भत्काएर १५ वर्ष शासन गरेकी ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बीजेपी) बीच यसपटक कडा प्रतिस्पर्धा छ ।

कञ्चन कञ्चन
२०८३ वैशाख १० गते २२:१८

१० वैशाख, काठमाडौं । चार भारतीय राज्यहरू असम, केरल, पश्चिम बंगाल, तमिलनाडु र एक केन्द्र शासित प्रदेश पुडुचेरीमा विधानसभा निर्वाचन हुँदैछ । सबै राज्यहरूमा आज(अप्रिल २३) र अन्तिम चरणमा अप्रिल २९ मा मतदान हुनेछ ।

यी चार राज्यमध्ये सबैभन्दा बढी चासो यसपटक पश्चिम बंगालमा छ ।  विगतका निर्वाचनमा पश्चिम बंगालमा ६ देखि ८ चरणसम्म मतदान गराइएका उदाहरण छन् । त्यस आधारमा यस पटकको निर्वाचन तालिकालाई निकै छोटो मानिएको छ ।

पश्चिम बंगालमा कम्युनिस्ट गढ भत्काएर १५ वर्ष शासन गरेकी ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बीजेपी) बीच यसपटक कडा प्रतिस्पर्धा रहेकाले त्यहाँको निर्वाचन सबैभन्दा रोचक मानिएको छ । भारतीय पत्रपत्रिका, टेलिभिजनदेखि आमसञ्चार माध्यममा त्यहीको निर्वाचनको कभरेज अत्यधिक छ ।

चुनावी माहौल

पहिलो चरणमा बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान भएको थियो । साँझ ५ बजेसम्म लगभग ९० प्रतिशत मत खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो चरणमा १६ जिल्लाका १५२ निर्वाचन क्षेत्रमा ३.६ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भनिएको छ । जसमा एक हजार ४७८ उम्मेदवारहरूमध्ये १६७ महिला उम्मेदवारहरू छन् । निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन आयोगले व्यापक सुरक्षा व्यवस्था गरेको देखिन्छ । दुई हजार ४५० कम्पनी केन्द्रीय अर्धसैनिक बल तैनाथ गरिएका छन् ।

रानीनगर क्षेत्रमा मतदान गर्न लाइनमा लागेका महिला मतदाता । तस्वीर सौजन्य : द इन्डियन एक्सप्रेस

हिंसाका घटना

मतदानका क्रममा केही स्थानमा हिंसाका घटना भएका छन् । मुर्शिदावादको नाउदामा तनाव उत्पन्न भएको थियो, जहाँ आम जनता उन्नयन पार्टीका नेता हुमायुन कबिरको आगमनपछि तृणमूल कांग्रेसका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए । मुर्शिदावादको डोमकलमा केही मतदाताहरूले धम्की र धम्कीपूर्ण व्यवहारको आरोप लगाएका छन् ।

बीजेपी उम्मेदवार अग्निमित्रा पौलको गाडीमाथि आसनसोल दक्षिणमा ढुङ्गा हानिएको छ । कुमारगञ्जका बीजेपी उम्मेदवार सुभेन्दु सरकारले तृणमूल कार्यकर्ताहरूले आक्रमण गरेको दाबी गरेका छन् । यी घटनाहरूले त्यहाँ निर्वाचनमा हुने गरेको परम्परागत हिंसात्मक प्रवृत्तिको निरन्तरता देखाएका छन् ।

पश्चिम बंगालमा निर्वाचनअघि, निर्वाचनका क्रममा र निर्वाचनपछि राजनीतिक हिंसा देखिनु नियमित दृश्य हुन् । तथ्याङ्कले पनि निर्वाचनका क्रममा हुने राजनीतिक आक्रमणमा सबैभन्दा बढी ज्यान पश्चिम बंगालमै जाने देखाउँछ । ग्रामीण क्षेत्रहरूमा हार्ने दलका समर्थक र कार्यकर्ताहरूलाई उनीहरूको घरबाट लखेटिनु र महिनौँसम्म अर्को ठाउँमा बस्नुपर्ने हुनु सामान्य कुरा मानिन्छ ।

किन महत्त्वपूर्ण छ यो निर्वाचन ?

यस निर्वाचनलाई भारतीय राजनीतिको एउटा निर्णायक मोडका रूपमा हेरिएको छ । राष्ट्रिय राजनीतिक दृष्टिकोणबाट हेर्दा, यो बीजेपी को ‘दक्षिण र पूर्व विस्तार’ गर्ने दीर्घकालीन रणनीतिको सबैभन्दा ठूलो परीक्षा बन्ने निश्चित छ । बीजेपीले लामो समयदेखि पश्चिम बङ्गाललाई आफ्नो मुख्य राजनीतिक आधार बनाउने प्रयास गरिरहेको छ । यसपटकको चुनावले उसको त्यो लक्ष्य कति सफल भयो भन्ने कुराको फैसला गर्नेछ ।

ममता बनर्जी

यो निर्वाचन केवल हार–जितको विषय मात्र नभएर क्षेत्रीय पार्टी र राष्ट्रिय पार्टीबीचको गहिरो संघर्षको प्रतीक पनि बनेको छ । ममता बनर्जीको नेतृत्वमा रहेको तृणमूल कांग्रेसले आफूलाई बंगाली संस्कृति र क्षेत्रीय अस्मिताको एकमात्र रक्षकका रूपमा प्रस्तुत गरिरहेको छ । अर्कोतर्फ, बीजेपीले राष्ट्रिय एकता, हिन्दुत्व र विकासको एजेन्डा अघि सारेर ममताको क्षेत्रीय राजनीतिको किल्ला तोड्ने प्रयास गरिरहेको छ ।

भारतीय राजनीतिक विश्लेषकहरूले यस निर्वाचनलाई सन् २०२९ को लोकसभा निर्वाचनको ‘सेमिफाइनल’का रूपमा विश्लेषण गरिरहेका छन् । पश्चिम बङ्गालमा ४२ लोकसभा सिट छन् । जसले केन्द्रको सत्ता समीकरणमा ठूलो प्रभाव पार्ने गर्छन् । यही कारण दिल्लीको सत्ताका लागि यो निर्वाचन प्रतिष्ठाको लडाइँ बनेको छ ।

अर्कातिर पश्चिम बंगालमा १५ वर्ष मुख्यमन्त्री रहेर एकछत्र शासन गरेकी बनर्जीका लागि आफ्नो किल्ला सुरक्षित रहे-नरहेको पुष्टि गर्ने निर्वाचन पनि बनेको छ । तृणमूल कांग्रेसले त्यहाँ लगातार तीन पटक सत्ता सम्हालेको छ । अब चौथो पटक पनि आफ्नो पकड कायम रखे बनर्जी पश्चिम बङ्गालको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने शक्तिशाली मुख्यमन्त्रीका रूपमा दरिनेछिन् ।

कस्तो छ प्रतिस्पर्धा ?

मुख्यमन्त्री बनर्जीको तृणमूल कांग्रेसले आफ्नो पुरानै लोकप्रिय नारा ‘माँ, माटी, मानुष’ लाई चुनावी अभियानको केन्द्रमा राखेको छ ।

पार्टीले विशेष गरी महिलाहरूका लागि ल्याइएको नगद हस्तान्तरण योजना, युवा लक्षित रोजगारी कार्यक्रम र सामाजिक सुरक्षाका कामहरूलाई प्रमुख चुनावी एजेन्डा बनाएको छ ।

बनर्जीको पकड र प्रभाव यति धेरै छ कि वर्षौँको प्रयासका बाबजुद भाजपाले पश्चिम बंगालमा उनको विकल्पमा कुनै विश्वसनीय अनुहार उभ्याउन सकेको छैन । तृणमूल सरकारमाथि प्रशासनिक असफलता र भ्रष्टाचारका कैयौँ आरोप लागे पनि बनर्जीको व्यक्तिगत लोकप्रियतामा कुनै ठूलो ह्रास आएको देखिँदैन ।

मोदीको बीजेपीले त्यहाँ आफूलाई ‘परिवर्तनको संवाहक’ का रूपमा परिभाषित गर्दै प्रस्तुत गरिरहेको छ । मोदीले चुनावी सभामा सम्बोधन गर्दै यस पटक बङ्गालको जनताले परिवर्तनको जनादेश दिने दाबी गरेका छन् । बीजेपीले सुवेन्दु अधिकारी, दिलीप घोष र अग्निमित्रा पौलजस्ता प्रभावशाली नेतालाई मैदानमा उतारेर सुशासन, कानुन व्यवस्थाको सुधार र घुसपैठ रोकथामलाई मुख्य मुद्दा बनाएको छ ।

सन् २०१४ देखि केन्द्रमा लगातार बहुमतको सरकार बनाएपनि बनर्जीको लोकप्रियताअघि बीजेपीले पश्चिम बंगालमा आफ्नो विस्तार गर्नै सकेको छैन । सन् २०२१ को विधानसभा निर्वाचनमा अमित शाहले पश्चिम बंगालमा २०० भन्दा बढी सिट जित्ने महत्त्वाकांक्षी लक्ष्य राखेपनि ७७ सिटमा नै सीमित भएको थियो ।

त्यो निर्वाचनमा शून्य सिटमा खुम्चिएका वामपन्थी दल र भारतीय राष्ट्रिय कांग्रेसले पनि यस पटक आफ्नो गुमेको साख फर्काउन कडा मिहिनेत गरिरहेका छन् । कांग्रेस नेता अधीर रञ्जन चौधरी बहरामपुरबाट चुनावी मोर्चामा छन् भने वाम मोर्चाले हरेक परिवारलाई एक स्थायी रोजगारी दिने आकर्षक आश्वासन बाँडिरहेको छ ।

चुनावी इतिहास

भारत स्वतन्त्र भएपछि पश्चिम बंगालमा ३० वर्षसम्म केही कमजोर गठबन्धन सरकारबाहेक अधिकांश समय राष्ट्रिय कांग्रेसको नै शासन रह्यो । सन् १९७७ को निर्वाचनमा पश्चिम बंगाल पहिलो पटक वाममोर्चाको कब्जामा पुग्यो ।

त्यसपछिका ३४ वर्ष लगातार कम्युनिस्टले लाल किल्ला बनाए । सन् २०११ मा परिवर्तनको नारासहित मैदानमा उत्रिएकी ममता बनर्जीले भारतीय राष्ट्रिय कांग्रेससँग गठनबन्धन गरेर कम्युनिस्ट किल्ला भत्काइन् । त्यो बेला बनर्जीको तृणमूल कांग्रेस र कांग्रेस गठबन्धनले २९४ सिटमध्ये २२५ मा जितेका थिए । वाममोर्चा केवल ६२ सिटमा खुम्चिएको थियो । बीजेपीको २ सिट मात्रै थियो ।

सन् २०१६ को निर्वाचनमा बनर्जीको तृणमूल कांग्रेसले एक्लै २११ सिट जितेर दर्बिलो स्थान कायम राख्यो । शारदा घोटाला र नारदा स्टिङ अपरेसनजस्ता भ्रष्टाचारका गम्भीर आरोप लागेपनि जनताले बनर्जीलाई नै चुने । बीजेपीले मत बढाएर १०.१७ प्रतिशतसम्म पुर्‍याएको थियो ।

सन् २०२१ मा बीजेपीले ‘अबकी बार, २०० पार’ भन्ने नारा लगाएपनि निष्प्रभावी रह्यो । बनर्जीको दल तृणमुल कांग्रेसले २१५ सिट जितेर ह्याट्रिक गर्दा बीजेपीले ह्वात्तै मत बढाएर ३८.१३ प्रतिशत पुर्‍याए पनि सिट संख्या ७७ मात्रै थियो ।

सन् २०२१ सबैभन्दा रोचक नतिजा लामो समय राज्य सरकारको नेतृत्व गरेका भारतीय कांग्रेस र वामपन्थी भने शून्य सिटमा झर्नु थियो ।

सर्वेक्षणले के भन्दैछन् ?  

यसपटकको निर्वाचनमा पनि त्यहाँ तृणमूल कांग्रेस र बीजेपीबीच निकै कडा प्रतिस्पर्धा भइरहेको विभिन्न सर्वेक्षणले देखाएका छन् । त्यो प्रतिस्पर्धामा धेरैजसोले बनर्जीको तृणमूल कांग्रेसलाई नै अगाडि देखाएका छन् ।

‘म्याट्राइज’ले तृणमूललाई ४३ प्रतिशत र बीजेपी गठबन्धनलाई ४१ प्रतिशत भोट मिल्ने अनुमान गरेको छ । यस्तै ‘सी–भोटर’ को सर्वेक्षणले तृणमूललाई ४४ प्रतिशत र बीजेपीलाई ४० प्रतिशत मत प्राप्त हुने भनेको छ ।

बीजेपीका नेता सुवेन्दु अधिकारी र तृणमूल कांग्रेस नेता एवं मुख्यमन्त्री ममता बनर्जी

सिट संख्यामा हेर्दा ‘भोट भाइब’ र ‘सीएनएन–न्यूज १८’ को सर्वेक्षणले तृणमूल कांग्रेसले १८४ देखि १९४ सिटसम्म जितेर सहज बहुमत हासिल गर्ने प्रक्षेपण गरेको छ भने, बीजेपीले ९८ देखि १०८ सिटसम्म ल्याउन सक्ने अनुमान गरेको छ ।

मुख्यमन्त्रीको पदका लागि अझै पनि ममता बनर्जी नै मतदाताको पहिलो रोजाइमा रहेको सर्वेक्षणले भनेका छन् । करिब ४८.५ प्रतिशत मतदाताले ममतालाई रोज्दा ३३.४ प्रतिशत मतदाताले बीजेपीका नेता सुवेन्दु अधिकारीलाई राजेको देखाउँछ । यो आँकडाले ममता अझै पनि प्रदेशमा लोकप्रिय रहेको देखाएको छ ।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?