News Summary
Generated by OK AI. Editorially reviewed.- समाजलाई सही मार्गनिर्देश गर्ने मुख्य दायित्व राजनीति र नेतृत्वको हो।
- सभ्यताको मापन हामीले निर्माण गरेका सडकले होइन, हामीले हुर्काएका मानिस र उनीहरूको सोचले गर्छ।
- \'भाइरल\' हुनु नै जीवनको एकमात्र सार्थकता ठान्ने नयाँ पुस्ताले बौद्धिक गहिराइ, धैर्य र सिर्जनशीलतालाई बिर्संदै गएको प्रतीत हुन्छ।
परिवर्तन सृष्टिको एक शाश्वत र अकाट्य नियम हो। समयको प्रवाहसँगै हरेक वस्तु, विचार र संरचनामा परिवर्तन आउँछ। तर, जब यो परिवर्तनले आफ्नो स्वाभाविक गति र दिशा ठम्याउन सक्दैन, तब समाज एउटा अनौठो अन्योल र अनिश्चयको भुमरीमा फस्न पुग्छ। आजको मानव समाज ठ्याक्कै त्यस्तै एउटा दोसाँधमा उभिएको छ, जहाँ प्रविधिको चम्किलो उज्यालोले भविष्यको बाटो त टल्काइरहेको देखिन्छ, तर हाम्रा परापूर्वकालदेखि चल्दै आएका मौलिक मूल्य-मान्यताका जराहरू भने विस्तारै खिया लागेर ढल्न लागेका छन्। समकालीन समाजमा देखिएका यी विरोधाभासपूर्ण चित्रहरूले हामीलाई एउटा गम्भीर प्रश्नको कठघरामा उभ्याएका छन्। के हामी साँच्चै रूपान्तरणको लयमा छौं कि विसंगतिको गहिरो खाडलतर्फ धकेलिंदै छौं? यस स्तम्भमा मानवीय संवेदनाको क्षयीकरण, सामाजिक बेथिति र आगामी बाटोबारे एउटा गहिरो मन्थन गर्ने प्रयास गरिएको छ।
२१औं शताब्दीको सबैभन्दा ठूलो र उदेकलाग्दो विरोधाभास नै यही हो कि हामी प्रविधिको माध्यमबाट संसारभरका मानिससँग ‘कनेक्टेड’ त छौं, तर भावनात्मक रूपमा कसैसँग पनि वास्तविक रूपमा ‘सम्बन्धित’ हुनसकेका छैनौं। हातहातमा रहेका स्मार्टफोन र सस्तो इन्टरनेटको पहुँचले विश्वलाई एउटा सानो गाउँ (ग्लोबल भिलेज) मा त खुम्च्याइदियो, तर यसले एउटै सोफामा लहरै बसेका परिवारका सदस्यहरू बीचको मौन दूरी भने कैयौं माइल बढाइदिएको छ। अचेल हामी फेसबुकको भित्तामा आउने ‘लाइक’ र ‘रियाक्सन’ को सङ्ख्या गनेर आफ्नो खुसी र सफलता मापन गर्न थालेका छौं।
मानवीय समवेदना यति सस्तो भइसकेको छ कि कसैको मृत्युको वियोगमा पनि भौतिक उपस्थिति र सहानुभूति प्रकट गर्नुको सट्टा सामाजिक सञ्जालमा ‘रिप’ लेखेर औपचारिकता निभाउने एउटा यान्त्रिक र डिजिटल संस्कार हुर्किएको छ। सूचनाको महासागरमा चौबीसै घण्टा पौडिरहँदा हामीले विवेक र ज्ञानको ठोस टापु भने गुमाउँदै गएका छौं। ‘भाइरल’ हुनु नै जीवनको एकमात्र सार्थकता ठान्ने नयाँ पुस्ताले बौद्धिक गहिराइ, धैर्य र सिर्जनशीलतालाई बिर्संदै गएको प्रतीत हुन्छ।
कुनै पनि समाजको वास्तविक पहिचान भनेको त्यसको संस्कार, भाषा, मौलिक कला र संस्कृति हो। तर, आधुनिकताको अन्धो सिको गर्ने होडबाजीमा हामीले आफ्नै सांस्कृतिक जगलाई खनिरहेका छौं। हिजोका दिनमा चाडपर्वहरू भाइचारा, श्रद्धा र आत्मीय मिलनका पावन अवसर हुने गर्थे। तर आज ती पर्वहरू केवल प्रदर्शन, तडकभडक र महँगो खर्चका पर्याय बनेका छन्। हाम्रा मौलिक लोकभाका र संगीतहरू ‘रिमिक्स’ र पश्चिमा शैलीको मारमा परेर आफ्नो मौलिकता गुमाउँदैछन्। पुर्खाले सिकाएका रैथाने सीप, प्रविधि र जीवनदर्शनहरू अब संग्रहालयका कुनामा थन्किने दयनीय अवस्थामा पुगेका छन्।
पहिचानको यो डरलाग्दो संकटले समाजलाई भित्रभित्रै खोक्रो बनाउँदै लगेको छ। हामी अर्काको संस्कृतिमा रमाउन र त्यसको नक्कल गर्न त लालायित छौं, तर आफ्नै अमूल्य निधिहरूलाई गौरवका साथ अँगाल्न भने हीनताबोध गर्छौं। यसले गर्दा समाजमा एउटा यस्तो अन्योलग्रस्त वर्ग तयार भइरहेको छ, जो न त पूर्ण रूपमा आधुनिक वा पश्चिमा बन्न सकेको छ, न आफ्नो माटो र संस्कृतिमा नै अडिन सकेको छ।
समाजलाई सही मार्गनिर्देश गर्ने मुख्य दायित्व राजनीति र नेतृत्वको हो। तर, जब राजनीति केवल सत्ता प्राप्ति र शक्तिको लुछाचुँडीमा सीमित हुन्छ, तब आम नागरिकमा चरम निराशा र वितृष्णा छाउनु स्वाभाविक हुन्छ। आजको राजनीतिक परिदृश्यमा ‘नीति’ भन्दा पनि ‘नियत’ मा खोट देखिन थालेको छ। मूल्य र मान्यताको राजनीति इतिहासका पुराना पानाहरूमा खुम्चिंदै गर्दा, जुनसुकै मूल्यमा पनि ‘जित्नुपर्छ’ र ‘सत्तामा पुग्नुपर्छ’ भन्ने अनैतिक प्रवृत्तिले प्रश्रय पाएको छ। भ्रष्टाचार केवल आर्थिक लेनदेनमा मात्र सीमित रहेन, यो त अचेल बौद्धिक, नैतिक र व्यावहारिक रूपमा पनि समाजको नशा-नशामा व्याप्त भएको छ।
राज्यका निकायहरूमा देखिएको संस्थागत बेथिति र उत्तरदायित्वको अभावले गर्दा विशेषगरी युवा पुस्तामा राज्यप्रतिको विश्वास र आशा धर्मराएको छ। जसको प्रत्यक्ष र दुःखद् परिणामस्वरुप ‘बौद्धिक पलायन’ (ब्रेन ड्रेन) राष्ट्रकै लागि एउटा ठूलो चुनौती र घाउ बनेर उभिएको छ। आफ्नो देशमा भविष्य नदेखेर लाखौं युवा पराइ भूमिमा आफ्नो पसिना बगाउन बाध्य हुनु हाम्रो व्यवस्था र नेतृत्वको असफलताको ऐना हो।
आर्थिक दृष्टिकोणबाट हेर्ने हो भने, ‘आम्दानी अठन्नी, खर्च रुपैयाँ’ भन्ने पुरानो उखान अहिलेको उपभोक्तावादी समाजमा पूर्ण रूपमा चरितार्थ भएको छ। विज्ञापनको रङ्गीन चमकधमकले मानिसलाई नचाहिने वस्तुको पनि कृत्रिम आवश्यकता बोध गराइरहेको छ। स्पष्ट उपभोग (कन्स्पिक्युअस कन्जम्पसन) को बढ्दो लहरले समाजमा एउटा अदृश्य र अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरेको छ। छिमेकीको वैभव देखेर आफूलाई पनि त्यस्तै बनाउने होडले मानिसलाई ऋण र तनावको दलदलमा धकेलेको छ।
अर्कोतर्फ, धनी र गरिब बीचको आर्थिक खाडल पुर्नुको सट्टा झन्-झन् फराकिलो हुँदै गइरहेको छ। हामीले बुझ्नुपर्छ कि आर्थिक समृद्धिको वास्तविक मापन केवल अग्ला भवन, चम्किला मल वा चिल्ला सडकले मात्र गर्न सकिंदैन। जबसम्म समाजको अन्तिम घेरामा रहेका मानिसको भान्सामा सहजता आउँदैन र उनीहरूको जीवनस्तरमा सुधार हुँदैन, तबसम्म विकासका ठूला गफहरू केवल निरर्थक र खोक्रा भाषण साबित हुनेछन्। भनाइ नै छ– “सभ्यताको मापन हामीले निर्माण गरेका सडकले होइन, हामीले हुर्काएका मानिस र उनीहरूको सोचले गर्छ।”
शिक्षाको क्षेत्रमा पनि गम्भीर आत्मसमीक्षाको खाँचो देखिएको छ। हाम्रो वर्तमान शिक्षा प्रणालीले दक्ष ‘कामदार’ त उत्पादन गर्न सफल भयो, तर एउटा असल र सचेत ‘मानिस’ बनाउन कतै न कतै ठूलो भूल गरिरहेको छ। डिग्री र सर्टिफिकेटको भारी थुप्रो बोकेर हिंड्ने युवाहरूमा जीवन जिउने कला, व्यावहारिक ज्ञान र समस्यासँग जुध्ने धैर्यको कमी देखिनु चिन्ताको विषय हो। शिक्षा केवल जीविकोपार्जनको माध्यम वा पैसा छाप्ने मेसिन बन्ने बाटो मात्र नभई चेतनाको विस्तार गर्ने र विवेक जगाउने औजार हुनुपर्ने थियो। विद्यार्थीलाई प्रश्न गर्न र तर्क गर्न सिकाउनुको सट्टा केवल पाठ्यपुस्तकका उत्तर रट्न बाध्य पारिने परम्पराले उनीहरूको नैसर्गिक सिर्जनशीलतालाई मारेको छ। जबसम्म शिक्षाले मानिसलाई विवेकशील, विनम्र र समाजप्रति जिम्मेवार बनाउँदैन, तबसम्म समाजमा अराजकता, असहिष्णुता र अहंकारको दबदबा कायम रहनेछ।
वातावरणीय दृष्टिले त हामी झन् भयावह स्थितिमा छौं। हामी प्रकृतिका सन्तान हौं र हाम्रो अस्तित्व नै प्रकृतिको सन्तुलनमा टिकेको छ। तर विडम्बना, आज हामी आफ्नै आश्रयदाता प्रकृतिको सबैभन्दा क्रूर विनाशक बनेका छौं। विकासका नाममा गरिएको जथाभावी दोहनले गर्दा भोलिको पुस्तालाई हामीले कस्तो उजाड पृथ्वी हस्तान्तरण गर्दैछौं भन्ने प्रश्न निकै गम्भीर छ।
जलवायु परिवर्तनका भयानक असरहरू बाढी, पहिरो र सुक्खाका रूपमा हाम्रै दैलोमा आइसकेका छन्, तर हाम्रो चेत भने अझै खुलेको छैन। अव्यवस्थित शहरीकरण, वनविनाश र बढ्दो प्रदूषणले गर्दा हाम्रो स्वास्थ्य र अस्तित्व दुवै संकटको घेरामा छन्। प्रकृतिलाई विजय गर्ने वा यसको दोहन गर्ने सोच त्यागेर अब प्रकृतिसँग एकाकार भएर बाँच्न सिक्नु नै मानव जातिको हितमा छ।
अन्ततः समाजको मूल आधारशिला भनेको एकअर्काप्रतिको सम्मान, सहयोग र सहअस्तित्व नै हो। तर, हिजोआज व्यक्तिवाद (इन्डिभिजुअलिज्म) यति हावी भएको छ कि मानिसहरू छिमेकीको पीडामा पनि निरपेक्ष र उदासीन रहन थालेका छन्। ‘म र मेरो’ को सानो घेराबाट बाहिर निस्केर ‘हामी र हाम्रो’ भन्ने सामूहिक भावना जागृत गराउनु आजको आवश्यकता हो।
जातीय, धार्मिक र लैङ्गिक विभेदका अवशेषहरू हाम्रो समाजको चेतनामा अझै पनि जीवितै छन्। कानूनी रूपमा धेरै परिवर्तन आए पनि मानिसको सोच र मानसिकतामा रूपान्तरण हुन बाँकी छ। सहअस्तित्व र सहिष्णुता नै त्यो कडी हो, जसले यो विभक्त समाजलाई पुनः एकताको सूत्रमा जोड्न सक्छ।
निराशाका यी काला बादलहरूका बीचमा पनि आशाका केही उज्ज्वल किरणहरू पक्कै पनि बाँकी छन्। नयाँ पुस्तामा बढ्दै गएको सामाजिक सचेतना, प्रविधिको सही सदुपयोग मार्फत भएका सिर्जनात्मक कामहरू र विश्वव्यापीकरणले उपलब्ध गराएका नयाँ अवसरहरूलाई हामीले सकारात्मक ढङ्गले उपयोग गर्नुपर्छ। अब हामीलाई एउटा यस्तो समाज निर्माणको संकल्प चाहिएको छ जहाँ प्रविधिले मानिसलाई आपसमा जोडोस् न कि टाढा नबनाओस्। राजनीतिले जनताको सेवा गरोस् न कि सत्ताको शासन मात्र नभनोस्। शिक्षाले हृदयमा विवेक र करुणा दियोस् न कि अहंकारी नबनाओस्। अनि विकासले प्रकृतिलाई संरक्षण गरोस् न कि यसको विनाश ननिम्त्याओस्।
समाज एउटा गतिशील नदी जस्तै हो, जसको प्रवाहलाई कसैले रोक्न सक्दैन। तर, यसको दिशालाई सही मोड दिन सक्ने क्षमता हामी सचेत नागरिकको हातमा छ। हामीले हाम्रो गौरवमय इतिहास र संस्कारलाई बिर्सनुहुँदैन र भविष्यका चुनौतीबाट भाग्नु पनि हुँदैन। रूपान्तरणको सुरुआत सधैं आफैंबाट हुनुपर्छ। जब हामी व्यक्तिगत र निहित स्वार्थ भन्दा माथि उठेर सामूहिक हितका लागि सोच्न र कर्म गर्न थाल्छौं, तब मात्र यो समाजले एउटा सुन्दर, शान्त र न्यायपूर्ण रूप धारण गर्नेछ।
समयको यो ऐनामा आफ्नो अनुहार नियालिरहँदा, के हामी आफूले देखेको प्रतिविम्बमा गर्व गर्न सक्छौं? यो गम्भीर प्रश्नको उत्तर खोज्ने र व्यवहारमा उतार्ने जिम्मेवारी अब हाम्रो काँधमा छ। आज हामीले चालेको एउटा सानो र इमानदार सकारात्मक पाइलाले नै भोलिको समुन्नत समाजको बलियो जग बसाल्नेछ। तसर्थ सत्कर्म गरौं सत्मार्गमा लागौं भावी सन्ततिको हित यसमै रहनेछ र यसतर्फ सबैको ध्यान जानु आवश्यक छ।
(न्यौपाने काठमाडौं महानगरपालिका आर्थिक प्रशासन महाशाखा प्रमुखमा कार्यरत छन्।)
प्रतिक्रिया 4