+

युवा खेलाडी समेटिएको नेपाल ए ले ओमानलाई दियो झट्का

२०८३ वैशाख  ११ गते १७:०९ २०८३ वैशाख ११ गते १७:०९

युवा खेलाडी समेट्दै तयार पारिएको नेपाल ए को टोलीले एसोसियट क्रिकेटमा नेपालको परिचित प्रतिद्वन्द्वी ओमानको सिनियर टोलीलाई पराजित गर्दै एउटा स्टेटमेन्ट नै दिएको छ ।

युवा खेलाडी समेटिएको नेपाल ए ले ओमानलाई दियो झट्का

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ए टोलीले ओमानसँगको दोस्रो एकदिवसीय खेल जित्दै दुई खेलको शृंखला १-१ मा बराबरीमा टुंग्याएको छ ।
  • इशान पान्डेले ६९ रन बनाएर लगातार दोस्रो अर्धशतक प्रहार गर्दै प्लेयर अफ द म्याच घोषित भएका छन् ।
  • नेपाल ए का बलरहरूले सुरुवाती १० ओभरभित्रै ओमानका ३ विकेट लिएर खेलमा दबाब सिर्जना गरेका थिए ।

११ वैशाख, काठमाडौं । नेपाल ए टोलीले ओमानसँगको दोस्रो एकदिवसीय खेलमा शानदार जित निकाल्दै २ खेलको शृंखला १-१ को बराबरीमा टुंग्याएको छ ।

बुधबार भएको पहिलो खेलमा खराब ब्याटिङका कारण फराकिलो हार बेहोरेको नेपालले आज भने फराकिलो जित निकाल्न सफल भयो । यसक्रममा नेपालले पहिलो खेलमा देखिएका कमजोरीमा सुधार समेत गर्‍यो ।

मध्यक्रम ब्याटिङमा शानदार प्रदर्शन गरेको नेपाल ‘ए’ ले बलिङमार्फत सुरुवातदेखि नै ओमानलाई दबाबमा राखेको थियो । १० ओभरभित्रै ३ विकेट लिएको नेपालले त्यसपछि कप्तान जतिन्दरको विकेट लिँदै ओमानलाई धराशायी बनाएको थियो । अन्तत: ओमानमाथि १०० रनमाथिको अन्तरले जित निकाल्न सफल भयो ।

खेलअघि टसमा कप्तान अनिल साहले २८० आसपासको योगफल बनाउने बताएका थिए । सोही योजना अनुरुप नेपाली ब्याटरहरूले राम्रो प्रदर्शन गरेपछि नेपाल ए ले २८४ रनको योगफल खडा गरेको थियो ।

इशान पान्डेले पहिलो खेलकै लय दोहोर्‍याउँदै लगातार दोस्रो अर्धशतक प्रहार गरे । ठूलो स्कोरबाट भने चुकेका उनी ६९ रनको संयमित पारी खेल्दा प्लेयर अफ द म्याच समेत घोषित भए ।

पीएम कपमा शानदार प्रदर्शन गरेका युवा खेलाडी समेट्दै तयार पारिएको नेपाल ए को टोलीले एसोसियट क्रिकेटमा नेपालको परिचित प्रतिद्वन्द्वी ओमानको सिनियर टोलीलाई पराजित गर्दै एउटा स्टेटमेन्ट नै दिएको छ ।

ब्याटर इशान पान्डेले पनि यो एउटा ‘स्टेटमेन्ट’ जित भएको टिप्पणी गरे । ‘हामीलाई नथिङ टु लुज थियो, हामीले ओमानलाई १०० रनभन्दा बढी अन्तरले हराउनु भनेको एउटा स्टेटमेन्ट नै हो’ इशानले भने ।

मध्यक्रमको सशक्त ब्याटिङ

नेपाली टोलीले पहिलो खेलमा राम्रो ब्याटिङ सुरुवात गरेपनि पछि ब्याटिङ कोल्याप्स हुँदा पराजित भएको थियो । शुक्रबारको खेलमा दुई ओपनर चाँडै आउट भएपनि मध्यक्रमले राम्रो खेले ।

४० रनको स्कोर हुँदा अर्जुन कुमाल र अनिल साह आउट भइसकेका थिए । त्यसपछि तेस्रो विकेटका लागि देव खनाल र इशान पान्डे मिलेर ९० रनको साझेदारी गरेका थिए ।

दुवैले अर्धशतक पनि बनाए । इशान पान्डेले ६९ रन बनाउँदा देव खनालले ६२ रन बनाए । लेफ्ट-राइट ब्याटर यी दुईको जोडीले पहिलो खेलमा पनि ८६ रनको साझेदारी गरेका थिए ।

इशानले कन्डिसन आफ्नो अनुकुलमा नभएको बेला क्रिजमा टिक्नेबारे सोचेको बताए । ‘कन्डिसन अनुसार खेलेका थियौं, सिधै ५० ओभरभन्दा पनि विस्तारै इनिङ बिल्ड गर्ने सोचेका थियौं’ इशानले भने ।

‘प्रेसर भन्ने त थिएन, मेरो प्रेसर त कुशल र जोराहरूले रिलिज गरिदिएका थिए । मेरो एउटा खराब शट खेलेर आउट भएँ’ उनले थपे ।

 यी दुई आउट भएको अवस्थामा पनि अर्को राम्रो साझेदारी बनेको थियो । इशानले सन्दीप जोरासँग मिलेर ७० रनको साझेदारी गरे । सन्दीप ४६ रनमा आउट भएपछि क्रिजमा कुशल मल्ल आएका थिए ।

कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै फिनिसिङ दिलाए । मल्लले ३२ बलमा ४ चौका र ४ छक्कासहित ५७ रन बनाएर अन्तिम बलमा रनआउट भए ।

कुशल मल्लले सन्तोष यादवसँग मिलेर सातौं विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । सन्तोष १५ रनमा अविजित रहे ।

ओमानका ब्याटर विनायक शुक्लाले पनि इशानको ब्याटिङको तारिफ गरे । ‘इशानले धेरै राम्रो खेले, सबै ब्याटरहरूलाई राम्रो क्रेडिट जान्छ । बलिङमा पनि अलि फरक सोचेका थियौं त्यहीभएर नै यो नतिजा आएको हो’ विनायकले भने ।

बलरको शानदार प्रदर्शन

ब्याटिङमा शानदार प्रदर्शन गरेको नेपाल ए का बलरहरूले पनि शानदार प्रदर्शन गरे । नेपाली बलरले सुरुवाती १० ओभरभित्रै ओमानको ३ विकेट लिइसकेका थिए ।

त्यसपछि कप्तान जतिन्दर सिंह पनि आउट भएपछि नेपाल खेलमा अगाडि देखिएको थियो । मध्यक्रममा ओमानका ब्याटरले पनि साझेदारी बनाएका थिए ।

७७-४ को अवस्थाबाट ओमानका लागि जितेन रामानन्दी र मुजिबुर अली मिलेर ४४ रनको साझेदारी बनाएर संयमता देखाएका थिए । तर २७औं ओभरमा युवराज खत्रीले एकै ओभरमा दुई विकेट लिएर जितेन र नयाँ ब्याटर आशिष ओडेरालाई आउट गरेपछि ओमान १२१-६ को अवस्थामा पुगेको थियो ।

जितेनले ४० बलमा २४ रन बनाएका थिए । त्यसपछि मुजिबुर अली पनि ४३ रनमा आउट भएपछि ओमान खेलमा थप पछाडि पर्‍यो ।

१२१-४ को अवस्थाबाट ओमानले थप ४८ रन जोड्दा ६ विकेट गुमायो । युवराजले ३ विकेट लिए भने हेमन्त धामी, आकाश चन्द र शेर मल्लले २-२ विकेट लिँदा सन्तोष यादवले १ विकेट लिए ।

ओमानका विनायकले भने आफुहरूले फरक कम्बिनेशन प्रयोग गरेकाले प्रदर्शनमा केही फरक देखिएको बताए । ‘लिग २ अघि यो एउटा रियालिटी चेक जस्तै हो, टस जितेर बलिङ रोजेर फरक प्रयास सोचेका थियौं’ उनले भने ।

लिग २ अघि ओमानलाई झट्का

ओमानी क्रिकेट टोली नेपालमा लिग २ को महत्त्वपूर्ण शृंखला खेल्न आएको टोली हो । टोलीले अब केही दिनमै नेपालको सिनियर टोलीसँग प्रतिस्पर्धा गर्दै छ ।

लिग २ सिरिजको ठिक अघि ओमानको टोलीले नेपाल ए को टोलीसँग हार बेहोरेको छ । यो एउटा झट्का ओमान टोलीलाई लागेको छ र यसले उनीहरूको मानसिकतामा केही न केही धक्का पक्कै पुगेको छ ।

इशानले लिग २ अघि ओमानको कन्फिडेन्स डाउन गर्न सक्नु सिनियर टिमका लागि पनि राम्रो फाइदा भएको उल्लेख गरे । ‘उनीहरूको लागि अभ्यास खेल थियो, यो खेलमा उनीहरूको कन्फिडेन्स डाउन गराएर लिग २ मा पठाउनु भनेको हाम्रो टिमका लागि पनि बूस्ट हो जस्तो लाग्छ’ इशानले भने, ‘खेल जस्तो भएपनि हारपछि टिमलाई प्रेसर नै हुन्छ ।’

ओमानका विनायकले केही एरियामा सुधार गर्नुपर्ने देखिएको तर समग्र टिमले राम्रो नै खेलेको बताए । ‘ब्याटिङ र बलिङमा अलि फरक कम्बिनेसन प्रयोग गरेर हेरेका थियौं, आज हाम्रो पक्षमा नतिजा आएन । केही कुराहरू सुधार गर्नुपर्ने पनि छ, लिग २ को मुख्य खेलमा टिमले राम्रो खेल्ने आशा छ’ विनायकले भने ।

ओमान क्रिकेट नेपाल ए क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय