News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहामा अत्यधिक गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भई जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
- विद्यालयका विद्यार्थी र शिक्षकहरूले गर्मीका कारण पठनपाठनमा समस्या आएको बताएका छन्।
- व्यापारी, सवारी चालक र अभिभावकले गर्मीले दैनिक कारोबार र आम्दानीमा असर परेको गुनासो गरेका छन्।
११ वैशाख, सिरहा । पछिल्ला केही दिनदेखि सिरहामा अत्यधिक गर्मी र तातो हावाको असर तीव्र बन्दै गएको छ । बढ्दो तापक्रमका कारण बाटोघाटो सुनसान देखिएको छ भने जनजीवनसमेत प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासनले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी जोखिममा पर्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।
गोलबजारको माउन्ट एभरेस्ट सेकेन्डरी बोर्डिङ स्कुलका स्थानीय विद्यार्थी नितेशकुमार ठाकुर र हिमानी सिंहका अनुसार अत्यधिक गर्मीका कारण विद्यालय जान निकै कठिन भएको छ । कक्षामा बस्दा अत्यधिक पसिनाले कापी भिज्ने र पढाइमा ध्यान केन्द्रित गर्न नसक्ने जस्ता समस्या भोग्नुपरेको उनीहरूले बताएका छन् ।
यस्तै, गोलबजार नगरपालिका–८ का स्थानीय व्यापारी शेखर यादव, नरेश यादव र चन्द्रदेव राउतका अनुसार बिहानैदेखि पसल खोले पनि दिउँसो ग्राहक नआउँदा व्यापार ठप्पजस्तै बनेको छ । अत्यधिक गर्मीका कारण मानिसहरू घरबाहिर ननिस्कँदा दैनिक कारोबारमा प्रत्यक्ष असर परेको उनीहरूको भनाइ छ । जसले गर्दा बैंकको दैनिक किस्ता तिर्नसमेत समस्या भइरहेको उनीहरूले बताए ।
त्यस्तै, माउन्ट एभरेस्ट सेकेन्डरी बोर्डिङ स्कुल गोलबजारका शिक्षक रामेश्वर कामती र मनोजकुमार यादवले पनि गर्मीका कारण पठनपाठन प्रभावित भएको बताएका छन् । कक्षामा बस्दा विद्यार्थीलाई लेख्न गाह्रो हुने, शिक्षक स्वयं पसिनाले भिज्ने तथा विद्यार्थीको उपस्थिति घट्ने समस्या देखिएको उनीहरूले जनाएका छन् ।

यता, अभिभावक देवनारायण साह र दीपक नायकका अनुसार यस्तो चर्को गर्मीमा बालबालिकालाई विद्यालय पठाउन डर लाग्ने अवस्था रहेको छ । स्वास्थ्यमा असर पर्न सक्ने चिन्ताका कारण विद्यालयहरूले बिहानको समयमा मात्र कक्षा सञ्चालन गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन् ।
अत्यधिक गर्मीले सवारी चालकहरूको आम्दानीमा पनि असर परेको छ । गोलबजार नगरपालिका–६ का चालक जगदीश यादवका अनुसार पहिले दैनिक राम्रो आम्दानी हुने गरे पनि अहिले यात्रु अभावका कारण २–४ सय रुपैयाँ कमाउनसमेत कठिन भएको छ ।
अत्यावश्यक परेमा मात्र यात्रु बाहिर निस्कने भएकाले जीविकोपार्जनमै समस्या हुन थालेको उनीहरूको गुनासो छ ।
गोलबजार नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, बाहिर जाँदा छाता वा टोपी प्रयोग गर्न, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न, हल्का तथा सुती कपडा लगाउन तथा सकेसम्म चिसो र हावायुक्त स्थानमा बस्न आग्रह गरेका छन् ।

उनका अनुसार टाउको दुख्ने, चक्कर लाग्ने, अत्यधिक पसिना आउने वा बेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
प्रतिक्रिया 4