News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पश्चिम एसियामा भएको युद्धका कारण नेपाली अर्थतन्त्रमा परेको प्रभाव विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोषलाई ब्रिफिङ गरेका छन्।
- गभर्नर पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लीसँग मूल्य स्थिरता र विदेशी विनिमय सञ्चिति सन्तोषजनक रहेको भन्दै राष्ट्र बैंकको प्रशंसा भएको जानकारी गराएका छन्।
- पौडेलले विस्तारित कर्जा सुविधा कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा कोषबाट उपलब्ध प्राविधिक सहयोग र एआई प्रयोगका विषयमा छलफल गरेका छन्।
११ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पश्चिम एसियामा भएको युद्धका कारण नेपाली अर्थतन्त्रमा परेको प्रभावका विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोषलाई ब्रिफिङ गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहको ‘स्प्रीङ मिटिङ २०२६’ मा सहभागी हुने क्रममा अर्थतन्त्रको अवस्थाबारे उनले जानकारी गराएका हुन् ।
अमेरिकाको वासिङ्टन डीसीमा आयोजना भएको अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहको बैठकमा गभर्नर पौडेल सहभागी भएका थिए । बैठकमा आईएमएफ र समूहका सदस्य राष्ट्रका अर्थमन्त्री, केन्द्रीय बैंकका गभर्नर र वित्त तथा मौद्रिक अधिकारीहरूको सहभागिता थियो । उक्त कार्यक्रमको दुई सेसनमा गभर्नर पौडेलले सहभागिता जनाएका थिए ।
सो क्रममा उनले अन्तर्राष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लीसँग भेटवार्ता गरेका थिए । भेटका अवसरमा नेपालको आर्थिक तथा वित्तीय स्थिति र पछिल्लो समय पश्चिम एसियामा जारी युद्धका कारण नेपालको अर्थतन्त्रमा परेको असरका विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।
सो अवसरमा उपप्रबन्ध निर्देशक लीले मूल्य स्थिरता, विदेशी विनिमय सञ्चिति लगायतका सूचक सन्तोषजनक रहेको भन्दै राष्ट्र बैंकको प्रशंसा गरे । साथै नेपालले कोषबाट लिएको विस्तारित कर्जा सुविधा अन्तर्गतका कार्यक्रमको प्रगति समीक्षा र भावी योजनाबारे छलफल भएको केन्द्रीय बैंकले जनाएको छ ।
गभर्नर पौडेलले कोषको एसिया एन्ड प्यासिफिक डिपार्टमेन्टका निर्देशक कृष्ण श्रीनिवासन, नेपालका लागि मिसन प्रमुख सरवत जहान र मनिटरी एण्ड क्यापिटल डिपार्टमेन्टका पदाधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
त्यस क्रममा विस्तारित कर्जा सुविधा कार्यक्रमको समीक्षा भई आगामी दिनमा कोषबाट उपलब्ध हुने प्राविधिक सहयोगका सम्बन्धमा छलफल भएको बैंकले जनाएको छ । साथै, गभर्नर पौडेलले साउथ इस्ट एसिया भोटिङ ग्रुपका कार्यकारी निर्देशक इदवान सुहार्दी विन हकिमसँग भेट गरेका थिए ।
भेटमा पौडेलले नेपालको वित्तीय क्षेत्रको सबलीकरणका निम्ति कोषबाट उपलब्ध हुन सक्ने प्राविधिक सहयोग र आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)का विषयमा आफ्ना कुरा राखेका थिए ।
बैठकका क्रममा गभर्नर पौडेलले एपीजीका अधिकारी डेभिड शाननसँग पनि भेटवार्ता गरे । नेपालमा सम्पत्ति शुद्धीकरण निवारणको विद्यमान अवस्था र ‘ग्रे लिस्ट’बाट बाहिर निस्कनका निम्ति भइरहेका प्रयासबारे गभर्नर पौडेलले जानकारी गराएका थिए । साथै, गभर्नर पौडेलले मलेसियाको केन्द्रीय बैंकका गभर्नर अब्दुल रसिद गाफरसँग एआई र बिग डेटा प्रयोगको सन्दर्भमा छलफल गरेको राष्ट्र बैंकले जनाएको छ ।
गभर्नर पौडेलले राष्ट्र बैंकको ‘तथ्याङ्क महाशाखा’ लाई एआई र बिग डेटा उपयोगमा केन्द्रित गरिएको सन्दर्भ उल्लेख गर्दै मलेसियाको अनुभवबारे चासो राखेका थिए ।
गभर्नर गाफरले बिग डेटा उपयोगका सन्दर्भमा राष्ट्र बैंकलाई सहयोग गर्न मलेसियाको केन्द्रीय बैंक तयार रहेको समेत बताएको राष्ट्र बैंकले जनाएको छ । गभर्नर पौडेलले विश्व बैंक समूहद्वारा अप्रिल २० र २१ मा वासिङ्टन डीसीमा आयोजित एक्जुकेटिभ फोरुम कार्यक्रममा पनि सहभागिता जनाएका थिए ।
प्रतिक्रिया 4