+
+
Shares

टिपर आतंक रोक्न रातभर जागै बस्छन् कात्तिकेका बासिन्दा

शंखरापुर नगरपालिका प्रमुख रमेश नापितका अनुसार साँखुदेखि कात्तिकेसम्मको बाटो साँघुरो भएका कारण टिपर रोक लगाइएको हो ।

दिनेश गौतम दिनेश गौतम
२०८३ वैशाख १२ गते २०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शंखरापुर नगरपालिकाको कात्तिके क्षेत्रमा स्थानीयले साँझदेखि टिपर रोक्न थालेका छन् र रातभर जागेर बाटो बन्द गरेका छन्।
  • स्थानीयले टिपरलाई वैकल्पिक बाटोबाट जान सुझाएका छन् र तीन पटक सचेत गराएपछि पनि अटेर गरे कारबाही गर्ने नगरपालिकाले बताएको छ।
  • नगर प्रमुख रमेश नापितले बाटो साँघुरो र पुल साना भएकाले टिपरलाई रोकिएको र एसियाली विकास बैंकको सहयोगमा सडक निर्माण गरिएको जानकारी दिनुभयो।

१२ वैशाख, काठमाडौं । ‘बाटो बन्द छ है हजुर, टिपर फर्काउनुहोस् । जर्बजस्त नगर्नुहोस् । तपाईंलाई होइन, टिपरलाई रोकेका हौँ,’ बुधबार राति साढे ११ बजे शंखरापुर नगरपालिकाको वडा नम्बर ३ र ५ को सिमानामा पर्ने कात्तिकेका स्थानीयले टिपर रोके ।

स्थानीय सनबहादुर पाख्रिन र रसली तामाङलगायत ५–६ जनको टोली राति जागै बसेको थियो । लहरै टिपर आए । उनीहरूले बाटो छेकेर अगाडि बढ्नै दिएनन् । जुन बाटो आएका थिए ती टिपरलाई त्यही बाटो फिर्ता पठाए ।

‘यता आउन पाइँदैन भन्ने थाहा छैन ? थाहा पाएर पनि किन आएको ?,’ रसलीले चालकलाई प्रश्न गरिन् । अर्कोपल्ट नआउने गरी एक पटकलाई जान चालहरूले अनुरोध गरे । केही चालकले ठेकेदारलाई भनेर फोन दबाए । तर स्थानीयले टिपर अगाडि बढ्न दिएनन् । ‘अँह हुँदैन । जोसुकैको फोन होस्, हुँदै हुँदैन । हामी रातभर नसुती बसेको के काम,’ रसली बाटो छोड्न तयार भइनन् ।

साँखुबाट ७ किलोमिटरको दुरीमा पर्ने कात्तिकेबाट काभ्रेपलाञ्चोकको सिपाघाट, भक्तपुरको नगरकोट, सिन्धुपाल्चोकको मेलम्चीतर्फ जानको लागि चालकले साँखु–कात्तिके सडकखण्ड रोजेका हुन् । चालकहरूले वैकल्पिक बाटोबाट जान पाउनु पर्ने भनिरहेका थिए । तर रातभर जागै बसेका स्थानीय मान्दै मानेनन् ।

‘जबरजस्त नगर्नुहोस् । नगरमा पठायौं, ट्राफिक प्रहरी बोलायौं भने झन् दुःख पाउनुहुन्छ,’ पाख्रिनले टिपर चालकलाई सचेत गराए । जहरसिंहपौवा र भक्तपुर हुँदै नगरकोटबाट जान स्थानीयले सुझाए । अन्ततः चालकहरू टिपर फर्काउन बाध्य भए ।

तीन पटकसम्म सचेत गराउने त्यसपछि पनि अटेर गरेमा कारबाहीका लागि नगरमा पठाउने गरेको पाख्रिनले बताए । टिपर रोक्न स्थानीयहरू आलोपालो गरेर राति सडकमा बस्ने गरेका छन् ।

‘आज हाम्रो पालो हो । भोलि अर्को टोली बस्छ । मिलेर बस्ने गरेका छौँ,’ उनले भने । यसरी राति जागै बस्न थालेपछि टिपर कम आउन थालेका छन् ।

‘पहिले डेढ २०० को हाराहारीमा टिपर आउँथे । अचेल ८-१० वटा मात्र आउने गरेका छन्,’ उनले भने, ‘घरै थर्किने गरी टिपर आउँछन् । रातभर सुत्नै नसक्ने भएपछि आलोपालो गरेर सडकमै बस्न थालेका हौँ ।’

दिउँसोको समयमा पनि स्थानीयले यो क्षेत्रमा टिपर प्रवेशमा रोक लगाएका छन् । चुनावअघि दुई हप्ताजति नगर प्रहरीले हेरेको थियो । नगर प्रहरी आउन छोडेपछि स्थानीय आफैं रातभर जागै बस्न थालेका हुन् ।

शंखरापुर नगरपालिका प्रमुख रमेश नापितका अनुसार साँखुदेखि कात्तिकेसम्मको बाटो साँघुरो भएका कारण टिपर रोक लगाइएको हो ।

‘बाटो साँघुरो छ । पुल साना छन् । त्यसकारण टिपरलाई यो बाटोमा गुड्न नदिइएको हो,’ उनले भने । दुर्घटनाको जोखिम पनि भयो । पारवहन क्षमताभन्दा ठूलो गाडी भएकाले हो ।’

नगर प्रमुख नापितका अनुसार एसियाली विकास बैङ्क (एडीबी) को सयोगमा सडक बनाइएको हो । ‘धेरै पुरानो सडक हो । पहिले गोरेटो थियो । ६–७ वर्षअघि सडक पिच भएको हो,’ उनले भने ।

पर्यटकीय क्षेत्र कात्तिकेमा अचेल आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्न थालेका छन् । टिपरको कारण समस्या भएको गुनासो उनीहरूको छ ।

‘सरकारले नै टिपरका बारेमा वैकल्पिक व्यवस्था गरिदिए रातभर हामी बस्नु पर्ने थिएन,’ स्थानीयले यसको दीर्घकालीन समाधान चाहेका छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?