११ वैशाख, काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानका रहेका नेपालीहरू तत्काल स्वदेश फर्किन इच्छुक नरहेको बताएको छ । मन्त्रालयका अनुसार सरकारले इजरायल–अमेरिकाले इरानमा हमला गरिरहँदा त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरेको थियो । तर उनीहरूले स्वदेश फर्किन अनिच्छा व्यक्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले बताए ।
उनका अनुसार त्यहाँ रहेका १० जनामध्ये ८ जना नेपालीले स्वदेश नफर्किने नै बताएका छन् । २ जना भने नेपाल फर्किने प्रक्रियामा रहेको प्रवक्ता क्षेत्रीले बताए ।
सरकारले पटक–पटक स्वदेश फर्किन आग्रह गरे पनि ती व्यक्तिले आफ्नै कारण देखाउँदै तत्काल फर्कन नसक्ने बताएको उनले जानकारी दिए ।
‘उहाँहरूलाई पटक–पटक स्वदेश फर्किन आग्रह भएको छ । सुरुमा फर्किन तयार पनि हुनुहुन्थ्यो । तर, हिजो बेलुकाबाट फर्कन असमर्थ भन्ने खबर प्राप्त भयो,’ प्रवक्ता क्षेत्रीले भने, ‘सुरक्षा वा अरू कारणले नभई आफ्नै कारणले त्यहाँको परिस्थितिअनुसार रोजगारीलगायतका विषय जोडेर नफर्किने भन्ने कुरा छ ।’
त्यहाँ रहेका सबै नेपाली कतारस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा रहेको पनि उनले बताए । उद्धार तथा स्वदेश फिर्तीका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत पनि पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4