+

दशौँ पीएम कप एनभीए लिग : पुरुषतर्फ पुलिस र आर्मी विजयी, रुकुमसँग हार्‍यो एपीएफ

२०८३ वैशाख  ११ गते २२:५३ २०८३ वैशाख ११ गते २२:५३
दशौँ पीएम कप एनभीए लिग : पुरुषतर्फ पुलिस र आर्मी विजयी, रुकुमसँग हार्‍यो एपीएफ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेडबुल दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को दोस्रो दिन विभागीय टोलीहरुको प्रदर्शन मिश्रित रह्यो ।
  • पुरुषतर्फ पुलिस र आर्मी विजयी हुँदा नेपाल एपीएफ क्लब पुरुष र महिला दुवैमा पराजित भयो ।
  • लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् र ९ दिनमा ४५ खेल हुनेछ ।

११ वैशाख, काठमाडौं । रेडबुल दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को दोस्रो दिन शुक्रबार विभागीय टोलीहरुको प्रदर्शन मिश्रित रह्यो ।

पुरुषतर्फ विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित हात पार्दा नेपाल एपीएफ क्लब पराजित भयो । यस्तै महिलातर्फ पनि नेपाल एपीएफ क्लब पराजित रह्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भइरहेको लिगमा शुक्रबार पुरुषको पहिलो खेलमा पुलिसले कोशी प्रदेश भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । पहिलो सेट पुलिसले २५–२३ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएपनि दोस्रो सेटमा पुनरागमन गरेको कोशीले २५–२२ ले सेट जित्दै खेल १-१ को बराबरीमा पुर्‍याएको थियो । तर त्यसपछि पुलिसले लगातार दुई सेट २५–२०, २५–२२ ले जितेर खेल जित्यो ।

यस्तै पुरुषतर्फ दिनको तेस्रो खेलमा आर्मीले बुढानिलकण्ठलाई पनि ३-१ कै सेटमा हरायो ।

आर्मीले बुढानिलकण्ठले २५–१९, २०–२५, २५–१४, २५–१५ ले हराउँदै दोस्रो जित हात पारेको हो । आर्मीले पहिलो दिन खिल्जी युवा क्लबलाई पराजित गरेको थियो । आर्मीले दुई खेलबाट ६ अंक जोडेको छ ।

तर एपीएफका लागि पनि शुक्रबार राम्रो रहन सकेन । पुरुषतर्फ एपीएफलाई तीन भारतीय खेलाडी समावेश गरेको रुकुम पश्चिम भलिबल क्लबले सोझो सेटमा हरायो ।

रुकुम पश्चिमले एपीएफलाई २५–१४, २५–२१, २५–१५ ले पराजित गर्‍यो ।

शुक्रबारै महिलातर्फ पनि विभागीय टोली एपीएफ बुटवलको एभरेष्ट भलिबल क्लबसँग पराजित भएको थियो । न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले भने सुदूरपश्चिममाथि एकपक्षिय जित निकाल्यो ।

एनभीए लिगमा शनिवार पनि पुरुषतर्फ ३ र महिलातर्फ २ खेल हुनेछ । महिलातर्फ बिहान ९ बजे नेपाल पुलिस क्लब र सुदूरपश्चिम तथा बिहान ११ बजे न्यु डायमण्ड र एभरेष्ट भलिबल क्लबबीच खेल हुनेछ ।

यस्तै पुरुषतर्फ रुकुमु पश्चिम र कोशी प्रदेशबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ भने हेल्प नेपाल र खिल्जी युवा क्लबको खेल ३ बजे तथा दुई विभागीय टोली पुलिस र एपीएफबीच साँझ ५ बजे खेल हुनेछ ।

नेपाल भलिबल संघको आयोजनामा भइरहेको लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीको सहभागिता छ । ९ दिनसम्म सञ्चालन हुने लिगमा पुरुष र महिलातर्फ गरी कूल ४५ खेल हुनेछ । सिंगल राउण्ड रोविन लिगपछि महिला र पुरुष दुवैमा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । दुवैको विजेताले समान १० लाख पुरस्कार पाउनेछन् ।

 

दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय