News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको एडटेक कम्पनी चेग एआई प्रविधिको कारण आर्थिक संकटमा परेको छ र यसको मूल्य लगभग शून्यमा पुगेको छ।
- च्याट जीपीटीको निशुल्क सेवा र गुगलको जेमिनाई एआईले चेगको प्रयोगकर्ता संख्या र आम्दानी घटाएको छ।
- चेगले आफ्नो सेवा विविधीकरण नगरेको र कर्मचारी कटौती गर्नुपरेको कारण कम्पनीको अस्तित्व संकटमा परेको छ।
आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि तथा एआई टूलहरूको व्यापक विस्तारसँगै विश्वका कैयौं ठूला कम्पनीहरू समेत संकटमा परेका छन् । यसको ताजा उदाहरण अमेरिकाको चर्चित शैक्षिक प्रविधि (एडटेक) कम्पनी चेग हो । कुनै समय अरबौं डलरको यो कम्पनी अहिले झण्डै टाट पल्टिने अवस्थामा छ । र, यसको मुख्य कारण चाहीँ एआई नै बनेको छ ।
अमेरिकामा केही वर्षअघिसम्म विद्यार्थीहरूलाई पढाइमा सहयोग चाहिँदा सबैभन्दा पहिले सम्झिने नाम चेग (ऋजभनन) थियो । यो कम्पनी अनलाइन शिक्षा क्षेत्रमा ठूलो ब्रान्ड बनिसकेको थियो । कुनै समय त यो अमेरिकाको सबैभन्दा ठूलो एडटेक कम्पनी मानिन्थ्यो । तर पछिल्ला चार वर्षमा यसको अवस्था निकै खराब भयो र अहिले यो टाट पल्टिने अवस्थासम्म पुगेको छ ।
विद्यालय तथा कलेजको गृहकार्य समाधान गर्न, प्रश्नका उत्तरहरू प्राप्त गर्न वा परीक्षाको तयारी गर्न लाखौं विद्यार्थीहरूले चेगको प्लेटफर्म प्रयोग गर्थे । तर एआई अनि विशेषगरी च्याट जिपिटीको आगमनसँगै चेगमाथि संकटको बादल मडारिन थाल्यो ।
सन् २०२१ तिर चेगको सफलता उत्कर्षमा थियो । त्यसबेला कम्पनीको मूल्य करिब १५ अर्ब डलरसम्म पुगेको थियो । तर त्यसपछि यति तिव्र गिरावट सुरु भयो कि केही वर्षमै कम्पनीको मूल्य लगभग शून्यमा पुग्ने अवस्था बनेको छ ।
चेगको व्यापारिक मोडेल विद्यार्थीहरूलाई सशुल्क रुपमा उनीहरूका प्रश्नको जवाफ उपलब्ध गराउने थियो । अर्थात् आफ्नो शैक्षिक अध्ययनमा समस्याहरूको समाधानमा चेगको सहयोग चाहने विद्यार्थीहरूले यसलाई शुल्क तिरेर सब्सक्राइब गर्नुपर्थ्यो ।
तर सन् २०२२ मा च्याट जिपिटी आएपछि चाहीँ विद्यार्थीहरूले निशुल्क विकल्प प्राप्त गरे । च्याट जीपीटी यस्तो टूल बनिदियो कि विद्यार्थीहरूले चेगमा पैसा तिर्नुपर्ने उत्तरका लागि च्याट जीपीटीले नि:शुल्क र तुरुन्तै समाधान गरिदियो ।
त्योसँगै चेगको समस्या सुरु भयो । चेगमा विद्यार्थीहरूले सब्सक्राइब गरेर पनि प्रश्नको उत्तर प्राप्त गर्न केही समय लाग्थ्यो । तर च्याट जिपिटीजस्ता एआई टूलमा जुनसुकै प्रश्नको केही सेकेन्डमै उत्तर पाइने भयो । सबैभन्दा ठूलो कुरा त यसको लागि पैसा पनि तिर्नु परेन । फलत: चेगको सशुल्क मोडेल आवश्यकता विहीन बन्यो ।
च्याट जिपिटीको प्रभावले चेगको आम्दानी र प्रयोगकर्ताको संख्या तीव्र गतिमा घट्न थाल्यो । वेबसाइट ट्राफिक घट्यो र सबैभन्दा ठूलो असर सब्सक्राइबर बेसमा पर्यो । कम्पनीको शेयर मूल्यमा कुनैबेला ४० देखि ५० प्रतिशतसम्म गिरावट आयो ।
चेगलाई अर्को ठूलो झट्का गुगलले पनि दियो । गुगल सर्चमै एआईले उत्तर दिन थालेपछि प्रयोगकर्ताहरूलाई वेबसाइटमा जानै नपर्ने अवस्था भयो । च्याट जिपिटीले थिलथिलो पारेको चेगलाई गुगल सर्चको एआई फिचर अर्थात् गुगलको जेमिनाई एआईले झनै मर्माहत बनायो । जसका कारण चेगको प्लाटफर्म प्रयोगकर्ताको संख्या शून्यप्राय: बनायो ।
व्यवसायिक दृष्टिले हेर्दा चेग कम्पनीको सबैभन्दा ठूलो कमजोरी भनेको यो केवल विद्यार्थीको गृहकाय सहयोगीको रुपमा एकै खालको सेवामा निर्भर हुनु नै थियो । एआईले त्यहीँ कामलाई निशुल्क र प्रभावकारी तरिकाले गर्न थालेपछि चेग प्रतिस्पर्धामा टिक्नसक्ने सम्भावना रहेन ।
उसले आफ्नो सेवालाई समयमै परिस्कृत गर्ने वा विविधीकरण गर्ने बारेमा पनि कुनै कार्य अघि बढाएन । चेगले आफ्नै एआई प्रडक्ट ल्याउँदासम्म त विद्यार्थीहरू च्याट जिपिटीजस्ता टूलहरूमा अभ्यस्त बनिसकेका थिए । अनि अन्तै सरेका प्रयोगकर्तालाई चेगले फर्काउन असमर्थ भयो ।
जसका कारण कम्पनीको अवस्था यति खराब भयो कि ठूलो मात्रामा कर्मचारी कटौती गर्नुपर्यो । हजारौं कर्मचारी हटाइए र खर्च घटाउन ठूला निर्णयहरू लिनुपर्यो । आर्थिक अवस्था पनि कमजोर बन्दै गयो । गतवर्ष सन् २०२५ मा चेग कम्पनीको आम्दानी करिब ५० प्रतिशतले घट्नुका साथै घाटा बढ्न पुग्यो । अन्तत: कम्पनीको अस्तित्वमै संकटमा परेको छ । चेग कम्पनीको यो अवस्थाले एआई प्रविधि कसरी पारम्परिक प्रविधिक उद्योगहरूका लागि चुनौती बनिरहेको छ भन्ने देखाएको छ । एजेन्सी
प्रतिक्रिया 4