+
+
Shares

सरकारलाई ज्ञानेन्द्र शाहीको चेतावनी– अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञाबहादुर शाहीले सरकारलाई संसदबाट नभागेर विधायकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न आग्रह गरेका छन्।
  • शाहीले सरकारले कानून निर्माणभन्दा अध्यादेशमार्फत शासन चलाउने प्रयास गरे गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने चेतावनी दिए।
  • उनले सुकुमवासी समस्या, भूमिसुधार ऐनको अड्किएको अवस्था र भूमि व्यवस्थापन संसदबाटै कानुन बनाएर समाधान गर्नुपर्ने धारणा राखेका छन्।

१३ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञाबहादुर शाहीले सरकारलाई संसदबाट नभागेर विधायकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले सरकारले कानून निर्माणभन्दा अध्यादेशमार्फत शासन चलाउने प्रयास गरे गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने चेतावनी पनि दिए ।

‘ऐन बनाउने त संसदले होला नि । अध्यादेश ल्याउँछु भनेर ठान्नुभएको होला त्यसो गर्यो भने केपी ओलीको हालत हुन्छ । संसद हुँदाहुँदै अध्यादेशबाट काम थालनी नगर्नुस्,’ शाहीले भने ।

पार्टीका प्रवक्तासमेत रहेका शाहीले संसद जनताको आवाज बोल्ने थलो र सरकार त्यसको कार्यान्वयन गर्ने संयन्त्र भएको उल्लेख गर्दै सरकार बलियो हुँदा संसदको आवश्यकता अझ बढी हुने बताए ।

उनले सुकुमवासी समस्या, भूमिसुधार ऐनको अड्किएको अवस्था तथा भूमि व्यवस्थापनजस्ता विषय संसदबाटै कानुन बनाएर समाधान खोज्नुपर्ने धारणा पनि राखे ।

‘जब सरकार बलियो हुन्छ तब संसदको आवश्यकता झन् ठहरिन्छ । किनकी हामी प्रजातान्त्रिक अभ्यासमा छौं । कानुन बनाउनुपर्ने छ । अहिले सुकुमवासीको समस्या छ,’ शाहीले भने, ‘अहिले कानुन नबनाइकन सुकुम्बासीको व्यवस्थापन गर्न सक्नुहुन्छ ? अहिले अड्केको भूमिसुधार ऐनले होइन ? अनि भूमिसुधार ऐन कसले बनाउने हो ? रास्वपाको सरकारले बनाउने हो कि सरकारले बनाउने हो ?’

अन्तरसरकारी समन्वयो अभावका कारण संघ सरकारले गर्ने कतिपय निर्णयहरु प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने नगरेको भन्दै यस विषयमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।

‘संसद् चलाउनुहोस् । संसदबाट नभाग्नुहोस् । संसद् भनेको जनताको आवाज बोल्ने थलो हो भने सरकार त्यसको कार्यान्वयन गर्ने हो,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?