News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीमा प्रहरी हिरासतमा रहेका दलित युवा श्रीकृष्ण विकको शंकास्पद मृत्युपछि रास्वपा र नेकपाका ६ जना सांसदले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसे।
- श्रीकृष्णमाथि बलात्कारको जाहेरीपछि प्रहरीले उनलाई सिन्धुली पठाएको र खुर्कोट हिरासतमा राख्दा उनले आत्महत्या गरेको प्रहरीको दाबी छ, तर परिवारले शंकास्पद मृत्यु मान्छ।
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले डीआईजी दिनेशकुमार आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरी अनुसन्धान सुरु गरेको छ, तर परिवार र सांसदहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।
१३ वैशाख, काठमाडौं । बिहीबार (१० वैशाख) साँझ जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेट अगाडि ६ जना सांसद धर्ना बसे । धर्ना बस्नेमा ५ जना त ती सांसद थिए, जसले चुनाव जितेको पार्टी रास्वपा अहिले दुई तिहाइ निकट बहुमतसहित सरकारमा छ ।
धर्नामा रास्वपा सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, खिमा विश्वकर्मा, आशिष गजुरेल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गणेश विक थिए ।
गजुरेल बाहेक सबै दलित सांसद हुन् । गजुरेल धर्ना बसेकै क्षेत्रका सांसद हुन् । उनीहरूले शुक्रबार पनि धर्ना जारी राखे । यसको भोलिपल्ट शनिबार काठमाडौंको माइतीघरमा पनि धर्ना सुरु भयो ।
जसमा पूर्वसांसद विमला बिक, लक्ष्मी परियार, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष जेबी विश्वकर्मा, उपाध्यक्ष सुशीला विक, दलित महिला केन्द्रकी महासचिव गौरी नेपालीलगायत थिए ।
यी सबै दलित सांसद तथा अधिकारीकर्मीको एउटै प्रतिबद्धता छ, ‘हिरासतमा शंकास्पद रूपमा मृत्यु भएका सिन्धुलीका श्रीकृष्ण विकलाई न्याय देऊ ।’ आज आइतबार मात्रै पनि पीडित परिवारका आफन्त तथा दलितहरू माइतीघरमा धर्ना बसेका छन् ।
राजनीतिक, आर्थिक तथा सामाजिक न्यायको प्रतिबद्धतासहित २१ फागुनमा निर्वाचित भएर २७५ सांसद प्रतिनिधिसभामा आएका छन् । तर दलित युवा श्रीकृष्ण विकको हिरासतमा शंकास्पद मृत्यु हुँदा त्यसको निष्पक्ष अनुसन्धानको माग गर्ने भने दलित सांसद र अधिकारकर्मी मात्रै देखिए । मानौं, अरू मुद्दा सबैका हुन्, दलितका मुद्दा दलितका मात्रै हुन् ।

अझ यो घटनामा नेकपाका एक सांसद बाहेक सबै सत्तारुढ दल रास्वपाका मात्रै सांसद धर्नामा देखिए । अन्य दलका सांसद, गैरदलित जनप्रतिनिधिलाई यो घटनाले छोएको देखिएन । कांग्रेस विज्ञप्तिमै सीमित भयो । ११ वैशाखमा बसेको कांग्रेस कार्यसम्पादन समितिले घटनाबारे ध्यानकर्षण गराउँदै निष्पक्ष छानबिन गराउन माग गर्यो ।
एमालेले त विज्ञप्ति निकाल्ने जाँगरसम्म गरेन । नेकपा एक सांसद धर्नामा उभिए पनि उक्त पार्टीको समेत यो विषय मुद्दा बन्न सकेन ।
संसद्को पाँचौं शक्ति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासी बस्तीबारे निरन्तर फेसबुकमा आवाज उठाए पनि सिन्धुलीको यो घटनामा भने मौन देखिए ।
श्रीकृष्ण विकको मृत्यु यस्तो बेला भएको छ जबकि, सत्तारुढ दल रास्वपाले ऐतिहासिक दमनका लागि दलितसँग माफी मागेको एक महिना पनि पूरा भएको छैन । १९ चैतमा रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग हात जोडेर माफी मागे ।
‘गल्ती भयो कि भएन भनेर अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे । के खगेन्द्र सुनारमाथि सदियौँदेखि अन्याय हुँदा हामीले माफी माग्यौँ ?,’ उनले भने, ‘यो देशको दलित समुदायलाई मैले आज केही भन्नु छ । यो सरकार शताब्दियौँदेखि विभेदको, अन्यायको, अत्याचारको, सार्वजनिक र सामूहिक माफी माग्दैछ त्यो पनि यो सदनबाट ।’
लामिछानेले आजसम्म दलित समुदायले भोगेको विभेद अन्याय नभई संगठित अपराध रहेको बताउँदै भने, ‘अब कुनै पनि नेपालीले जातका आधारमा अपमानित महसुस गर्ने छैन ।’
तर, लामिछानेले यसो भनेको एक महिना नपुग्दै दलित भएकै कारण श्रीकृष्णको प्रेम विवाह खोसियो र उनी मृत्युको अवस्थामा पुगे । अन्तरजातीय प्रेम सम्बन्धमा रहेका दलित युवा श्रीकृष्णलाई ललितपुर सातदोबाटोबाट सिन्धुली पुर्याइएकोमा खुर्कोटस्थित प्रहरी हिरासतमै उनको रहस्यमय मृत्यु भएको छ ।
रास्वपाका केही सांसदले श्रीकृष्णको विषय उठाए पनि दलितसँग माफी माग्ने पार्टीले भने अहिलेसम्म यसबारे औपचारिक रूपमा केही बोलेको छैन । पार्टीको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।
यसकारण जातीय हिंसालाई दलित मुद्दाका रूपमा सीमित गर्ने राजनीतिक संस्कृति विकास हुँदै गएकोतर्फ संकेत गरेको छ ।
श्रीकृष्णको रहस्यमय मृत्युलाई एउटा पारिवारिक त्रासदीका रूपमा होइन, नेपाली राज्यको संरचनागत मनोविज्ञानलाई ऐनाको रूपमा प्रस्तुत गर्छ । यस्तै सन्दर्भमा शिक्षण अस्पतालको फरेन्सिक डिपार्टमेन्टमा १० वर्षदेखि रहेको अजित मिजारको शवको कथाले यही भन्छ । उही दृश्य दोहोरिन्छ– दलित बोल्छन्, बाँकी सुन्छन् । यो संयोग होइन, संरचनागत प्रवृत्ति हो ।

अन्तरजातीय प्रेम कसरी बन्यो बलात्कार मुद्दा ?
मृतकका परिवार तथा प्रहरीका अनुसार श्रीकृष्ण विक र बलात्कारको जाहेरी दिने किशोरी पूर्व चिनजानका व्यक्ति हुन् । मृतक श्रीकृष्णका काका लबीकुमार विकका अनुसार उनीहरूबीच करिब २ वर्षदेखि चिनजान थियो । ‘हामीले सुनेअनुसार २ वर्षदेखि नै उनीहरू प्रेम सम्बन्धमा थिए,’ लबीले अनलाइनखबरसँग भने ।
तर, प्रेम सम्बन्धमा रहेको भनिएका उनै श्रीकृष्णविरुद्ध बलात्कार कसुरको मुद्दा चल्यो । जसले श्रीकृष्णको मृत्यु भएको छ । सुरुमा भने यो घटनामा प्रहरीमा बलात्कारको उजुरी परेको थिएन ।
सातदोबाटो क्षेत्रमा श्रीकृष्णसँग प्रेम सम्बन्ध रहेको भनिएकी किशोरी बस्थिन् । २८ चैतमा एकाएक उनी बेपत्ता भएको भन्दै उनको परिवारले ३० चैतमा प्रहरीमा निवेदन दिएका थिए । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार किशोरीका आफन्तले ‘खोजतलास गरी पाउँ’ भन्दै निवेदन दिएका थिए ।
३ वैशाखको दिउँसो बेपत्ता भनिएकी किशोरी र श्रीकृष्ण विक आफन्तहरूसहित प्रहरी वृत्त सातदोबाटोमा पुगेको मिश्र बताउँछन् । एसपी मिश्रका अनुसार त्यतिबेला किशोरीका आफन्तले बालिकालाई बलात्कार गरेको पाइयो भन्दै जाहेरी लेखेर ल्याइएको थियो ।
‘बलात्कार भनेपछि उमेर बुझ्ने कुरा भयो । केटीको उमेर १६ वर्ष मात्रै भएपछि चिनजान वा प्रेम नै भए पनि सहमतिमा समेत विवाह गर्न मिल्ने अवस्था थिएन । उमेर कम भएपछि छलफल गरेर मिलाउने अवस्था पनि रहेन,’ एसपी मिश्रले अनलाइनखबरसँग भने, ‘बलात्कार घटना बुझ्दा सिन्धुली भनेपछि हामीले अनुसन्धानको क्षेत्र सिन्धुलीको रहेकाले त्यहाँ पठाएका हौं ।’
प्रहरी वृत्त सातदोबाटोले बलात्कारको उक्त जाहेरीसहित ४ वैशाखमा सिन्धुलीबाट आएका प्रहरी अधिकारीको साथ लगाएर श्रीकृष्णलाई सिन्धुली पठाएको बताएको छ । त्यसपछि इलाका प्रहरी कार्यालय खुर्कोटले बलात्कार जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।
‘१६ वर्षभन्दा मुनिका बालिकालाई कानुनले समेत बिहे गर्ने अधिकार दिएको छैन । जाहेरी आएपछि नलिने भन्ने अवस्था पनि रहेन,’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदी भन्छन् ।
यता, श्रीकृष्णको शंकास्पद मृत्युबारे सुरुदेखि नै आवाज उठाउँदै आएका रास्वपा सांसद खगेन्द्र सुनार भने केटीलाई झुक्याएर हस्ताक्षर गर्न लगाएको बताउँछन् । ‘केटीका अंकल पनि प्रहरी रहेछन् । केटासँग छुट्टिएर बस्ने भए मात्रै स्वीकार्छौं भनेर डर देखाएपछि झुक्याएर हस्ताक्षर गर्न लगाइएछ । हस्ताक्षर गरेको कागज भने जबरजस्ती करणी (बलात्कार कसुर)को जाहेरी रहेछ,’ सुनारले अनलाइनखबरसँग भने ।
बलात्कार जाहेरी दिए, पक्राउ गरेर सिन्धुली लगे भन्दा पनि जाहेरी नै दिएको भए अनुसन्धान होला, सत्यतथ्य बाहिर आउला, अनुसन्धानलाई सघाउनुपर्छ भन्दै आफू बसेको उनी बताउँछन् । तर हिरासतमै मृत्यु हुनु गम्भीर भएकाले विषय उठान गरेको उनको भनाइ छ ।
प्रहरीकै भनाइसँग मिल्दोजुल्दो भनाइ श्रीकृष्णका काका लबीको पनि छ । उनका अनुसार केटी पक्षका व्यक्तिले नै फोन गरेर ल तपार्इंहरूले विवाह गर्नु भएछ, के कस्तो छ भेटघाट गरौं भनेर बोलाएका थिए । त्यसपछि सिन्धुलीस्थित आफ्नो घरमा रहेका श्रीकृष्ण र किशोरी काठमाडौं गएका थिए । भेटघाट गर्न भनेर गएका श्रीकृष्णलाई भने प्रहरी वृत्त सातदोबाटो पुर्याइएको उनको दाबी छ ।

कसरी भयो मृत्यु ?
इलाका प्रहरी कार्यालय खुर्कोट ल्याएको जानकारी पाएपछि त्यसै दिन हिरासतमा पुगेर श्रीकृष्णलाई भेटेको उनका काका लबी बताउँछन् । त्यतिबेला आफूले गल्ती गरेको भए भागिदार हुनुपर्छ, नआत्तिनु भनेर सम्झाएको उनले बताए ।
अझ खुर्कोट ल्याउनुअघि ३ वैशाखमा आफन्तलाई पठाउँदै प्रहरीले भोलिपल्ट १० बजे आउनु भनेको तर त्यतिबेला सातदोबाटो प्रहरी पुग्दा सिन्धुली लगेको भन्ने थाहा पाएको लबीको भनाइ छ । सिन्धुली लगेर श्रीकृष्णविरुद्ध बालिका बलात्कारको कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (प्रहरी उपरीक्षक, एसपी) लालध्वज सुवेदीका अनुसार म्याद थप गरेर न्यायायिक हिरासतका लागि उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको थियो । उनका अनुसार खुर्कोट पनि मुद्दा चल्ने कार्यालय भएको र खुर्कोटबाटै मुद्दा चलेका श्रीकृष्णलाई खुर्कोट राखिएको थियो ।
त्यतिबेला खुर्कोटको हिरासतमा उनी एक्लो थिए । इन्सपेक्टर बसन्त भुजेलको कमान्डमा २३ जना प्रहरी खुर्कोटमा छन् । ७ वैशाखमा कानुनी काम कारबाहीका लागि सिन्धुली लाने बताएकाले त्यस दिन श्रीकृष्णलाई भेट्न आफन्त गएका थिएनन् ।
त्यसै दिन साँझ ६ बजेतिर आत्महत्याको प्रयास गरेको भन्दै प्रहरीले खबर गरेपछि खुर्कोट पुग्दा उपचारका लागि सिन्धुली लगिएको जानकारी आएको आफन्तको भनाइ छ ।
यस विषयमा एसपी सुवेदी भन्छन्, ‘१७:५९ बजेको समयमा हिरासत कक्षको शौचालयमा आफैंले लगाएको कालो कलरको सर्टको पासो घाँटीमा लगाई झुन्डिई घाइते भई उद्धार गरी अस्पताल लाँदा उपचारका क्रममा मृत्यु भएको हो ।’
बाहिर हल्ला गरे जस्तो प्रहरीले कुटपिट गरी हत्या गरेको भन्ने विषयमा सत्यता नरहेको उनको दाबी छ । ‘अहिलेसम्म शवको पोस्टमार्टम भएको छैन । छानबिन समिति पनि गठन गरिएको छ । यी सबै कुराहरू पछि खुल्लान्,’ एसपी सुवेदी भन्छन् ।
तर, प्रहरी हिरासतमा रहेको व्यक्तिको मृत्यु हुनु निकै दु:खद रहेको र ड्युटीको प्रहरीको कमजोरी रहेको भने उनी स्वीकार्छन् ।

आफन्त भन्छन्– घटना शंकास्पद
प्रहरीले हिरासतभित्र आफैं झुन्डिएको अवस्थामा फेला परेको बताए पनि आफन्त भने यो मान्न तयार छैनन् । हिरासतमा अन्य थुनुवासमेत नभएकाले अरू थुनुवाबाट यस्तो हुने कुरा सम्भव हुँदैन । जसका कारण यसमा प्रहरीको भूमिकालाई नै उनीहरू शंकास्पद मान्छन् ।
‘हामीलाई प्रहरीले झुन्डिएको बताए पनि त्यसको फोटो देखाएको छैन । सीसी क्यामेराको फुटेज हेर्न पाएको छैन । मृतकको शरीरमा निलडाम छन्,’ काका लबी विक भन्छन् ।
सांसद सुनार पनि घटना रहस्यमय रहेको बताउँछन् । झुक्याएर बलात्कार जाहेरी दिएपछि केटीले बरु मर्ने तर सँगै बस्ने बताएको दाबी सांसद सुनारको छ । श्रीकृष्णलाई छुटाउन त्यही अनुसारको बयान दिने भन्दै किशोरीले म्यासेज गरेको दाबी पनि सांसद सुनारको छ ।
पहिला बलात्कार भन्दै जाहेरी लिएर अनुसन्धान गरेको प्रहरीले युवतीले बयान फेर्ने भएपछि आफू फस्ने डरले यातना दिएको दाबी उनको छ । आफूलाई प्रहरीले यातना दिएको कुरा श्रीकृष्णले आमालाई समेत जानकारी गराएको दाबी सांसद सुनारको छ ।
‘यी सबै घटना हुनु र केही दिनमै मृत्यु हुनुले यसमा प्रहरी जिम्मेवार हुनुपर्छ । मृतकको शरीरमा चोट पनि देखिन्छन् । ५ फिटको मान्छे ३ फिटको झ्यालमा झुन्डिएर मर्ने भन्ने हुन्छ ?,’ सांसद सुनार आशंका गर्छन् ।
छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पीडित परिवारको छ ।
मृतक श्रीकृष्णकी आमा नन्दामाया विक अहिले न्याय खोज्दै काठमाडौं आएकी छिन् । छोराको सास नभए पनि न्याय पाउने आससहित काठमाडौं आएको उनी बताउँछिन् ।
घटनाबारे राष्ट्रिय दलित आयोगले पनि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई भेटेर निष्पक्ष अनुसन्धान गर्न माग गरेको थियो । आयोगका अध्यक्ष देवराज विश्वकर्मा भन्छन्, ‘निष्पक्ष छानबिन हुनुपर्यो भन्ने हाम्रो माग हो । यसबारे हामीले प्रहरी प्रमुखलाई भेटेरै ध्यानाकर्षण गराएका छौं ।

प्रहरीमाथि प्रहरीकै छानबिन ?
घटना शंकास्पद देखिएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शुक्रबार छानबिन समिति गठन गरेका छन् । महानिरीक्षक कार्कीद्वारा हस्ताक्षरित पत्रअनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा कार्यरत डीआईजी दिनेशकुमार आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।
जसमा यूएन शाखाका एसपी रवीन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का इन्स्पेक्टर इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी र सोही कार्यालयका सई राजेश्वर देवकोटा छन् । उनीहरूलाई ७ दिनको समायवधि दिइएको छ ।
छानबिन टोलीले सिन्धुली पुगेर काम सुरु गरिसकेको छ । तर प्रहरीकै भूमिकामा शंका गरेर आवाज उठाएकाले प्रहरीले प्रहरीमाथि नै गर्ने छानबिनमा कति विश्वास गर्ने भन्ने प्रश्न पनि उब्जेको छ । अपराध अनुसन्धानबारे राम्रो ज्ञान भएका पूर्वडीआईजी हेमन्त मल्ल पनि यो कुरा स्वीकार्छन् ।
‘यो प्रहरीको आन्तरिक छानबिन समिति हो । प्रहरीले गठन गर्ने समितिमा बाह्य मान्छे हुने कुरा भएन । प्रहरीमा चित्त नबुझे वा आवश्यक देखे सरकारले अन्य समिति बनाउने बाटो खुलै छ । त्यो बनाउन सक्छ,’ मल्ल भन्छन् ।
यो समितिले प्रहरीको कहाँ लापरबाही भयो, सुधार गर्नुपर्ने पक्ष के हो लगायतका प्राविधिक पक्षको छानबिन गर्ने बताइएको छ । मृत्युको विषयमा भने पोस्टमार्टम रिपोर्ट आउने बित्तिकै छुट्टिने मल्ल बताउँछन् ।
‘ह्याङ्गिङ अरू केस जस्तो हुँदैन । पोस्टमार्टम रिपोर्टमा प्रष्टै खुलिहाल्छ । हामीले पोस्टमार्टम रिपोर्ट कुर्नुपर्छ,’ मल्ल भन्छन् ।
तर, प्रहरीकै भूमिकामाथि शंका गरिएकाले यो घटनामा न्यायिक वा संसदीय छानबिन समिति बनाउन पनि सकिने उनको बुझाइ छ ।
को हुन् श्रीकृष्ण?
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा घर भएका २३ वर्षीय श्रीकृष्ण पेसाले सवारी चालक हुन् । उनको परिवार आरन पेसामा आश्रित थियो । केही वर्ष पहिला उनका बाबु दलबहादुर विकको मृत्यु भएपछि उक्त पेसा अहिले बन्द भएको छ । आमा भने बाख्रा पालेर बसेकी छिन् ।
पाँच दाजुभाइमध्ये माइलो छोरा श्रीकृष्ण गाडी चलाएर परिवार पाल्ने गर्थे । दाजुभाइले ऋण गरेर अर्को एउटा गाडीसमेत खरिद गरेको काका लबीको भनाइ छ ।
पहिलादेखि नै प्रेम सम्बन्धमा रहेका श्रीकृष्णले खोटाङ घर भएकी प्रेमिकालाई २८ चैतमा आफ्नो घर जुम्लीडाँडा ल्याएका थिए ।

किन भइरहन्छ हिरासतमा शंकास्पद मृत्यु
हिरासतमा शंकास्पद मृत्यु भएका श्रीकृष्ण पहिलो व्यक्ति होइनन् । यसअघि पनि दलितदेखि गैरदलित व्यक्तिहरूको प्रहरी हिरासतमा शंकास्पद मृत्युका घटना भइरहेका छन् ।
प्रहरीकै सुरक्षा घेराभित्र हुने यस्ता घटनाले प्रहरीको भूमिकामाथि बारम्बार प्रश्न उठिरहेको हुन्छ । हिरासत कक्ष सुधारोन्मुख हुन नसकेको, कतिपय अवस्थामा यातना दिने गरेका घटनाहरू पनि बाहिरिएका छन् ।
बेला–बेलामा मानव अधिकार आयोगको टोलीले हिरासत कक्षको समेत अनुगमन गर्दै बस्न योग्य नभएको, यातना दिने गरेको जस्ता विषयहरू उल्लेख गर्दै सुधारका लागि रिपोर्ट पनि दिँदै आएका छन् । तर हिरासतमा हुने मृत्युको घटना रोकिएको छैन ।
यसमा प्रहरीकै ड्युटी सुधार गर्नुपर्ने पूर्वडीआईजी मल्लको बुझाइ छ । ‘प्रहरीले पक्राउ गरिसकेपछि केही भइहाल्यो भने स्वाभाविक रूपमा प्रहरीको भूमिकामा प्रश्न उठ्छ । हिरासतमा मृत्यु भएका अधिकांशको विवरण हेरियो भने शौचालयमा झुन्डिएको पाइन्छ । शौचालयमा सीसीक्यामेरा राख्ने अवस्था पनि हुँदैन । अनि परिवारले विश्वास नगर्दा समस्या हुने गरेको छ,’ मल्ल भन्छन् ।
हिरासत गइसकेको व्यक्तिको मृत्यु हुन नदिन हिरासत कक्षका साथै प्रहरीको ड्युटीमा पनि सुधार गर्नुपर्ने उनको बुझाइ छ । हिरासत कक्ष र प्रहरीको ड्युटी सुधार नगरेसम्म सिन्धुली घटना अन्तिम हुने सुनिश्चित छैन ।
प्रतिक्रिया 4