News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल कबड्डी लिग सिजन २ का लागि ६ सहरका ६ टिमले आइतबार ८४ खेलाडी ड्राफ्टमार्फत् चयन गरेका छन्, जसमा ५४ नेपाली र ३० विदेशी खेलाडी छन्।
- एनकेएल सिजन २ जेठ २२ देखि दशरथ रंगशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा विराटनगर बाहुबली, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवल बुल्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्नेछन्।
- डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्सले राजु टमाटा र चायफोन कामुनीलाई रिटेन गरेको छ भने काठमाडौंले राष्ट्रिय टिमका कप्तान घनश्याम रोका मगरलाई निरन्तरता दिएको छ।
१३ वैशाख, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ को लागि ६ सहरका ६ टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् आइतबार ८४ खेलाडी चयन गरेका छन्, जसमा नेपाली खेलाडी ५४ छन्, भने विदेशीको संख्या ३० रहेको छ ।
आइतबार लाजिम्पाटमा आयोजित प्लेयर्स ड्राफ्टमा छनोट गरिएका १ सय ४२ जना नेपाली खेलाडीलाई तीन क्याटगोरीमा वर्गीकरण गरी राखिएको थियो । विदेशी खेलाडीतर्फ १४ देशका ८० खेलाडीलाई पनि तीनै क्याटगोरीमा राखिएको थियो ।
त्यसमध्ये पहिलो सिजनका १० खेलाडीलाई रिटेन गरिएको थियो । प्रत्येक टिमलाई बढीमा दुई खेलाडी रिटेन गर्ने सुविधा दिइएको थियो । बाँकी ७४ खेलाडी ड्रफ्टमार्फत् लिइएको हो ।
जेठ २२ गतेदेखि दशरथ रंगशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा हुने एनकेएल सिजन २ मा विराटनगर बाहुबली (कोशी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौं माभरिक्स (बाग्मती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले प्रतिस्पर्धा गर्दैछन् ।
सबै टिमले स्वदेशी ९ र विदेशी ५ खेलाडी ड्राफ्टमार्फत् लिएर टिम तयार पारेका छन् । भारतीय खेलाडी कम्तीमा एक जना लिनैपर्ने व्यवस्था गरिएको थियो । टिममा कम्तीमा १२ र बढीमा १४ खेलाडी राख्न पाउने व्यवस्था छ ।
सबै टिमले १४ खेलाडीको टिम बनाएका छन् । एनकेएल २ खेल्ने ३० जना विदेशी खेलाडी भारत, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, पाकिस्तान, दक्षिण कोरिया, ताइवान र केन्याका हुन् । यसमा केही खेलाडी भारतको प्रो कबड्डी लिगका अनुभवी छन् ।
डिफेन्डिङ च्याम्पियन जनकपुरले अलराउन्डर राजु टमाटा र थाई रेइडर चायफोन कामुनीलाई रिटेन गर्यो भने काठमाडौं राष्ट्रिय टिमका कप्तान घनश्याम रोका मगरलाई निरन्तरता दियो । विराटनगरले सुशील चुनारा र सुरज बोहरा, पोखराले भुवन बोहरा र रविन कुँवर, बुटवलले नवीन देउवा र गणेश पार्की तथा धनगढीले प्रकाश गिरीलाई रिटेन गरे ।
कार्यक्रममा एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानी, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रामचरित्र मेहता, नेपाल स्कुल स्पोर्ट्स फेडेरेसनका महासचिव राजकुमार कार्की, ओलम्पियन संघका अध्यक्ष दीपक विष्टलगायतको उपस्थिति रहेको थियो ।
एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएल सिजन २ को ब्रोडकास्ट पार्टनरको रुपमा कान्तिपुर म्याक्स टीभी एचडी भित्र्याइसकेको छ । फ्रेन्चाइज लिगको रियालिटी शो पार्टनर नेपहपको श्रीपेच रहेको छ ।






प्रतिक्रिया 4