+
आईपीएल २०२६ :

कोलकाताले सुपर ओभरमा लखनउलाई हरायो

२०८३ वैशाख  १४ गते ०:२४ २०८३ वैशाख १४ गते ०:२४
कोलकाताले सुपर ओभरमा लखनउलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोलकाता नाइट राइडर्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई सुपर ओभरमा पराजित गरेको छ।
  • सुपर ओभरमा कोलकाताले २ रनको लक्ष्य १ बलमै पूरा गर्‍यो र लखनउलाई हरायो।
  • कोलकाताका लागि रिंकु सिंहले अविजित ८३ रन बनाए भने मोहसिन खानले लखनउका लागि ५ विकेट लिए।

१४ वैशाख, काठमाडौं । कोलकाता नाइट राइडर्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

आइतबार मध्यराति सम्पन्न खेलमा सिजनको पहिलो सुपर ओभर भएको थियो । सुपर ओभरमा लखनउले दिएको २ रनको लक्ष्य कोलकाताले १ बलमै पूरा गर्‍यो ।

त्यसअघि निर्धारित २० ओभरमा दुवै टोलीबाट १५५ रन बनेपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा लखनउका निकोलस पूरन र एइडेन मार्क्रम ब्याटिङमा आएका थिए ।

कोलकाताका सुनिल नराइनले पहिलो बलमै पूरनलाई बोल्ड गरे भने त्यसपछि कप्तान रिषभ पन्त आएर १ रन लिएपछि मार्क्रम क्याचआउट भए ।

२ रनको लक्ष्य पछ्याउन आएका रिंकु सिंह र रोभमन पावेलले १ बलमै लक्ष्य पूरा गरे । रिंकुले पहिलो बलमै चौका प्रहार गरे ।

सुपर ओभरअघि, कोलकाताले दिएको १५६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएपछि बराबरी भएको थियो ।

अन्तिम ओभरमा १७ रन चाहिँदा रोचक बन्यो । बलिङमा कार्तिक त्यागी आए, क्रिजमा मोहमम्द शामी र हिम्मत सिंह थिए । पहिलो बलमा मोहम्मद शामीले बाईको १ रन लिए ।

दोस्रो बलमा कार्तिकले नो बल गरे । तेस्रो बल पनि नो बल हुँदा २ रन लिए । अब ५ बलमा १२ रन आवश्यक थियो । हिम्मतले चौका प्रहार गरे । त्यसपछि आउट भए । त्यसपछि आएका प्रिन्स यादवले १ रन लिएपछि २ बलमा ७ रन चाहिएको थियो ।

शामीले १ बल डट खेल्दा अन्तिम बल छक्का प्रहार गर्द खेल सुपर ओभरमा पुर्‍याएका थिए । यद्यपी लखनउले त्यसको सदुपयोग भने गर्न सकेन ।

कप्तान रिषभ पन्तले सर्वाधिक ४२ रन बनाए भने एइडेन मार्क्रमले ३१ रन बनाए । आयुष बदोनीले २४ रन बनाए । हिम्मत सिंहले १९ रन बनाए ।

कोलकाताका लागि वैभव अरोरा र वरुण चक्रवर्तीले २-२ विकेट लिए भने अनुकुल रोय, क्यामरन ग्रीन, सुनिल नराइन र कार्तिक त्यागीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । रिंकु सिंहले आक्रामक फिनिसिङ गर्दै ५१ बलमा अविजित ८३ रन बनाए ।

कोलकाता ९३-७ को अवस्थामा हुँदादेखि रिंकु र सुनिल नराइन मिलेर ६२ रनको साझेदारी बनाए । नराइन ४ रनमा अविजित रहे । रिंकुले अन्तिम ओभरमा दिग्वेश राठीलाई लगातार ४ छक्का प्रहार गरेका थिए ।

क्यामरन ग्रीनले ३४ रन बनाए भने कप्तान अजिन्क्या रहानेले १० रन बनाए ।

लखनउका लागि मोहसिन खानले शानदार बलिङ प्रदर्शन गरे । उनले ४ ओभरमा २३ रन दिएर ५ विकेट लिए । जर्ज लिन्डेले १ विकेट लिए ।

यो जितसँगै कोलकाता ८ खेलमा ५ अंक जोडेर पुछारबाट आठौं स्थानमा उक्लिएको छ भने लखनउ ८ खेलमा ४ अंकसहित पुछारमा झरेको छ ।

आईपीएल क्रिकेट कोलकाता नाइट राइडर्स लखनउ सुपर जायन्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय