+

कर्पोरेट टी–१० लिगमा क्लाउड फ्याक्ट्री, सुबिसु र आईसीएफसी फाइनान्स विजयी

२०८३ वैशाख  १४ गते १७:०८ २०८३ वैशाख १४ गते १७:०८
कर्पोरेट टी–१० लिगमा क्लाउड फ्याक्ट्री, सुबिसु र आईसीएफसी फाइनान्स विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टेक्सपायर कर्पोरेट टी–१० लिगको दोस्रो दिन क्लाउड फ्याक्ट्री, सुबिसु र आईसीएफसी फाइनान्सले जित हात पारेका छन्।
  • क्लाउड फ्याक्ट्रीले एनसेललाई २ रनले हराउँदै सुबोध ढुंगेल अविजित ५२ रन बनाएर म्यान अफ द म्याच घोषित भए।
  • आईसीएफसी फाइनान्सले टेक्सपायरमाथि ९४ रनको फराकिलो जित दर्ता गर्दै सोमेश यादवलाई म्यान अफ द म्याच घोषणा गर्‍यो।

१४ वैशाख, काठमाडौं । टेक्सपायर कर्पोरेट टी–१० लिगको दोस्रो दिन क्लाउड फ्याक्ट्री, सुबिसु र आईसीएफसी फाइनान्सले जित हात पारेका छन् ।

दोस्रो दिनको पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेललाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको क्लाउड फ्याक्ट्रीले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ९९ रन बनायो । कप्तान सुबोध ढुंगेलले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ५२ रन बनाए । जनार्दन बञ्जाडेले १९ रन जोड्दा रतिश श्रेष्ठले १० रनको योगदान दिए ।

एनसेलका लागि अनिल महर्जनले २ विकेट लिए भने अनिल भण्डारी र अंकित क्षेत्रीले समान १–१ विकेट हात पारे ।

१०० रनको लक्ष्य पछ्याएको एनसेलले कडा प्रतिस्पर्धा गरे पनि १० ओभरमा ६ विकेट गुमाउँदै ९७ रनमै सीमित भयो । समज पौडेलले अविजित ४२ रन बनाए भने प्रज्वल प्रजापतिले २७ रनको योगदान दिए ।

क्लाउड फ्याक्ट्रीका बलरहरूले दबाब सिर्जना गरेका थिए । नविन रोकायाले १ विकेट लिए भने जुलेन महर्जनले पनि १ विकेट हात पारे । साथै, उत्कृष्ट फिल्डिङ गर्दै ३ विकेट रनआउटमार्फत लिँदै क्लाउड फ्याक्ट्रीले खेल आफ्नो पक्षमा पार्‍यो । कप्तान सुबोध ‘म्यान अफ द म्याच’ घोषित भए ।

दोस्रो खेलमा सुबिसुले सिप्रदीमाथि ७ विकेटको सहज जित दर्ता गर्‍यो । टस हारेर पहिले ब्याटिङ गरेको सिप्रदीले १० ओभरमा ३ विकेट गुमाउँदै १०७ रन बनायो । प्रल्लब राज श्रेष्ठले अविजित ४९ रन बनाए भने युगेश न्यौपानेले १३ र दिपेश श्रेष्ठले १५ रन जोडे ।

सुबिसुका बलरमध्ये हिमाल चन्द प्रभावशाली रहे। उनले २ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । निराजन परियारले १ विकेट लिए ।

१०८ रनको लक्ष्य पछ्याएको सुबिशुले आक्रामक सुरुआत गर्दै ८.१ ओभरमै लक्ष्य पूरा गर्‍यो । विवेक कुमार यादवले ३५ रन बनाए भने दमन चन्दले अविजित ३९ रनको उत्कृष्ट इनिङ्स खेले । विष्णु धमलाले अविजित २ रन जोड्दै टोलीलाई जितसम्म पुर्‍याए ।

सिप्रदीका प्रल्लब राज श्रेष्ठले २ विकेट लिए भने शैलेन्द्र नेपालले १ विकेट हात पारे । तर सुबिसुलाई रोक्न त्यो पर्याप्त भएन । उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका दमन चन्द ‘म्यान अफ द म्याच’ घोषित भए ।

तेस्रो खेलमा आईसीएफसी फाइनान्सले टेक्सपायरमाथि एकतर्फी प्रदर्शन गर्दै ९४ रनको फराकिलो जित दर्ता गर्‍यो । पहिले ब्याटिङ गरेको आईसीएफसी फाइनान्सले १० ओभरमा ३ विकेट गुमाउँदै १४४ रन बनायो । सुभाष भण्डारीले ५० रन बनाए भने सोमेश यादवले ३९ रनको योगदान दिए । सन्तोष साहले अविजित २२ रन जोडे ।

टेक्सपायरका बलर दबाबमा देखिए । सगुन वैद्यले १ विकेट लिए भने अन्य बलर महँगो सावित भए ।

१४५ रनको लक्ष्य पछ्याएको टेक्सपायर ८.५ ओभरमै ५० रनमा समेटियो । बसु नेपालले १६ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन् ।

आईसीएफसी फाइनान्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । सन्तोष साह र सोमेश यादवले समान २–२ विकेट लिए भने सन्जोग गुरुङ र नितेश तिवारीले १–१ विकेट हात पारे ।

अलराउन्ड प्रदर्शन गरेका सोमेश यादव ‘म्यान अफ द म्याच’ घोषित भए। उनले ३९ रन बनाउनुका साथै २ विकेट पनि लिए।

कर्पोरेट टी–१० लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय