+
+
Shares

यसो गरे, कसो होला ? काठमाडौंवासीले जोहो गर्न सक्छन् यतिधेरै पानी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा वर्षमा औसत १,४८० देखि १,६०० मिलिमिटर वर्षा हुन्छ र छतबाट पानी संकलनले वर्षभर पानी अभाव पूरा गर्न सकिन्छ।

हरिवंश आचार्य–मदनकृष्ण श्रेष्ठको एउटा रोचक टेलिफिल्म थियो, जलपरी । त्यसमा दुई परिवारबीच वैवाहिक सम्बन्ध गाँस्ने क्रममा पानीको कुराले प्रमुखता पाउँछ ।

गाउँको खोला–झरनामा खेल्दै हुर्किएकी आफ्नी छोरीलाई काठमाडौं जस्तो काकाकुल शहरमा बिहे गरिदिँदा दुःख पो पाउँछन् कि भन्ने पीर आमाबुबालाई पर्छ ।

उनले सर्त राख्छन्, ‘काठमाडौंमा त जताततै पानीको हाहाकार रहेछ । मेरी छोरी पानीमा खेल्दै हुर्किएकी । उनले पानीको लाइनमा बस्नुपर्‍यो, पानी बोक्नुपर्‍यो भने त विवाह गराइदिन्नँ ।’

तर, जसै हुनेवाला सम्धीको घर पुग्छन् त्यहाँ त पानी छेलोखेलो देख्छन् । फूल बगैंचा पनि हरियाली, ट्याङ्कीमा पनि प्रशस्तै पानी । जताततै पानी । पानीको कुनै अभाव नै छैन ।

कसरी ?

गाउँले सम्धीले चकित भएर सोध्छन् । तब शहरिया सम्धीले कसरी पानी जोहो गर्न सकिन्छ र त्यो पानीलाई कसरी वर्षभरी प्रयोग गर्न सकिन्छ भनी एउटा काइदा सिकाउँछ ।

यो त भयो, टेलिफिल्मको कुरा । तर, के वास्तवमै घरको छतमा जम्मा हुने पानी सजिलै संचय गरेर वर्षभर पानीको अभाव पूरा गर्न सकिएला ?

छतबाट पानी संकलनको व्यावहारिकता

काठमाडौं उपत्यकामा वर्षमा औसत १,४८० देखि १,६०० मिलिमिटर वर्षा हुन्छ, जसमध्ये ठूलो हिस्सा जुनदेखि सेप्टेम्बरको बर्खायाममा पर्छ । यदि हरेक घरले आफ्नो छतको पानीलाई खेर जान नदिई संकलन गर्ने हो भने हिउँदमा ट्यांकर किन्नुपर्ने वा मेलम्चीको भर पर्नुपर्ने अवस्थाबाट मुक्ति पाउन सकिन्छ ।

विशेष गरी मेलम्चीको पानी नपुगेका वा ट्यांकर किन्न पनि गाह्रो हुने काठमाडौंका धेरै ठाउँमा यो प्रविधि अत्यन्त उपयोगी हुन सक्छ । फिल्मले पानीलाई मात्र आवश्यकता होइन, समृद्धिको आधारको रूपमा पनि प्रस्तुत गरेको छ । जहाँ पानी प्रशस्त हुन्छ, त्यहाँ घर हराभरा हुन्छ, स्वास्थ्य राम्रो हुन्छ र मानसिक शान्ति मिल्छ । ‘पानी धेरै भएपछि मात्र समृद्धि आउँछ’ भन्ने सन्देश फिल्मले दिएको छ ।

मह जोडीको योगदान र फिल्मको प्रभाव

नेपाली हाँस्य क्षेत्रका अमर जोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) ले अभिनय तथा निर्देशन गरेको यो छोटो टेलिफिल्म ‘जलपरी’ पानी संरक्षण र आकाशे पानी संकलन (रेनवाटर हार्भेस्टिङ) बारे जनचेतना जगाउने उद्देश्यले निर्माण गरिएको थियो ।

‘जलपरी’ एउटा छोटो टेलिफिल्म भए पनि यसले काठमाडौंको पानी संकटलाई निकै प्रभावकारी तरिकाले उठाएको छ । मह जोडीको हास्यपूर्ण अभिनयले फिल्मलाई हल्का र रमाइलो बनाएको छ भने ‘जलपरी’ को पात्रले पानीप्रतिको लगाव र संरक्षणको भावना झल्काएको छ ।

आकाशे पानी संकलन : अहिले पनि सरल, सस्तो र व्यावहारिक समाधान

दुई दशक वर्षअघि बनेको जलपरि अहिले पनि उत्तिकै सान्दर्भिक रहेको वातावरण तथा जनस्वास्थ्य संस्थाका कार्यकारी निर्देशक तथा इन्जिनियर राजेन्द्रश्रेष्ठ बताउँछन् । ‘जलपरी झन्डै २० वर्षअघि बनेको भए पनि काठमाडौं उपत्यकाको पानीको समस्या अझै उस्तै छ र सन्देश आज पनि पूर्ण रूपमा समसामयिक छ’ उनी भन्छन् ।

जनसंख्या वृद्धि, बढ्दो पानी खपत गर्ने बानी र जलवायु परिवर्तनले गर्दा पानीको माग अझ बढेको छ । तर अहिले प्रविधि विकास भएकाले आकाशबाट परेको पानी संकलन गरेर पिउनयोग्य बनाउन धेरै सजिलो र व्यवहारिक भएको श्रेष्ठ बताउँछन् ।

उनका अनुसार आकाशे पानी संकलन अत्यन्त सरल र सस्तो विधि हो । घर बनाउँदा नै छतबाट पानी पाइपमार्फत तल ल्याउने व्यवस्था र अन्डरग्राउन्ड ट्यांकी १०–२० हजार लिटर अनिवार्य भइसकेको छ । नगरपालिकाको नियमअनुसार हरेक घरले छतको पानी सडकमा झार्न पाइँदैन, त्यसैले थप लगानीको खाँचो पर्दैन ।

श्रेष्ठका अनुसार पानी धमिलो भएमा सानो फिल्टर जडान गरे पुग्छ । कुल १०–१५ हजार रुपैयाँको लगानीमा नै पूर्ण व्यवस्था गर्न सकिन्छ । घर बनाउँदा एक डेढ करोड खर्च गर्ने व्यक्तिले पानीको जोहो गर्न डेढ दुई लाखसम्म खर्च गर्नु खासै ठूलो लगानी होइन ।

यो पानी दैनिक आवश्यकताको ठूलो हिस्सा शौचालय, लुगा धुने, घर पुछ्ने, भाँडा माझ्ने आदिमा प्रयोग गर्न सकिन्छ । पिउने पानीका लागि बजारमा उपलब्ध वाटर प्युरिफायर जडान गरेर खानयोग्य बनाउन पनि सकिने श्रेष्ठले बताए ।

‘धाराको पानी वा इनारको पानीभन्दा आकाशे पानी व्यवहारिक छ, किनकि यसमा राति उठेर धारो खोल्नु पर्दैन, इनार सफा गर्नु पर्दैन र आइरन–म्यागानिजको समस्या हुँदैन’ उनले भने ।

काठमाडौं उपत्यकामा ३० वर्षको औसत हेर्दा वार्षिक करिब १,६०० मिलिमिटर पानी पर्छ । आवश्यकता भएकाले नै मानिसहरूले यो प्रविधि व्यवहारमा उतारिरहेका छन् र यो अहिले धेरै घरहरूमा लागू भइसकेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?