+
+
Shares

पुराना सिनेमाको काँध चढेर कति टाढा पुगिएला ?

पुराना हिट फिल्मका नाम, कथा वा भावनालाई दोहोर्‍याएर नयाँ फिल्म बनाउने प्रवृत्ति बढ्दो छ । तर, पुरानै रक्सीलाई नयाँ बोतलमा राखेर दर्शकलाई बेच्ने प्रयास कति समयसम्म टिक्ला ?

रामजी ज्ञवाली रामजी ज्ञवाली
२०८३ वैशाख १५ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म क्षेत्रमा पुराना हिट फिल्मका नाम, गीत र कथालाई दोहोर्याएर नयाँ फिल्म बनाउने प्रवृत्ति बढ्दै गएको छ।
  • पुराना नाम र सामग्रीको सहारामा बनेका धेरै फिल्महरूले नयाँ दर्शकलाई सन्तुष्ट पार्न र पुरानो प्रभाव दोहोर्याउन असफल भएका छन्।

आजकल नेपाली फिल्म क्षेत्रमा एउटा ट्रेन्ड देखिन थालेको छ- पुराना हिट सिनेमाको नाम, तिनकै गीत, कहिलेकाहीँ कथा र भावना समेत टपक्कै टिपेर नयाँ फिल्म निर्माण गर्ने ।

फिल्म बनाउन नयाँ कथा सकिएका हुन् त ? कि मेकर्सहरूले सजिलो बाटो रोजेका हुन् ? पुराना हिट फिल्मको नाम राखेपछि नयाँ पनि हिट हुन्छ भन्ने लोभ गरिएको हो ? यो नयां ट्रेन्डले स्वाभाविक रूपमा यस्ता किसिमका प्रश्न उठेका छन् ।

पुराना सफल ब्रान्डको सहारा लिनु व्यवसायिक रूपमा सुरक्षित रणनीति हुन सक्छ । दर्शकमा पहिले नै चिनिएको नाम भएकाले सुरुवाती आकर्षण पाउन सजिलो हुन सक्छ । तर, सिनेमा नामले मात्र चल्दैन ! यसले नयाँपन, अनुभव र भावना पनि दिनुपर्छ।

सिनेमा हेर्दा रमाइलो लागोस्, मन छोओस्, र केही नयाँ अनुभूति मिलोस् । व्यस्त जीवनबाट केही घण्टा छुट्याएर हलसम्म पुग्ने दर्शकले ‘टाइम पास’ संगै, सम्झिनलायक अनुभव लिएर फर्कियोस् । आज विश्व सिनेमा कहाँ पुगिसक्यो । बलिउड र हलिउडले चन्द्रमासम्म छायांकनको कल्पना गर्न थालिसके । प्रविधि, कथा, प्रस्तुति सबै हिसाबले नयाँ-नयाँ प्रयोग भइरहेका छन्- विश्व चलचित्र बजारमा ।

यस्तो समयमा हामी भने किन पुरानै ढाँचामा अल्झिरहेका छौं ? कुरा बुझिनसक्नु छ ।

०००

प्रायः हामीले सुन्दै आएको एउटा वाक्य छ- सिनेमा समाजको ऐना हो । तर, यो कथन जति लोकप्रिय छ, त्यति नै अपूर्ण पनि छ । सिनेमा समाजको ऐना होइन । सिनेमा त्यो समाजभित्र बाँचिरहेको एउटा सर्जकको चेतना, अनुभूति र दृष्टिकोण हो ।

एउटा चलचित्रकर्मीले समाजलाई कसरी हेर्छ ? कुन कोणबाट हेर्छ ? त्यो दृष्टिकोणको प्रतिविम्ब नै सिनेमा हो । तर, यहाँ अर्को महत्वपूर्ण पक्ष जोडिन्छ- नियत । सिनेमा बनाउने नियत कसको, कस्तो छ ? सिनेमा किन बनाइँदैछ ? यही प्रश्नले सिनेमा कस्तो बन्छ भन्ने निर्धारण गर्छ।

धेरैजसो अवस्थामा सिनेमा बनाउने नियत, राम्रो सिनेमा बनाउन आवश्यक पर्ने नियतसँग मेल खाएको देखिन्न । नेपाली मेकर्सहरूमा सिनेमा बनाउने होइन, बरू यसलाई आफ्ना अभाव, स्वार्थ, अहम्, कुण्ठा वा अपूर्ण इच्छाहरू पूरा गर्ने माध्यमका रूपमा प्रयोग हुने प्रवृत्ति व्यापक छ । तर, यो ट्रेण्ड नेपालमा मात्रै हैन विश्वव्यापी मानवीय प्रवृत्ति हो ।

अझै पनि काठमाडौंको कोठाभित्र बसेर ‘दमदार कथा’ खोज्ने प्रवृत्ति हट्न सकेको छैन । जबकि वास्तविक कथा सडकमा छ, गाउँमा छ, मानिसहरूको जीवनभित्र छ ।

जब कुनै कालखण्डमा कुनै सिनेमा बन्छ, त्यो समयको सोच, संवेदना र नियतले त्यसलाई विशेष बनाउँछ । त्यही कारणले केही फिल्महरू कालजयी बन्छन् । तिनले कथा मात्र होइन, समयलाई पनि कैद गरेका हुन्छन् ।

त्यही नाम वा त्यही सफलताको आधारमा अर्को समयमा, फरक सन्दर्भमा सिनेमा बनाउँदा समस्या सुरु हुन्छ । कहिलेकाहीँ सम्मानपूर्वक पुनर्निर्माण गर्दा उत्कृष्ट फिल्म बन्न सक्छ- यदि त्यसमा मूल कृतिप्रतिको सम्मान, कथाको आत्मा र सौन्दर्यलाई आत्मसात गर्ने प्रयास छ भने ।

तर प्रायः के हुन्छ भने– ‘त्यो बेला त्यो फिल्म हिट भएको थियो, त्यसैले यो पनि चल्छ’ भन्ने सोच हावी हुन्छ । यहीँबाट नियत कमजोर बन्न थाल्छ । सर्जक मौलिक हुन छोड्छ र अरूको काँधमा उभिन खोज्छ- कहिले नामको काँध, कहिले इतिहासको काँध।

आज नेपाली चलचित्रकर्मीहरूमा यो प्रवृत्ति झन् तीव्र बन्दै गएको देखिन्छ । कुनै समय दर्शकको मन जितेका परालको आगो, माइतीघर, आमा, हामी तीन भाइ, बलिदान र अरू धेरै नामहरू फेरि प्रयोग भइरहेका छन् । कतै कथाको सहारा लिइएको छ, कतै नामको मात्रै ! तर दुवै अवस्थामा मूल आत्मालाई समात्ने प्रयास भने कमजोर देखिन्छ ।

नाम उस्तै भए पनि समय, सन्दर्भ र संवेदना उस्तै हुँदैनन् । अनि जब आत्मा नै फरक हुन्छ, त्यही नाम बोकेको सिनेमा पनि दर्शकका लागि केवल प्रतिकृति मात्र बन्न पुग्छ, अनुभव होइन ।

आज नेपाली सिनेमा सिधै कथा मात्र होइन, फर्मुला, इमोशन र टाइटलको ‘फिल’ कपी गर्ने चरणमा पुगेको छ।

फर्मुला कपी हुँदा फिल्मको संरचना नै उही हुन्छ- सफल फिल्मको जस्तै सुरुवात, द्वन्द्व र अन्त्य । जोनर कपीमा, कुनै एक हिट शैली (कमेडी, लभस्टोरी, ग्याङस्टर) लाई बारम्बार दोहोर्याइन्छ । इमोशन कपी गर्दा, दर्शकलाई छोएको पुरानो भावनालाई नै नयाँ सन्दर्भबिनै पुनः प्रयोग गरिन्छ । र सबैभन्दा सूक्ष्म– टाइटलको ‘फिल’ कपी, जहाँ नाम, पोस्टर र प्रस्तुतीकरणले पुरानो सफलताको झल्को दिन खोज्छ ।

किन यसो गर्न थालियो ?

मौलिकताको अभाव नै यसको जड समस्या हो । कुनै कुराको नक्कल गरेर, फोटोकपी गरेर सफलता दोहोर्याउने सोचले सिनेमा निर्माणको सबैभन्दा महत्वपूर्ण तत्व ‘सिर्जनात्मकता’ लाई नै कमजोर बनाउँछ । एउटा कथा कसरी भन्ने ? कसरी नयाँ अर्थ दिने ? कसरी भावनात्मक रूपमा दर्शकसँग जोडिने ? यी प्रश्नहरू हराउँदै गएका छन् ।

यदि नियत शुद्ध छ भने सिनेमा मौलिक, संवेदनशील र प्रभावशाली बन्छ। यदि नियतमा खोट छ भने, त्यो खोट पर्दामा स्पष्ट देखिन्छ । केही वर्षअघि यस्तै रिमेकको रूपमा नयाँ चलचित्र बनाएका एक निर्देशकले (नाम नखुलाउने सर्तमा) स्वीकारेका छन् । ‘हामीले जति नै प्रयास गरे पनि पुराना चलचित्रको जादु दोहोर्‍याउन सक्दैनौं’ ती निर्देशक भन्छन्, ‘त्यसबेला मेरो चलचित्रमा प्राविधिक रूपमा केही सुधार त गरेँ, तर दर्शकले विश्वास गरेनन्, त्यसैले व्यवसायिक सफलता पनि मिलेन।’

उनको भनाइले नेपाली फिल्म क्षेत्रमा देखिएको एउटा यथार्थता उजागर गर्छ- क्रियटिभिटीको अभाव । पुराना हिट फिल्मका नाम, कथा वा भावनालाई दोहोर्‍याएर नयाँ फिल्म बनाउने प्रवृत्ति बढ्दो छ । तर, पुरानै रक्सीलाई नयाँ बोतलमा राखेर दर्शकलाई बेच्ने प्रयास कति समयसम्म टिक्ला ?

दर्शक अब चतुर भइसकेका छन् । उनीहरू नयाँपन खोजिरहेका छन् । कहिल्यै नसुनेका कथा, नदेखिएका दृश्य, र मन छुने प्रस्तुतिहरू हेर्न लालायित छन् । यदि फिल्मले साँच्चिकै नयाँ अनुभव दिन सक्यो भने, दर्शकले टिकट काटेर हलसम्म पुग्न हिच्किचाउँदैनन् । जसका उदाहरणहरू खोज्न धेरै पर पुग्नै पर्दैन !

०००

आजकाल धेरै वर्ष अगाडि दर्शकको मन जितेका शीर्षकहरू फेरि प्रयोग भइरहेका छन् । गीत पनि रिमेक गरेर बनाइएका छन् । मानौं यी आइडियाहरू आफैंमा सफलताको ग्यारेन्टी हुन् । तर वास्तविकता उल्टो छ ।

यस्ता धेरै फिल्महरूले न त पुरानो प्रभाव दोहोर्याउन सकेका छन्, न त नयाँ दर्शकलाई सन्तुष्ट पार्न सफल भएका छन् । सिक्वेल, रिमेक वा त्यो सफलताको बुई चडेर बनाइएका नयां प्रोजेक्टहरू धेरैजसो असफल देखिन्छन् । नेपाली फिल्म मेकर्स हिँड्ने यस्तो किसिमको ‘सर्टकट बाटो’ ले नेपाली दर्शकको विश्वास घटिरहेको छ।

एक समय यस्तो थियो

प्रविधि सीमित थियो, बजेट न्यून थियो, कथा गहिरा र अर्गानिक हुन्थे । विशेषगरी २०३० पछि र माओवादी द्वन्दकाल सुरु हुनु अगाडि २०५० सम्मको समयमा बनेका फिल्महरूले नेपाली समाजको आत्मा बोकेका थिए । ती फिल्महरूले मनोरञ्जन मात्र होइन, जीवनको यथार्थ, संघर्ष, सम्बन्ध र संवेदनालाई इमान्दारीपूर्वक प्रस्तुत गरेका थिए ।

त्यसबेला सफलताको केन्द्र प्रविधि होइन कथा थिए । निर्देशकहरूले आफ्नै परिवेशबाट कथा टिप्थे । पात्रहरू यथार्थसँग जोडिएका हुन्थे । अभिनय जीवन्त हुन्थ्यो । एउटा साधारण कथा पनि यति गहिरो रूपमा भनिन्थ्यो कि दर्शक त्यसमा आफूलाई भेट्टाउँथे । त्यसैले ती फिल्महरू समयसँगै हराएनन्- स्मृतिमा बसिरहे।

समयसँगै सिनेमा निर्माणको स्वरूप बदलियो । प्राविधिक रूपमा हामीले छलाङ मार्यौं । आज क्यामेरा, साउन्ड, एडिटिङ, कलर ग्रेडिङ- सबै उत्कृष्ट छन् । तर, उत्कृष्ट हुनुपर्ने ‘स्टोरी’ कमजोर हुँदै गए- भएको यत्ति हो । प्रविधि बलियो हुँदा कथा कमजोर किन भयो ? कहीँ विश्लेषण हुँदैन, कतै छलफल समेत हुँदैन । आजका धेरै फिल्महरूमा गहिरो कथा, बलियो पात्र र भावनात्मक आधार कमजोर देखिन्छ ।

पुराना नाम प्रयोग गर्ने प्रवृत्ति पनि यही डरको परिणाम हो, नयाँ कथा असफल हुन्छ कि भन्ने डर । त्यसैले पहिले सफल भइसकेको नामको सहारा लिने प्रयास गरिरहेको यसै उधोगका जानकारहरू स्वीकार्छन् ।

पहिला चलेको नाम हुँदैमा दर्शक फिल्म हेर्न जाँदैनन् भन्ने कुरा बारम्बार प्रमाणित भइसकेको छ । तर, जे मन पर्दैन त्यही बारम्बार दर्शकलाई थोपरेर फिल्मकर्मीहरूले आफ्नै शाख र विश्वास गुमाइरहेको विश्लेषण हुने गरेको छ ।

दर्शकका लागि पुरानो नाम फिल्म मात्रै होइन, एउटा अनुभव हो । त्यो अनुभवमा कथा, पात्र, समय र व्यक्तिगत स्मृतिहरू मिसिएका हुन्छन् । नयाँ फिल्मले त्यो अनुभव पुनः सिर्जना गर्न सकेका छैनन, सोही कारण त्यो नाम नै निराशाको कारण बन्छ । त्यसैले धेरै सिक्वेल र रिमेकहरू या पुराना नामका नयाँ भर्जनहरू अपेक्षाभन्दा निकै तल झरेका छन् ।

अर्को कुरा पनि छ ।

एक समय नेपाली फिल्म नै मुख्य विकल्प थियो । आज भने विश्वभरका सामग्रीहरू हातमै छन्- हलिउड, बलिउड, दक्षिण भारतीय सिनेमा, वेब सिरिज । अहिलेका दर्शक बदलिएका छन्, सचेत छन् । चनाखो बनेका छन् । नयाँ कथा खोज्छन्, नयाँपन खोज्छन् । यदि त्यो पाउन सकेन भने, ऊ सजिलै अर्को विकल्पतर्फ जान्छ ।

०००

अन्य क्षेत्रझैँ चलचित्र निर्माण पनि महँगीको चपेटामा परेको छ । एक दशक अगाडि ४०–५० लाखमै बन्ने फिल्महरू अहिले बन्न कम्तीमा २ करोडको बजेटमा छुट्याउनपर्छ । वर्षमा करिब १०० हाराहारी फिल्म निर्माण भए पनि तीमध्ये झण्डै ९० प्रतिशत असफल हुने अवस्था छ । यस्तो उच्च जोखिमको व्यवसायमा लाग्दा, निर्माण प्रक्रियामा व्यवसायी झनै सचेत, योजनाबद्ध र जिम्मेवार हुनु अत्यावश्यक देखिन्छ।

नेपालजस्तो विविधता र अनुभवले भरिएको देशमा कथाको अभाव कहिल्यै हुँदैन । यहाँ वैदेशिक रोजगारको पीडा छ, शहरको एक्लोपन छ, गाउँको बढ्दो रिक्तता छ । मानसिक स्वास्थ्यका गम्भीर सवालहरू छन्, पारिवारिक विखण्डनका कथा छन्, राजनीतिक संक्रमणका प्रभाव छन् । देश फर्कने र देशबाट हराउँदै जाने पुस्ताको द्वन्द्व छ । गाउँका मौलिकता, भजन, लाखेनाच, मेला, पर्म र रोपाइँजस्ता सांस्कृतिक आयामहरू आफ्नै गहिराइमा कथा बोकेर बसेका छन् ।

तर बिडम्बना के छ भने– यी कथा अझै पूर्णरूपमा पर्दामा उतारिएका छैनन् । खास समस्या कथाको अभावमा होइन, खोजको अभावमा हो । ‘हामी कथा खोज्न निस्कनै चाहँदैनौं’ चलचित्र निर्देशक मनोज पण्डित भन्छन्, ‘सर्जकको नियत नै सबैभन्दा महत्वपूर्ण प्रश्न हो । त्यही नियतले कस्तो चलचित्र बन्ने भन्ने दिशा र स्वरूप निर्धारण गर्छ । अहिले पुराना चलचित्रको सहारामा नयाँ फिल्म बन्ने प्रवृत्तिले पनि यही यथार्थ स्पष्ट पारिरहेको छ ।’

अझै पनि काठमाडौंको कोठाभित्र बसेर ‘दमदार कथा’ खोज्ने प्रवृत्ति हट्न सकेको छैन । जबकि वास्तविक कथा सडकमा छ, गाउँमा छ, मानिसहरूको जीवनभित्र छ । ती कथालाई बुझ्न, महसुस गर्न, समय दिन र अनुसन्धान गर्न आवश्यक छ । तर नेपाली चलचित्रकर्मीहरूमा यही धैर्यता र प्रतिबद्धताको कमी देखिएको छ ।

केही महिनाअगाडि प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’ का निर्माता रोहित अधिकारीले पुरानो फिल्मको नाम प्रयोग गरेर नयाँ फिल्म बनाउँदा गम्भीर कमजोरी भएको महसुस गरेका छन् ।

उनका अनुसार, ‘पुराना हिट फिल्म वा गीतलाई जस्तोसुकै तरिकाले पुनःनिर्माण गरे पनि हामीले त्यसको मौलिकता र प्रभाव दोहोर्‍याउन सक्दैनौं। दर्शकको मनमा बसेको पुरानो सिर्जनाको स्तरमा पुग्न निकै कठिन हुन्छ ।’

उनले थपे, ‘प्राविधिक रूपमा केही नयाँ र राम्रो गर्न सकिएला, तर पुरानो गीत वा फिल्मसँग जोडिएको दर्शकको भावना निकै गहिरो हुन्छ । नयाँ प्रयास जतिसुकै राम्रो भए पनि त्यो अपेक्षालाई पूर्ण रूपमा पूरा गर्न सजिलो हुँदैन ।’

आफ्नो चलचित्र ‘माइतीघर’ बाट धेरै कुरा सिकेको बताउँदै उनले अब घोषणा गरिसकेको नयाँ चलचित्र ‘भाइटीका’ को नाम र शीर्ष गीतसमेत परिवर्तन गर्ने सोच बनाएको जानकारी दिए ।

‘हामीले पुरानो फिल्म र त्यसको शीर्ष गीत अधिकार समेत लिइसकेका थियौं, तर अब त्यो नाममा फिल्म नबनाउने र गीतका लागि दिइएको १ लाख एडभान्स पनि सम्बन्धित व्यक्तिसँग फिर्ता नलिने निर्णय गरेका छौं,’ उनले भने ।

०००

आज नेपाली चलचित्र उद्योग एउटा संक्रमणकालमा छ।

एकातिर पुरानो सफलताको सम्झना छ- जहाँ पोस्टर, क्यासेट र डिभिडीले लगानी उठ्थ्यो । अर्कोतिर नयाँ चुनौतीहरू छन्– ठूलो लगानी, ठूलो अशफलता । कमजोर कथा । यदि यही प्रवृत्ति जारी रह्यो भने, पुराना नामको पुनः प्रयोग, सिक्वेल र रिमेकको चक्र अझै लम्बिँदै जानेछ र असफलता पनि बढ्दै जानेछ ।

हामी किन पुरानो जादु दोहोर्याउन खोजिरहेका छौं ? हामी नयाँ जादु सिर्जना गर्न किन डराइरहेका छौं ? हामी कथा खोज्न किन अल्छी गरिरहेका छौं ? नेपाली चलचित्र उद्योगको भविष्यसँग जोडिएका यी हुन् अहिलेका मूल प्रश्न ।

चलचित्र लेखक तथा फिल्म समीक्षक सुशील पौडेल फिल्म निर्माणलाई नवीन सोच, कला र सिर्जना प्रस्तुती हो भन्छन् । ‘जब यिनै तत्वहरूमा सर्जकको पकड गुम्दै जान्छ वा सर्जक भुत्ते हुँदै जान्छन् भने अन्य कमर्सियल फ्याक्टरको टेको खोज्ने जोखिम उच्च हुन्छ ।

यसमा चरित्र बलियो बनाएर त्यस अनुरूपको कास्टिङ गर्नुभन्दा सुपरस्टार हिरो लिने, गानाबाजा राख्ने प्रचलन त पुरानै थियो, अहिले पुराना चल्तीका फिल्मका नाम दोहोराउने, गीत रिक्रियट गरेर राख्ने वा पुरानै ढर्राका कथा, पटकथामा जोडबल गर्ने गरेको देखिन्छ ।

उनले भनें – ‘पुरानो कुरालाई पुन स्मरण गराउनु एक हदसम्म त ठिकै होला तर सर्जकका लागि सधैं समकालीन वस्तुस्थितिको मूल्यांकनसहित नवीनताको खोजीमा लाग्नु उसको दायित्व हो’ पौडेल भन्छन् ।

लेखक
रामजी ज्ञवाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?