+
+
Shares
आर्थिक स्थितिपत्र :

परम्परागत शैली र न्यून उत्पादकत्वको चपेटामा कृषि क्षेत्र

स्थितिपत्र अनुसार कुल जनसंख्याको ६२ प्रतिशत हिस्साले प्रमुख पेसाका रूपमा कृषि अँगाले पनि जीडीपीमा यसको योगदान खुम्चिँदै गएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक स्थितिपत्रले नेपालको कृषि क्षेत्र परम्परागत अवस्थामा रहेको र उत्पादकत्व दक्षिण एसियाली मुलुकभन्दा न्यून रहेको देखाएको छ।
  • कुल जनसंख्याको ६२ प्रतिशतले कृषि पेशा अपनाए पनि कृषि क्षेत्रको जीडीपीमा योगदान २८.४ प्रतिशतबाट २५.२ प्रतिशतमा घटेको छ।
  • स्थितिपत्रले कृषिको आधुनिकीकरण र व्यावसायीकरणलाई प्राथमिकता दिँदै उत्पादन, आय र निर्यात विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

१४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थितिपत्रले नेपालको कृषि क्षेत्र अझै पनि परम्परागत अवस्थामा रहेको र यसको उत्पादकत्व दक्षिण एसियाली मुलुकहरूको तुलनामा न्यून रहेको देखाएको छ ।

स्थितिपत्र अनुसार कुल जनसंख्याको ६२ प्रतिशत हिस्साले प्रमुख पेसाका रूपमा कृषि अँगाले पनि कुल गार्हस्थ उत्पादन (जीडीपी) मा यसको योगदान खुम्चिँदै गएको छ ।

स्थितिपत्र अनुसार एक दशकमा कृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर ३ प्रतिशतमात्र छ । आर्थिक वर्ष २०७२/७३ मा जीडीपीमा कृषि क्षेत्रको योगदान २८.४ प्रतिशत रहेकोमा आव २०८१/८२ मा घटेर २५.२ प्रतिशतमा सीमित भएको छ ।

अर्थतन्त्र कृषिबाट औद्योगिकीकरणतर्फ नगई सिधै सेवा क्षेत्रतर्फ विस्तार भएको प्रतिवेदनमा उल्लेख छ ।

उत्पादकत्वका सन्दर्भमा नेपालको अवस्था दक्षिण एसियाली मुलुकहरूको औसतभन्दा न्यून देखिएको छ । तथ्यांक अनुसार प्रतिहेक्टर धान उत्पादकत्व ४.१९ टन, गहुँ ३ टन र मकै ३.४६ टनमात्र छ ।

खेतीयोग्य भूमिको उत्पादकत्व कम हुनु र कृषि प्रणाली परम्परागत रहनुलाई मुख्य समस्याका रूपमा औँल्याइएको छ ।

वर्तमान चुनौती समाधान गर्न अर्थ मन्त्रालयले कृषिको आधुनिकीकरण र व्यावसायीकरणलाई प्राथमिकतामा राखेको छ ।

मन्त्रालयका अनुसार कृषिलाई उद्योग र पर्यटनसँग दरिलो गरी अन्तरआबद्ध गराउन सकेमात्र उत्पादनमूलक रोजगारी अभिवृद्धि हुन सक्छ ।

स्थितिपत्रले कृषि क्षेत्रको आधुनिकीकरण मार्फत उत्पादन, आय र निर्यात विस्तार ठूलो सम्भावना रहेको औँल्याएको छ । विशेषगरी उच्च मूल्यका बाली र पशुपालन, बगैँचा तथा कृषि प्रशोधन उद्योग, भौगोलिक विविधता उपयोग गरी क्षेत्रविशेष उत्पादन र ग्रामीण उद्योग विकासमा लगानी बढाएर आयात प्रतिस्थापन गर्न सकिने उल्लेख छ ।

आयातित कच्चापदार्थ माथिको उच्च निर्भरता र न्यून प्रविधि प्रयोगका कारण औद्योगिक क्षेत्र कमजोर रहेका बेला कृषिको आधुनिकीकरण र व्यावसायीकरण गरेर उत्पादकत्व बढाउनुपर्ने आवश्यकतालाई स्थितिपत्रले जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?