१४ वैशाख, भक्तपुर । भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा खोला आसपासको सुकुमवासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको छ ।
मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।
सो स्थानका संरचना भत्काउन सोमबार २४ वटा जेसीबी प्रयोग गरिएका थिए । त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुमवासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुङ्गामुढा भएको थियो । सुुकुमवासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइतेसमेत भएका थिए । आइतबार बिहान करिब दुई हजारको संख्यामा सुरक्षाकर्मी तैनाथी गराउँदा ८० प्रतिशत सुकुमवासीले आफैँ बस्ती छाडेका थिए ।
आइतबार र सोमबार शान्तिपूर्ण रूपमा सुकुमवासी बस्ती खाली गराउने काम भएको प्रहरीले जनाएको छ । –रासस
प्रतिक्रिया 4