News Summary
Generated by OK AI. Editorially reviewed.- टिभी कमेडी शो ‘कमेडी दरबार’का निर्देशक श्रद्धा प्रसाईं र विक्की अग्रवाल अभिनेत्री रेखा थापासँग कथानक फिल्म ‘काउकुती’ निर्माण गर्न लागेका छन्।
- फिल्म ‘काउकुती’ रेखा थापा फिल्म्सको ब्यानरमा बन्नेछ र रेखा थापाले अभिनय गर्नेछिन् भने निर्देशन श्रद्धाले गर्नेछिन्।
- पटकथा विक्की अग्रवाल र बिनेश राईले लेख्नेछन्, संगीत प्रशान्त शिवाकोटीको हुनेछ र चर्चित र्यापर लिल झोलाले गायन गर्नेछन्।
काठमाडौं । टिभी कमेडी शो ‘कमेडी दरबार’का निर्देशकद्वय श्रद्धा प्रसाईं र विक्की अग्रवाल अर्को एक कथानक फिल्मको निर्माणमा जुट्ने भएका छन् । यसपटक यी दुईजनाको सहकार्य अभिनेत्री तथा निर्मात्री रेखा थापासँग हुनेछ ।
थापाले सामाजिक सञ्जालबाट आगामी फिल्मको टाइटल र लाइनअप घोषणा गरेकी छन् । जसअनुसार, यो कथानक फिल्मको शीर्ष राखिएको छ– काउकुती ।
शीर्षकबाटै यो फिल्म हाँस्य कथावस्तुमा निर्माण हुन लागेको अनुमान गर्न सकिन्छ । यद्यपि, रेखाले यसबारे खुलाएकी छैनन् । हालै छायांकन सम्पन्न भएको फिल्म ‘ककाकिकी’ नआउँदै विक्की र श्रद्धा अर्को फिल्ममा जुटेका हुन् ।
‘काउकुती’को कुरा गर्दा, यो फिल्म रेखा थापा फिल्म्स्को ब्यानरमा निर्माण हुन लागेको हो । अभिनेत्रीमा रेखा स्वयम देखिनेछन् भने अन्य कलाकारको नाम खुलाइएको छैन ।
निर्देशकमा श्रद्धा हुनेछिन् । पटकथा लेखनमा विक्की र बिनेश राईको सहकार्य हुनेछ । निर्मातामा रेखाका श्रीमान बलराम शाही ठकुरी र नवराज श्रेष्ठ हुनेछन् ।
संगीत निर्देशन प्रशान्त शिवाकोटीको हुनेछ भने गायनमा अहिलेका चर्चित र्यापर लिल झोला छन् । यो फिल्ममा रेखाले एकजना डेब्यू अभिनेतासँग अनस्क्रिन रोमान्स गर्ने बुझिएको छ ।
यो फिल्म रेखा फिल्म्सको आठौं भेन्चर हुनेछ ।
प्रतिक्रिया 4