+
+
Shares

८ वर्षपछि निर्देशनमा फर्किइन् रेखा, ‘माया भनेकै यस्तो होला’ निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेखा थापाले निर्देशन गर्ने तेस्रो फिल्म माया भनेकै यस्तो होला\' छायांकन फागुनको दोस्रो साताबाट सुरु हुनेछ ।
  • फिल्म प्रेमकथामा आधारित छ र लेखक धुब्र लम्सालले मौलिक प्रेमकथा भएको बताए।
  • फिल्म हरिनारायण श्रेष्ठ र माया देवी श्रेष्ठले निर्माण गर्नेछन् र मदनकृष्ण श्रेष्ठ लगायत कलाकारको अभिनय रहनेछ।

काठमाडौं । कथानक फिल्म ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ । महाशिवरात्रीको अवसरमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको निर्माण घोषणा गरियो । यो फिल्ममार्फत अभिनेत्री रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किएकी छन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिचर हो ।

रेखाले यसपटक आफ्नै ‘रेखा फिल्मस्’ भन्दा बाहिरको ब्यानरमा काम गर्न लागेकी हुन् । ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने फिल्ममा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारको जम्बो टोली रहनेछ ।

फिल्ममा कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहनेछ ।

फिल्मको घोषणसँगै दुईवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । दिल श्रेष्ठको साथमा तीन अभिनेत्री सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखिएको पोस्टरले प्रेमका विभिन्न पाटा वा सम्भावित ‘प्रेम त्रिकोण’ को कथा हुनसक्ने अनुमान गर्न सकिन्छ ।

फिल्ममा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतको पनि अभिनय रहनेछ । हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ निर्माता रहेको फिल्मले प्रेमकथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्ने संकेत दिएको छ । शीर्षकले नै यो एउटा सुमधुर प्रेमकथामा आधारित हुने प्रष्ट पार्छ ।

सुदीप बराल छायांकन रहने यस फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन सुमन तिवारी छन् ।

छायांकन फागुनको दोस्रो साताबाट सुरु हुनेछ । आउँदो वर्षको तीजको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य छ ।

पत्रकार सम्मेलनमा निर्देशक थापाले यो फिल्म समाजमा घटेका घटनामा रहेको बताइन् । उनले भनिन्, ‘यो फिल्ममा तपाईँको जीवनमा घटेका, मेरो जीवनमा घटेका र समाजले अनुभूति गरेका विषयहरूलाई उठाइएको छ । एउटा निर्देशकाको रूपमा मैले यसलाई मानिसहरूकै कथाको रूपमा प्रस्तुत गरेकी छु ।’

यस्तै, फिल्ममा ३ जना पूर्वमिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलाई एकैसाथ देख्न पाइने भएको छ । यसबारे रेखाले भनिन्, ‘मिस नेपालको ट्याग भएका कारणले मात्र उहाँहरूलाई लिएको होइन । मेरो फिल्मको विषयवस्तु र कथाको माग अनुसार नै सृष्टि, नम्रता र नीति फिट हुनुभएकाले उहाँहरूलाई छनोट गरिएको हो ।’

अभिनेता श्रेष्ठले रेखाको निर्देशनमा काम गर्न पाउनु आफूलाई एउटा छुट्टै संसारमा प्रवेश गरे झैँ लागेको बताए । उनले भने, ‘म केबल हास्य कलाकार मात्र होइन, ‘परान’ जस्ता चलचित्रबाट मैले आफूलाई गम्भीर भूमिकामा पनि प्रमाणित गरिसकेको छु । यस चलचित्रमा पनि मेरो सशक्त भूमिका रहनेछ ।’

फिल्ममा मुख्य अभिनेताको रूपमा देखिन लागेका श्रेष्ठ लामो समयपछि फिल्ममा फर्किन लागेका हुन् । पटकथा लेखक ध्रुव लम्साल पनि दशकपछि फिल्म लेखनमा फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?