News Summary
Generated by OK AI. Editorially reviewed.- पेरिस सेन्ट–जर्मेनले युरोपियन च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखलाई ५–४ ले पराजित गरेको छ।
- खेलमा ह्यारी केनले पेनाल्टीमार्फत १७औं मिनेटमा गोल गरेपछि पीएसजीले लगातार पाँच गोल गर्दै अग्रता बनाएको थियो।
- दोस्रो लेग बायर्नको मैदानमा हुनेछ, जहाँबाट फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ।
१६ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले जर्मन क्लब बायर्न म्युनिखलाई ५–४ ले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको अत्यन्त रोमाञ्चक खेलमा पीएसजीले पहिलो हाफमै ३–२ को अग्रता बनाएको थियो । खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गर्दा कुल ९ गोल सम्भव भयो ।
बायर्नका लागि ह्यारी केनले १७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर त्यसपछि पीएसजीले लगातार दुई गोल गर्दै खेलमा फर्कियो ।
भिचा भरात्स्खेलियाले २४औं मिनेटमा बराबरी गोल गरे भने जोआओ नेभेसले ३३औं मिनेटमा गोल गर्दै पीएसजीलाई अघि बढाए ।
४१औं मिनेटमा माइकल ओलिसेले शानदार गोल गर्दै बायर्नलाई फेरि बराबरीमा ल्याए । तर पहिलो हाफको अतिरिक्त समयमा उस्मान डेम्बेलेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए ।
दोस्रो हाफमा पीएसजी झन् आक्रामक देखियो । भरात्स्खेलियाले ५६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने डेम्बेलेले ५८औं मिनेटमा अर्को गोल थप्दै टोलीलाई ५–२ को सहज अवस्थामा पुर्याए ।
पछि बायर्नले पनि खेलमा फर्कने प्रयास गर्यो । ६५औं मिनेटमा डायोट उपामेकानोले गोल गरे भने ६८औं मिनेटमा लुइस डियाजले गोल गर्दै अन्तर ५–४ मा झारेका थिए । तर त्यसपछि थप गोल हुन सकेन ।
यो नतिजासँगै पीएसजीले दोस्रो लेगअघि सामान्य अग्रता बनाएको छ । अब दोस्रो लेग बायर्नको मैदानमा हुनेछ, जहाँबाट फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।
प्रतिक्रिया 4