News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको नमस्ते झरना गत वर्षको बाढीले भत्काएको पूर्वाधारका कारण पर्यटकको चहलपहल घटेको छ।
- स्थानीय सरकार र कोशी प्रदेश सरकारले झरनाको पुनर्निर्माणका लागि क्रमशः १० लाख र १५ लाख रुपैयाँ विनियोजन गरिसकेका छन्।
- साँगुरीगढी गाउँपालिकाले अस्थायी पुल र भर्याङ बनाएर पहुँच सहज बनाएको छ भने स्थायी ट्रस पुल निर्माण आवश्यक रहेको छ।
१६ वैशाख, धनकुटा । पूर्वी पहाडको धनकुटा जिल्लामा अवस्थित नमस्ते झरना कुनै समय आन्तरिक तथा भारतीय पर्यटकहरूको रोजाइमा पर्ने प्रमुख गन्तव्य थियो । गर्मी मौसम सुरु भएसँगै झरनामा आन्तरिक तथा भारतिय पर्यटकको घुइँचो लाग्थ्यो । चिसो पानीमा पौडी खेल्ने, झरनाको काखमा बनेको प्राकृतिक पोखरीमा रमाउने र परिवार तथा साथीभाइसँग रमाइलो गर्नेहरूको भीडले यो क्षेत्र सधैं जीवन्त रहने गरेको थियो । तर, अहिले यो झरना प्राकृतिक सौन्दर्यकै बीचमा पनि सुनसान जस्तै देखिन थालेको छ ।
झरना सुनसान हुनुको कारण हो गत वर्षको बाढीले भत्काएको पूर्वाधार र त्यसले सिर्जना गरेको असुरक्षा । प्राकृतिक सौन्दर्य यथावत् भए पनि यहाँ पुग्ने बाटो जोखिमपूर्ण बनेपछि पर्यटकको पाइला कम पर्न थालेको हो । गत वर्षको बाढीले भत्काएको पूर्वाधार पुननिर्माण नहुँदा त्यसबाट सिर्जित असुरक्षाले झरनामा पर्यटकको आवागमन कम भएको हो ।
साँगुरीगढी गाउँपालिका–६, सिम्सुवामा रहेको नमस्ते झरनासम्म पुग्न प्रयोग हुने सिँढी र पुल बाढीले बगाएपछि पहुँच नै कठिन बनेको छ । स्थानीय तह र समुदायले अस्थायी रूपमा बाँस र काठ प्रयोग गरेर संरचना निर्माण गरे पनि ती दिगो समाधान हुन सकेका छैन् ।
झरनामा पहिलेजस्तो पर्यटकको चहलपहल नभएको नमस्ते झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बाले बताए । ‘पहिले जस्तो पर्यटकको चहलपहल छैन । अझै पनि मानिसहरू डराइरहेका छन्’, उनले भने, ‘माथिबाट बाढी आएर झरनामा जाने अवस्थै छैन, झरना हेर्नलाई आउनेहरु झरनासम्म जानै पाउँदैनन् त किन आउँछन् र ?’

पहिला पहिला झरना संरक्षण तथा सरसफाइ व्यवस्थापन समितिले बहुत हेरचार गरिरहेकोमा अहिले साँगुरीगढी गाउँपालिकाले ठेक्का सिस्टम सुरु गरेको थियो । अहिले ठेक्का नलागेर वार्षिक १० प्रतिशत ओभरहेडले गर्दाखेरि वार्षिक करोड रुपैयाँ पुगिसकेको सुब्बाले बताए । त्यही भएर ४० देखि ५० रुपैयाँसम्म टिकटको पैसा पुगिसेको छ जसले गर्दा महँगो पनि भएको सुब्बाले बताए ।
झरनाको सुनसानपनले स्थानीय अर्थतन्त्रमा समेत असर पारेको छ । नमस्ते गोलाई आसपास सञ्चालनमा रहेका दुई दर्जनभन्दा बढी होटल तथा लजहरूमा पाहुनाको संख्या घटेको छ । ‘पर्यटक घट्दा व्यवसाय सीधै प्रभावित हुन्छ,’ होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बु भने, ‘नमस्ते झरनालाई सुरक्षित र संरक्षित बनाउन झरनाको स्रोतबाट व्यवस्थापन ल्याउनु पर्ने हुन्छ ।’
उनले स्थानीय सरकारले पनि खर्च नगरेको होइन, झरनामा राम्रै खर्च गरेको हो तर अहिले पछिल्लो समयमा खर्च गरेको अनुरूप काम नभएको बताए । झरना र आसपासका विभिन्न पर्यटक गन्तव्यहरूको लागि आउने पर्यटकको लागि झरनाको पछिल्लो अवस्थाले असहज भएको लिम्बुले बताए ।
यद्यपि, स्थानीय सरकार र प्रदेश सरकारले झरनाको पुनर्जीवनका लागि पहल थालेका छन् । झरना व्यवस्थापनका लागि साँगुरीगढी गाउँपालिकाले १० लाख र कोशी प्रदेश सरकारले १५ लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।
गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईका अनुसार झरनालाई पुन: सुरक्षित र आकर्षक बनाउने कामलाई प्राथमिकतामा राखिएको छ । गएको वर्षबाट झरना जाने बाटो छेतविच्छेद भएपछि त्यहाँसम्म आउने पर्यटकहरूलाई पुर्याउनको लागि हामीले अस्थायी भर्याङहरु, अस्थायी पुलहरू बनाएर सहज बनाएको गाउँपालिका अध्यक्ष राइले बताए । स्थायी संरचना बनाउनको लागि ट्रस पुलको आवश्यकता परेको छ । झरना आसपास पर्यटकको सुरक्षाको लागि तारजाली लाउनेदेखि लिएर अस्थायी बाटो निर्माण गर्ने काम गरेको गाउँपालिकाले जनाएको छ ।

स्थाथी पुल बनाउनका लागि ठुलो बजेट आवश्यकता परेको हुँदा प्रदेश सरकारसँग माग गरेको र प्रदेश सरकारबाट केही बजेट विनियोजन भएको जानकारी पाएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । ‘केही समयपछि पूर्वाधार पुनर्निर्माणसँगै दीर्घकालीन पर्यटन प्रवर्द्धन योजना पनि अघि बढाइनेछ’, उनी भन्छन् ।
झरना व्यवस्थापन समितिका पूर्वअध्यक्ष दिलीप सुब्बा भने पुरानो साख फर्काउन व्यवस्थित र सुरक्षित पूर्वाधार अपरिहार्य भएको बताउँछन् । उनका अनुसार दिगो संरचना निर्माणसँगै उचित प्रचारप्रसार र व्यवस्थापनले मात्र नमस्ते झरनालाई फेरि जीवन्त बनाउन सकिन्छ । ‘गएको साल आएको बाढीले झरनालाई अलिक तहसनहस बनाएको अवस्था छ’, उनले भने, ‘त्यसलाई पुनर्निर्माण भइराखेको अवस्था छैन। अब पहिलाकै अनुपातमा पर्यटक ल्याउन ट्रस ब्रिज निर्माण गर्ने र झरनामा पौडी खेल्न बन्द गरिएको छ, पौडी खेल्नुपाउने सुविधा भयो भने पहिलाकै जस्तो चहलपहल हुन्छ ।’
कोशी राजमार्ग अन्तर्गत भेडेटार-सिम्सुवा खण्डको नमस्ते गोलाईबाट करिब एक किलोमिटर पैदल दूरीमा रहेको यो झरना केवल प्राकृतिक सम्पदा मात्र होइन, स्थानीय जीवनयापन वा स्थानीय अर्थतन्त्रको आधार पनि हो । त्यसैले प्राकृतिक सौन्दर्यलाई जोगाउँदै सुरक्षित पहुँच र व्यवस्थित पूर्वाधार निर्माण गर्दै नमस्ते झरनालाई फेरि पुनर्जीवित गर्न सकेमा पुन: पर्यटकको गन्तव्य बनाउनुपर्ने स्थानीयको भनाइ छ ।
झरना र सझरनासम्म पुग्ने बाटोका थप तस्वीरहरु :


प्रतिक्रिया 4