दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगको उपचार पनि सुरु भएको छ । प्रतिष्ठानले दाङमै पहिलोपटक एन्जियोग्राफी कोरोनरी सेवा सुरु गरेको जनाएको छ ।
यो सेवाका लागि फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेति नेतृत्वको टोली छ । डा. उप्रेतिले प्रतिष्ठानमा इन्टरभेन्सनल कार्डियोलोजी सेवा सुरु गर्न सक्षम बनाएको बताए । उनले यस सेवाको सुरुवात कोरोनरी एन्जियोग्राफी तथा आकस्मिक पेरिकार्डियोसेन्टेसिसबाट गरिएको जानकारी दिए ।
‘हामीले प्रतिष्ठानमा मुटु रोगको उपचार सुरु गरेका छौं, मुटुको रक्तनलीलाई हेर्ने विधिभित्र कोरोनरी एन्जियोग्राफी सेवा पर्दछ,’ डा.उप्रेतिले भने, ‘यसबाट मुटुको रक्तनलीमा रोग छ कि छैन भनेर पत्ता लगाउन सहयोग मिल्छ ।’
उनले मुटु उपचारका लागि अरु थप उपकरण आए हर्ट अट्याक भएर आउने बिरामीको एन्जियो प्लास्टिक पनि गर्न सकिने बताए । क्याथेल्याब मेसिन आइसकेकाले मुटुको उपचारमा थप सहज हुने उनले बताए ।
मुटुको इको गर्ने सेवा पनि सन्चालनमा रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया 4