News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबारबाट 'कमेडी नाइट विथ च्याम्पियन्स' च्याप्टर २ को प्रसारण सुरु भएको छ।
- दोस्रो च्याप्टरको ५४ औं एपिसोडमा फिल्म 'मालती मंगले' टोली अतिथि बनेर सहभागी भएको थियो।
- प्रभात लामाले गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङको व्यंग्यात्मक क्यारिकेचर प्रस्तुत गरेका थिए।
काठमाडौं । हाँस्य टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ च्याप्टर २ को प्रसारण सुरु भएको छ । मंगलबार राती प्रसारित एपिसोड हेर्दा दर्शकले नयाँ र भव्य सेट डिजाइनको शैली देख्न पाउँछन् ।
बस्ने सोफादेखि सेटलाई अझै ‘कलरफुल’ तुल्याइएको छ । प्रस्तुतिकरणमा पनि नयाँपन महसुस देख्न सकिन्छ ।
५४ औं एपिसोड अर्थात, दोस्रो च्याप्टरको मंगलबार प्रसारित एपिसोड पनि रोमाञ्चक रह्यो । रामकृष्ण ढकाल, विजय बराल, वर्षा राउतसहित फिल्म ‘मालती मंगले’को टोली अतिथि बनेर शोमा पुगेको थियो ।
शोमा कलाकारले समसामयिक राजनीति, समाज र व्यक्ति जीवनका किस्सामाथि ब्यंग्य गर्दै रमाइलो पस्किए । पवन भट्टराईले फिल्म ‘कबड्डी’को पात्र बिके बनेर दर्शकलाई मनोरञ्जन दिए ।
उक्त फिल्ममा बिके पात्र विजयले निर्वाह गरेका थिए । दर्शकमाझ यो चरित्र लोकप्रिय छँदैछ ।

‘भर्सटाइल एक्टर’ प्रभात लामाले हालै गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङ बनेर व्यंग्य कसे । ‘सुदन गड्याङगुडुङ’ पात्रको रुपमा उनले सुधनको हाउभाउमा चोटिलो प्रहार गरे ।
आफूलाई हरेक पात्रमा उभ्याउन सक्ने क्षमता बोकेका प्रभातको पछिल्लो एपिसोडको प्रस्तुति दमदार देखिन्थ्यो । पछिल्लो समय राष्ट्रिय राजनीतिमा एकाएक उदाएका सुधनको यो क्यारिकेचर मनोरञ्जनक र उत्तिकै अर्थपूर्ण पनि देखिन्थ्यो ।
पछिल्लो एपिसोडमा घरबेटी बाको रोलमा भरतमणी पौड्याल, सुमन कोइराला माइकल, कैलाश कार्की जड्याहाँको भूमिकामा देखिएका थिए । ‘मालती मंगले’ अभिनेता बनेका मेक्सम गौडेल अतिथि बनेर बसेका थिए ।
कर्मासिंह लामा चाहिँ शकुन्तला र पूर्वप्रधानमन्त्री सुशीला कार्कीको भूमिकामा प्रस्तुत भए । पछिल्लो समय कर्माले विविध चरित्रमार्फत दर्शकको मन जितिरहेका छन् ।
‘कमेडी नाइट विथ च्याम्पियन्स’ हिमालय टिभीबाट हरेक मंगलबार राती ९ बजे प्रसारण हुन्छ ।


प्रतिक्रिया 4