+
+
Shares

वित्तीय प्रणालीको सवा १ खर्ब अधिक तरलता खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले ९७ दिने अवधिको निक्षेप संकलन उपकरणमार्फत वित्तीय प्रणालीबाट एक खर्ब २० अर्ब रुपैयाँ खिच्ने भएको छ।
  • बुधबार ४० अर्ब रुपैयाँ ४९ दिनका लागि खिचेपछि बिहीबार बढी रकम र समयका लागि निक्षेप संकलन उपकरण जारी गर्न लागेको छ।
  • केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन र स्थायी निक्षेप सुविधा प्रयोग गर्ने र हाल बैंक दर ६ र स्थायी निक्षेप दर २.७५ प्रतिशत रहेको छ।

१७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट एक खर्ब २० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले ९७ दिने अवधिको निक्षेप संकलन उपकरण मार्फत सो रकम खिच्न लागेको हो ।

बुधबार मात्रै ४९ दिनका लागि ४० अर्ब रुपैयाँ खिचेको केन्द्रीय बैंकले बिहीबार त्यो भन्दा धेरै रकम तथा बढी समय अवधिको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो ।  बैंकका अनुसार बिहीबारसम्ममा वित्तीय प्रणालीमा करिब ५५ अर्ब तरलता रहेको छ ।

तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा विगतमा राखेको पैसा परिपक्व हुने भएपछि त्यसलाई फेरि खिच्नका लागि निक्षेप संकलन उपकरण जारी भएको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् ।

निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँड गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?