+
+
Shares

काभ्रेमा चण्डेश्वरी जात्रा शुरू  

कपिल कोइराला कपिल कोइराला
२०८३ वैशाख १८ गते १२:१८
जात्राको पहिलो दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको बनेपामा आजबाट तीन दिनसम्म चण्डेश्वरी जात्रा सुरु भएको छ।
  • जात्राको पहिलो दिन बिहान मत पूजा (चिराग यात्रा) गरी जलेश्वर महादेवसम्म विसर्जन गरिन्छ।
  • जात्रामा नेवार समुदायका घरमा भोज र भव्य पूजाआजा गरिन्छ, र रथ तान्ने र घचेट्ने परम्परा चल्छ।

१८ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा आजबाट चण्डेश्वरी जात्रा शुरु भएको छ । प्रत्येक वर्ष यहाँका बासिन्दाले चण्डेश्वरी जात्रा मनाउने गर्दछन् । बनेपा सात गाउँमा हरेक वर्ष चण्डी पूर्णिमादेखि तीन दिनसम्म जात्रा मनाउने गरिन्छ ।

जात्राको पहिलो दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ ।

धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा)सम्म पुगेर विसर्जन गर्ने प्रचलन छ ।

शुक्रबार बिहानको पूजापछि बनेपालीले तीन दिनसम्म यो जात्रा भव्यरुपमा मनाउँछन् । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज गरिन्छ ।

जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । विशेषगरी पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरबार (खड्ग)सँगै जात्रामा सरकारको तर्फबाट समेत पूजा गर्ने परम्परा छ । बुढापाकाले टोलटोलमा बसी भजन गाउँछन् । सडक, गल्लीमा भीड हुन्छ ।

जात्रा शुरू भएकै दिन बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेँडा बली दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित युवाहरुले बोकेर चण्डेश्वरी पुर्‍याउने प्रचलन छ ।

रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरुलाई साहस थपिदिने काम पनि हुन्छ । हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बिराजमान चण्डेश्वरीलाई चढाउने गरिन्छ ।

पूर्णिमाको भोलिपल्ट देवी सहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर पुन: बनेपाको बकुटोलतर्फ ल्याउने गरिन्छ । बकुटोललाई चण्डेश्वरीले दैत्यराज चण्डासुरको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ । त्यहाँ रथ पुर्याउने र भव्य स्वागत सत्कारकासाथ बलीसहित पूजाआजा गर्ने परम्परा छ ।

त्यसपछि खटलाई प्राचीन लायकू दरबारसम्म पुर्‍याइन्छ । त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुन: बकुटोलमै ल्याउने गरिन्छ । मूर्तिलाई सानो खटमा राखेर पुन: चण्डेश्वरीमा पुर्‍याएपछि जात्रा सकिने गर्छ ।

शक्तिकी देवी मानिएकी चण्डेश्वरी देवीको पूजा गर्न टाढादेखि भक्तजन आउने गर्दछन् । जात्रामा सामेल हुन पाउँदा ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् ।

चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहक लगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वकासाथ लिने गरिएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?