News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारले जनताको संवैधानिक अधिकार खोस्न लागेको आरोप लगाए।
- उनले सुकुमवासी समस्यामा वैकल्पिक व्यवस्था नगरी दमन गरेको र ट्रेड युनियन अधिकारमाथि अङ्कुश लगाउन खोजेकोमा आपत्ति जनाए।
- नेपालले भूराजनीतिक संवेदनशीलतामा असंलग्न परराष्ट्र नीति आवश्यक ठहर गर्दै राष्ट्रिय स्वाभिमानको रक्षाका लागि सचेत हुन आग्रह गरे।
१८ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनताको संवैधानिक अधिकार खोस्न लागेको आरोप लगाएका छन् ।
मजदुर आन्दोलनको इतिहास र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै नेता नेपालले सरकारका पछिल्ला कदमहरू जनविरोधी र मजदुर विरोधी देखिएको टिप्पणी गरेका हुन् ।
उनले कार्ल मार्क्सको ‘विश्वका श्रमजीवीहरू एक होऔँ’ भन्ने उद्घोषलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
वर्तमान सरकार गठन भएको १०० दिन पनि पूरा नहुँदै गलत लक्षणहरू देखिएको नेता नेपालको दाबी छ ।
सरकारले सुकुमवासी समस्याको उचित विकल्प नखोजिकन दमन गरेको, ट्रेड युनियन अधिकारमाथि अङ्कुश लगाउन खोजेको र अध्यादेशमार्फत शासन गर्न खोजेकोमा उनले आपत्ति जनाए ।
उनले भने, ‘देश बनाउने चाहना छ भने त्यो सबैको साझा हुनुपर्छ । तथ्यांक नलिई र वैकल्पिक व्यवस्था नगरी सुकुमवासीलाई हटाउने कार्य जायज छैन । सरकारले आफ्ना कदमहरू नसच्याए मजदुर वर्गले पुनः सङ्घर्षको नेतृत्व गर्नेछ ।’
नेपालको भूराजनीतिक अवस्था संवेदनशील रहेको उल्लेख गर्दै नेता नेपालले असंलग्न परराष्ट्र नीतिको महत्त्वमाथि प्रकाश पारे ।
‘हामी दुई ठुला छिमेकीको बीचमा छौँ । हामी कुनै पनि सैन्य गठबन्धनमा सामेल हुन सक्दैनौँ र कसैको ‘पुच्छर’ पनि बन्न सक्दैनौँ,’ उनले भने ।
उनले राष्ट्रिय स्वाभिमानको रक्षाका लागि सबै सचेत हुनुपर्ने बताए ।
प्रतिकूल राजनीतिक अवस्थामा पनि निराश नहुन उनले आग्रह गरे ।
उनले भने, ‘हारपछि जित अवश्य हुन्छ । मजदुर वर्गले समाजका सबै तहका समस्या बुझेर परिवर्तनको नेतृत्व गर्नुपर्छ ।’
देशमा बढ्दो बेरोजगारी र युवाहरूको पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।
प्रतिक्रिया 4