News Summary
Generated by OK AI. Editorially reviewed.- लिस्वनस्थित नेपाली राजदूतावासले २० अप्रिल २०२६ बाट पोर्चुगिज र अन्य देशका नागरिकलाई नेपाल जाने भिसा सेवा सुरु गरेको छ।
- पोर्चुगलको विदेश राज्यमन्त्री डा. आना इसाबेल जेभियरले लिस्वनबाट नेपाल जाने पहिलो भिसा लिएकी छिन्।
- राजदूतावासले १५ दिनदेखि ९० दिनसम्मको भिसा उपलब्ध गराउँदै आएको र शुल्क विवरण पनि सार्वजनिक गरेको छ।
१८ वैशाख, लिस्वन । नेपाल जाने पोर्चुगिज तथा अन्य देशका नागरिकका लागि लिस्वनस्थित नेपाली राजदूतावासबाट भिसा जारी हुन थालेको छ । २० अप्रिल २०२६ बाट भिसा सेवा सुरु भएको हो ।
यो १० दिनको अवधिमा ६ जना पोर्चुगिज नागरिकले नेपाल जाने भिसा लिएको राजदूत प्रकाशमणि पौडेलले बताए । उनका अनुसार लिस्वनस्थित नेपाली राजदूतावासबाटै भिसा लिएर नेपाल जानेमा पोर्चुगलको विदेश राज्यमन्त्री (विदेश मामिला तथा सहयोग राज्य सचिव) डा. आना इसाबेल जेभियर पहिलो भएकी छिन् ।
नेपाल सरकारको औपचारिक निमन्त्रणमा उनी २९ अप्रिल २०२६ देखि तीन दिनका लागि काठमाडौंमा छिन् । हालसम्म भिसा लिने ६ जनामा राज्यमन्त्री डा. जेभियर बाहेक अन्य पोर्चुगिज नागरिक ३ जना र नेपाली मूलका पोर्चुगिज नागरिक २ जना छन् ।
यहाँ रहेको नेपाली राजदूतावासले भिसा सेवा सुरु गरेसँगै अब नेपाल जान चाहने भारत बाहेकका अन्य देशका नागरिकलाई थप सहज भएको छ । भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न भिसा आवश्यक पर्दैन । यो सेवाबाट नेपाली नागरिकता परित्याग गरी अन्य देशको नागरिकता लिएका नेपाली मूलका विदेशी नागरिक र युरोपियन नागरिकलाई प्रत्यक्ष फाइदा मिल्नेछ ।
राजदूतावासका प्रथम सचिव रामबाबु नेपालका अनुसार नेपाल जान चाहनेले प्रयोजन खुलाएर अनलाइन भिसा आवेदन दिन सक्ने बताएका छन् । ‘यहाँका नागरिकका लागि नेपालमा अराइभल भिसा उपलब्ध छ, तर उता पुगेपछि आवश्यक कागजात जुटाउने र अध्यागमनमा लाग्ने समय कम गर्न यहींबाट भिसा लिन सकिन्छ,’ नेपालले अनलाइनखबरसँग भने ।
पोर्चुगलमा ५९ हजार नेपाली रहेको यहाँको सरकारी तथ्याङ्क छ । तर ७५ हजारभन्दा बढी नेपाली यहाँ रहेको अनुमान छ । जसमा अस्थायी र स्थायी आवास अनुमति लिएर बसोबास गर्दै आएका नेपालीदेखि नेपाली नागरिकता परित्याग गरी पोर्चुगिज नागरिकता लिएकाहरू पर्छन् । हालसम्म कति नेपालीले यहाँको नागरिकता लिएर भन्ने प्रष्ट तथ्याङ्क भने छैन ।
नागरिकता परित्याग गरिसकेका नेपालीले देश फर्कंदा भिसा लिनुपर्ने हुन्छ । त्यसका लागि त्रिभुवन विमानस्थलको अध्यागमनमा गर्नुपर्ने कागजी प्रक्रिया अब राजदूतावासबाटै हुने भएको छ । भिसा सेवा भर्खरै सुरु भएकोले नेपाली मूलका विदेशी नागरिकबीचमा कम जानकारी पुगेको बताउँदै उनले नेपाल जाँदा भिसा यहींबाट लिएर जान अनुरोध गरेका छन् ।
दूतावासले १५ दिनदेखि बढीमा ९० दिनसम्मको भिसा उपलब्ध गराउँदै आएको छ । जसमा १५ दिनको शुल्क करिब ५ हजार ३०० रुपैयाँ (३० युरो), ३० दिनको करिब ८ हजार ८०० (५० युरो) र ९० दिनको करिब २२ हजार रुपैयाँ (१२५ युरो) रहेको छ ।
राजदूतावासले भिसाको आवेदन अनलाइन वा हुलाकबाट लिने गरेको भए पनि शुल्क भने नगदै लिने गरेको प्रथम सचिव नेपालले बताए । अमेरिकी नागरिक बाहेकका १० वर्ष मुनिका सबै बालबालिका, गैरआवासीय नेपाली पुष्टि हुने परिचयपत्र भएको नेपाली मूलका विदेशी नागरिक र चीनका नागरिकहरूलाई भने भिसा नि:शुल्क रहेको छ । त्यस्तै अफगानिस्तान बाहेकको सार्क मुलकका नागरिकलाई पहिलो ३० दिनको भिसामा पनि शुल्क लाग्ने छैन ।
नेपालले १२ वटा मुलुकका नागरिकलाई भने ‘अराइभल भिसा’ उपलब्ध गराउँदैन । जसमा नाइजेरिया, घाना, जिम्बावे, क्यामरुन, स्वाजिल्यान्ड, सोमालिया, लाइबेरिया, इराक, इथियोपिया, प्यालेस्टाइन, सिरिया र अफगानिस्तान रहेका छन् ।
प्रतिक्रिया 4