+
+
Shares

रास्वपासँग स्पष्ट बहुमत छ, तर खतरनाक भ्रममा छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस सभापति गगनकुमार थापाले सरकारसँग स्पष्ट बहुमत भए पनि खतरनाक भ्रममा रहेको टिप्पणी गर्नुभएको छ।
  • थापाले लोकतन्त्रमा 'रुल अफ ल' र 'रुल बाइ ल' दुई फरक कुरा भएको र कानुनको शासन अपेक्षित हुने बताउनुभयो।
  • उनले कांग्रेसलाई आगामी पाँच वर्ष सभ्य र विनम्र भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने म्यान्डेट दिएको उल्लेख गर्नुभयो।

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारसँग स्पष्ट बहुमत भए पनि खतरनाक भ्रममा रहेको टिप्पणी गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘यो सरकारसँग स्पष्ट बहुमत छ । तर, एउटा खतरनाक भ्रममा छ । डेमोक्रेसीमा रुल अफ ल र रुल बाइ ल दुईवटा फन्डामेन्टली फरक कुरा हुन्,’ सभापति थापाले भने, ‘कानुनको शासन र कानुनले शासन । झवाट्ट सुन्दै गर्दा एउटै लाग्छ । सुन्ने पनि झुक्किन्छ, सरकार पनि झुक्किन्छ । तर, यो फरक कुरा हो ।’

उनले लोकतन्त्रमा ‘रुल अफ ल’ अपेक्षित र वाञ्छिनीय हुने पनि बताए । ‘डेमोक्रेसीमा अपेक्षित के हुन्छ, वाञ्छिनीय के हुन्छ, रुल अफ ल । कानुनको शासन । यसले के भन्छ सरकार कानुनको सेवक हो,’ थापाले भने, ‘रुल बाइ लले के भन्छ सरकारका निम्ति कानुन एउटा लाठी हो । डण्डा हो, जतिखेर मन लाग्यो, तयतिखेर जसको टाउकोमा हिर्काए पनि हुन्छ ।’

सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पाँच वर्ष सरकार चलाउने म्यान्डेट दिएजस्तै कांग्रेसलाई पनि जनताले पाँच वर्षका लागि प्रतिपक्षको भूमिका निर्वाह गर्ने म्यान्डेट दिएको बताए ।

‘रास्वपालाई ५ वर्षका निम्ति सरकार चलाउने म्यान्डेट दिएको छ । हामी चाहन्छौं उहाँहरूले प्राप्त गरेको म्यान्डेटअनुसार ठीक ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुहोस्,’ उनले भने, ‘तर, यही इलेक्सनले नेपाली कांग्रेस पार्टीलाई संघीय तहमा पाँच वर्षको निम्ति प्रतिपक्षको भूमिका निर्वाह गर्ने म्यान्डडेड दिएको छ ।’

सभापति थापाले प्रतिपक्षको पनि आफ्नो जिम्मेवारी रहेको बताए । लोकतन्त्रमा प्रतिपक्षले ठीक ढंगले भूमिका निर्वाह गर्न नसके सरकारको काम जवाफदेहीतासहितको परिणाम पुर्‍याउने ठाउँमा लैजान नसकिने उनको भनाइ थियो ।

‘डेमोक्रेसीमा प्रतिपक्षले ठीक ढंगले भूमिका निर्वाह गर्न सकेन भने सरकारको काम जवाफदेहीता सहितको परिणाम पुर्‍याउने ठाउँमा लैजान सकिँदैन,’ थापाले भने, ‘यसको काम प्रश्न गर्ने हो, खबरदारी गर्ने हो, आवश्यकता परेको बेलामा प्रतिवाद र प्रतिरोध गर्ने हो । विकल्प सुझाउने काम पनि हो ।’

उनले आगामी पाँच वर्षसम्म कांग्रेसले सभ्य र विनम्र भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । सभापति थापाले कांग्रेसको विन्रमतालाई सरकारले कमजोरी ठान्न नहुने पनि बताए ।

‘पाँच वर्षको निम्ति म्यान्डेडअनुसार काम गर्नुपर्ने छ । हामी सभ्य भएर, विनम्र भएर नै प्रश्न गर्छौं । हामी खबरदारी पनि गर्छौं । हामी विकल्प पनि सुझाउँछौं,’ थापाले भने, ‘सरकारलाई यो पनि अनुरोध गर्छौं, हाम्रो विन्रमतालाई कमजोरी नठानियोस् । हामी नम्र छौं तर, कमजोर छैनौं । हामी दृढ छौं । हामी सहयोगी छौं । हामी सबै ठाउँमा अप्ठ्यारो पार्न आउँदैनौं । तर, हाम्रो जायज आवाज सुनिनुपर्छ भनने कुरामा त्यत्तिकै प्रष्ट छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?