News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा सम्पन्न रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय र्यापिड र दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतियोगितामा क्षितिज भण्डारी र कृतिसरा अधिकारी विजेता बनेका छन्।
- क्षितिज भण्डारीले र्यापिडमा ८.५ अंक र ब्लिट्जमा पूर्ण ९ अंक जोड्दै व्यक्तिगत रेटिङमा उल्लेखनीय वृद्धि गरेका छन्।
- महिला राष्ट्रिय र्यापिड विजेता कृतिसरा अधिकारीले ६ अंक जोड्दै १९१० रेटिङ बराबरको खेल पर्फम गरेकी छन्।
१८ वैशाख, काठमाडौं । काठमाडौंमा सम्पन्न रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय र्यापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुवै विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी र कृतिसरा अधिकारी विजयी बनेका छन् ।
राष्ट्रिय प्रतियोगिताको र्यापिड खेलमा २१३६ रेटेड खेलाडी क्षितिज भण्डारीले ९ चरण स्पर्धामा ८.५ अंक जोडेर उपाधि आफ्नो नाम गरेका छन् । भण्डारीले व्यक्तिगत ३१.४ रेटिङ वृद्धि गर्दै २३६० को रेटिङ पर्फमेन्स गर्न सफल रहे ।
यस्तै ब्लिट्ज विधामा पनि मकवानपुरका क्षितिज भण्डारीले पूर्ण ९ अंक जोडेर राष्ट्रिय विजेता बनेका छन् । शीर्ष २२३३ रेटेड खेलाडी भण्डारीले व्यक्तिगत २६ रेटिङ बढाउदै २६५१ रेटिङको सर्वोत्कृष्ट खेल पर्फम गरेका छन् ।
महिला राष्ट्रिय र्यापिड तर्फ १७५९ रेटेड कृतिसरा अधिकारीले एकल ६ अंक जोडेर राष्ट्रिय विजेता बनिन् । झापाकी कृतिसराले व्यक्तिगत २१.८ रेटिङ वृद्धि गर्दै १९१० रेटिङ बराबरको खेल पर्फम गरेकी छन् ।
चौथो वरियताकी १६६७ रेटेड कृतिसराले ब्लिट्ज विधा तर्फ ६.५ अंक बनाउदै व्यक्तिगत ४० रेटिङ सुधार गरेकी छन् । उनले ७ चरणको स्पर्धामा २०१० रेटिङ पर्फम गर्न भ्याइन् ।
यससँगै राष्ट्रिय विजेता भण्डारीले नगद रु. ५० हजार पुरस्कार प्राप्त गरेका छन् भने महिला विजेता अधिकारीले नगद रु. १५ हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
यसैगरी र्यापिड खेलमा दोलखाका २११३ रेटेड खेलाडी आशिष् फूँयालले एकल ८ अंक बनाउदै द्वितीय स्थान हासिल गर्न सफल बनेका छन् । आशिषले नगद रु. २५ हजार पुरस्कार ग्रहण गरेका छन् ।
यस्तै झापाका १९९७ रेटेड पूर्व नेपाल च्याम्पियन राजन सुवेदी ७ अंक उत्कृष्ट ४९ प्रोग्रेसिभ प्वाइन्टका आधारमा तृतीय स्थान ओगटेका छन् । राजनले नगद रु. १५ हजार प्राप्त गरे ।
यता राष्ट्रिय ब्लिट्जमा ललितपुरका १९५७ रेटेड खेलाडी सुरोज महर्जनले ७.५ अंक उत्कृष्ट ४७.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा द्वितीय स्थान ओगट्दै नगद रु. १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै दोलखाका १६८१ रेटेड खेलाडी कविन्द्र सिवाकोटीले समान ७.५ अंक जोडेर तृतीय स्थानमा रहँदै नगद रु. ८ हजार हात पार्न सफल बनेका छन् ।
राष्ट्रिय चेस प्रतियोगितामा विभिन्न जिल्लावाट १८० जना खेलाडी सहभागी भएका मध्ये ५३ जनाले विभिन्न विधामा कूल नगद रु. ३ लाख पुरस्कार प्राप्त गरेका छन् ।
र्यापिड खेलमा रु. २ लाख तथा ब्लिट्ज तर्फ नगद रु. १ लाख पुरस्कार प्रदान गरिएको थियो ।
शुक्रबार क्षेत्रपाटी क्लबले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यवाहक मेयर डंगोलले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै बुद्धिचाल खेललाई माइन्ड गेम (बौद्धिक खेल)को संज्ञा दिनुका साथै काठमाडौं महानगरपालिकाले खेल प्रवर्द्धनमा टेवा पुर्याउने उदघोष गरेका छन् ।
क्लबका अध्यक्ष गोपाल मालीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा हाँस्य कलाकार हरिवंश आचार्य, काठमाडौं महानगरपालिका-१७ का वडाध्यक्ष नवीन मानन्धर, बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया 4