+

कहाँ हराए त्रिवि क्रिकेट मैदान पुग्ने दर्शक ?

२०८३ वैशाख  १९ गते १६:१२ २०८३ वैशाख १९ गते १६:१२

टिकट पाउन हम्मेहम्मे पर्ने अन्तर्राष्ट्रिय खेलमा अहिले भने खेलाडीहरूले नै ‘खेल हेर्नु आइदिनुस्’ भनेर गुहार माग्नुपर्ने स्थिति सिर्जना भएको छ ।

कहाँ हराए त्रिवि क्रिकेट मैदान पुग्ने दर्शक ?

१८ वैशाख, काठमाडौं । ‘अमेरिका खेल्न गयौं, भारत खेल्न गयौं । त्यहाँ पनि नेपाली दर्शक थिए । तर, नेपालमा छैनन् । त्यो चाहिँ एकदमै दुख लाग्दो कुरा हो,’ यो शुक्रबार युएईसँगको खेलपछि नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले गरेको गुनासो हो ।

त्रिवि क्रिकेट मैदानमा हाल आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, यूएई र ओमानबीचको सिरिज चलिरहेको छ । तर, सोचेअनुसार दर्शक नआएपछि दीपेन्द्रले यस्तो गुनासो गरेका हुन् ।

शुक्रबार सार्वजनिक बिदा पनि थियो । नेपालकै खेल भएकाले पनि धेरै दर्शक खेल हेर्न मैदान पुग्ने अपेक्षा धेरैको थियो । उक्त अपेक्षा नेपालका उपकप्तान ऐरीसहितका खेलाडीहरूले पनि गरेका थिए ।

तर, अपेक्षाअनुसार दर्शक मैदान पुगेनन् । नेपालको खेलको बेला चौर भरिने त्रिवि क्रिकेट मैदानमा प्यारापिट बनेपछि भएको अन्तर्राट्रिय खेलमा भने अधिकांश रित्तै हुनपुगे ।

‘पहिला दर्शक आउनुहुन्थ्यो । अहिले टी–२० खेलमा पनि आउनुभएन, लिग–२ मा पनि आएनन् । खै के भाको हो थाहा छैन । हामी खेलाडीहरूलाई दर्शक आउनुहुन्छ भन्ने अपेक्षा थियो । दर्शक भयो भने एकदमै सपोर्ट हुन्छ’, दीपेन्द्र खेलपछि थप सुनिए ।

नेपाली समर्थक नेपालको खेल विश्वकपका जुनसुकै ठाउँमा भएपनि समर्थन गर्न पुग्छन् । तर, घरेलु मैदानमा भइरहेको पछिल्ला खेलहरूमा भने दर्शकको उपस्थिति खासै हुने सकेको छैन । जसका कारण खेलाडीहरूले नै दर्शकलाई मैदानमा आउन आग्रह गर्नुपरेको छ ।

२०८० वैशाख १८ गते अर्थात तीन वर्षअघि शुक्रबारकै दिन चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र यूएई भिडिरहेका थिए । मैदानमा वर्षा भइरहेको थियो । उक्त खेल एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेल थियो ।

वर्षा हु्ँदा पटकपटक खेल स्थगित हुन पुग्यो । तर, नेपाललाई समर्थन गर्न आएका दर्शक डगमगाएनन् । छाता ओढेर धैर्यतापूर्वक नेपाललाई समर्थन गर्न मैदानमा बसिरहे । वर्षा भइरहे पनि खेलकै प्रतिक्षामा समर्थकले मैदान छाडेनन् । फाइनल दुई दिन हुँदा दुई दिन नै समर्थक त्रिवि मैदानमा पुगे । नेपाललाई जिताएरै मैदानबाट फर्किए । छाता ओढेर नेपाललाई समर्थन गरेको उक्त फोटोले विश्व क्रिकेटमा निकै चर्चा पायो । तर, त्यसको तीन वर्षपछि शुक्रबार भएको खेलमा भने समर्थकको उपस्थिति निकै कमजोर रह्यो ।

तीन वर्षअघि त्रिवि क्रिकेट मैदानमा ओइरिएका दर्शक, जो पानी परिरहँदा पनि मैदान छाडेका थिएनन् ।

कतिपय विपक्षी टोली र प्रतियोगिताका कारण पनि पर्याप्त मात्रामा दर्शक मैदानसम्म नपुगेको बताउँछन् । हाल नेपालले खेलिरहेको यूएई र ओमान पछिल्लो समयका प्रतिष्पर्धी हुन् । नेपालले अधिकांश प्रतियोगितामा उनीहरूसँग नै खेल्दै आएको छ ।

हरेक पटक एउटै विपक्षी टोलीसँगको खेलले पनि समर्थकलाई मैदानसम्म नतानेको हुनसक्ने राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल बताउँछन् । ‘लिग–२ को लिग म्याचका कारण पनि दर्शकलाई तानिनहालेको पनि हुन सक्ला,’ उनी भन्छन्, ‘टिकट बढी हुँदा पनि दर्शक कम भएको हुनसक्छ । मेरो विचारमा टिकट पनि महँगो भएको जस्तो लाग्छ ।’ आर्थिक मन्दी, विभिन्न परीक्षाका कारण पनि मैदान पुग्ने दर्शकको संख्या कम हुनसक्ने ज्ञानेन्द्रको बुझाइ छ ।

समर्थककै सपोर्टका कारण नेपालले धेरै पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट अवार्ड जितिसकेको छ ।

राष्ट्रिय टोलीका अनुभवी खेलाडी सोमपाल कामी समर्थककै कारण यहाँसम्म पुगेको भन्दै खेल हेर्न आउन आग्रह गर्छन् । ‘पहिला पनि आउनुहुन्थ्यो । जतिबेला स्टेडियम बनेको थिएन । अहिले स्टेडियम पनि बनेको छ । फ्यानहरूलाई त्यही भन्छु कि आइदिनु । जति माया गर्नुछ, गर्नु । हजुरहरूले गर्दा नै गर्दा नै यहाँसम्म पुगेको हो’, उनी भन्छन् ।

नेपाली क्रिकेट समर्थक समाजका (एनसीएसएस)का अध्यक्ष अच्युत पाण्डे समर्थकको उपस्थितिलाई खेलको महत्त्वले पनि फरक पार्ने बताउँछन् । ‘हाम्रो क्रिकेटमा जति चार्म छ नेपालमा । त्यो किसिमको दर्शक अहिलेको सिरिजहरूमा देखिएन,’ उनी भन्छन्, ‘त्यो खेलको जितले कत्तिको प्रभाव पार्छ भन्ने कुराहरूसँग पनि अलिकति दर्शकको उत्साह जोडिएको हुन्छ ।’  अहिलेको सिरिजमा जितेर के प्राप्त हुन्छ ? भन्ने कुरामा समर्थकको माइन्ड त्यति फोकस हुननसकेको उनले बताए ।

मौसमले पनि समर्थकको उपस्थितिमा प्रभाव पारेको पाण्डे बताउँछन् । ‘एनपीएलमा अन्तर्राष्ट्रिय खेलाडी र ठूलो प्रचारप्रसार भएकाले दर्शकहरू त्यसमा बढी केन्द्रित थिए । त्यसपछिको यो श्रृंखला अली खल्लो महसुस भएको हुनसक्छ,’ उनी भन्छन् ।

यसपटक रित्ता कुर्सीहरू

दर्शकको संख्या कम भएकोप्रति नेपाल क्रिकेट संघ (क्यान) जानकार छ  । क्यानका प्रवक्ता छुम्बी लामा दर्शकको संख्या विगतभन्दा कम नै रहेको स्वीकार गर्छन् । ‘दर्शक आउनु त पर्ने हो । क्रिकेटलाई जुन हिसाबले माया गर्नुहुन्छ । अहिले पालि चाहिँ त्यस्तो देखिएको छैन,’ उनी भन्छन् ।

क्रिकेटले जुन हिसाबमा फड्को मारेको छ । त्यसकारण ठूला क्रिकेटिङ देशहरूसँग खेलोस् भन्ने अपेक्षा रहेको उनी बताउँछन् ।

लिग–२ अघि नेपालले यूएईसँग दुई खेलको टी–२०आई सिरिज खेलेको थियो । लिग–२ को माहोल बनाउने उद्देश्यले गरिएको उक्त सिरिजमा क्यानले बाक्लो मात्रामा दर्शक उपस्थित हुने अपेक्षा गरेको थियो । जसका लागि क्यानले साँझकालिन खेल आयोजना गरेको थियो ।

यसअघिका टी–२० आई खेलहरूमा टिकट पाउन हम्मेहम्मे हुन्थ्यो । तर, यसपटकको सिरिजमा भने उल्लेखनीय रुपमा समर्थक मैदानमा पुगेनन् ।

कतिपयले टिकट शुल्कसमेत बढी भएका कारण दर्शकको संख्यामा कमी आएको बताउँछन् । यूएईसँगको टी–२० आई सिरिजका लागि ७५० रुपैयाँ कायम गरिएको थियो । लिग–२ का खेलका लागि ४०० तोकिएको छ । टिकट काटेर मैदान पुग्नेको संख्या न्यून छ ।

दर्शक थोरै आएको भन्नेबारेमा क्यानमा समीक्षा हुने प्रवक्ता लामा बताउँछन् । उनी भन्छन्, ‘विगतमा ५०० रुपैयाँ तिरेर हेरिराखेकै हो । अहिले व्यवस्थित ढंगले अन्तर्राष्ट्रिय मैदान छ । टिकट बढी भएन त भन्दैनौं । यसबाट नेपाली दर्शकले कति तिर्न सक्नुहुन्छ भन्ने सिकाई पनि भयो । त्यसलाई क्यानले छलफलको माध्यमबाट अगाडि बढाउछ ।’

त्रिवि क्रिकेट मैदान नेपाली क्रकेट नेपाली क्रिकेट समर्थक
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय