News Summary
Generated by OK AI. Editorially reviewed.- जोन चाम्लिङ राईले भोलि साँझ इलामको जसबीरे खेल मैदानमा सांगीतिक कार्यक्रम गर्नेछन्।
के तपाईं जोन राईको प्रसंशक हुनुहुन्छ ? उनका गीतहरूमा झुम्न रुचाउनुहुन्छ ? एक सांगीतिक माहौलमा रमाउन चाहनुहुन्छ ? त्यसो हो भने तपाईंको प्रतीक्षाको घडी नजिकिदैछ । भोलि साँझ जोन एन्ड दि लोकल्स गुञ्जदैछ, इलामको जसबीरेमा ।
जसबीरे खेल मैदानमा साँझ ४ बजेदेखि सुरु हुने कार्यक्रममा जोन चाम्लिङ राईले आफ्नो प्रस्तुति दिनेछन् । उनले आफ्ना नयाँ पुराना गीतहरू सुनाउनेछन् । हावा जस्तै…, भनन मात्र.., मुटुदेखि.., समयले.., साधना… । यी गीतहरू उनले निरन्तर गाउनेछन् । कार्यक्रममा जोन राईलाई उनका टिमले बाद्यवादनमा सघाउनेछ ।
पूर्वी इलाममा पहिलो पटक जोन प्रस्तुत हुने भएका हुन् । अहिलेका सर्वाधिक सुनिने सांगीतिक समूह हुन् जोन राई । यो कार्यक्रमको मेलोमेसो हेलिबोध क्लब, बिब्ल्याँटेले गरेको हो । फुटबललगायत विभिन्न सांस्कृतिक, सांगीतिक कार्यक्रम गर्दै आएको हेलिबोधले यसपटक जोन एन्ड दि लोकल्स प्रस्तुत गर्न लागेको हो ।
क्लबका अध्यक्ष पूर्ण फत्र लिम्बुका अनुसार उनलाई सुन्न र हेर्नका लागि हजारौं दर्शक उत्सुक छन् ।
‘हामीले यसअघि पूर्ण राई, इन्दिरा जोशी, राजेशपायल राईलगायतको सांगीतिक कार्यक्रम गरिसकेका छौं । यसपाली जोनलाई पहिलो पटक ल्याउन लागेको हो’ उनी भन्छन् ।
हेलिबोधले खेलकुद र सांगीतिक कार्यक्रममार्फत स्थानीय क्षेत्रमा मनोरञ्जन दिलाउने र पर्यटन प्रवर्धन गर्दै आएको उनले बताए ।
कार्यक्रम हेर्नका लागि टिकट दर ८०० देखि १५०० रुपैयाँसम्म तोकिएको छ । आयोजकका अनुसार यो कार्यक्रमका लागि ३५ लाख हराहारी खर्च तय गरिएको छ ।
प्रतिक्रिया 4