+

प्रथम महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई, टाइब्रेकरमा आर्मी पराजित

२०८३ वैशाख  २० गते १९:५९ २०८३ वैशाख २० गते १९:५९
प्रथम महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई, टाइब्रेकरमा आर्मी पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४ ले हराउँदै उपाधि जितेको छ।
  • पुलिसले उपाधिसँगै ५ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आर्मीले ३ लाख रुपैयाँ पाएको छ।
  • निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो र पुलिसकी समिक्षा घिमिरे प्लेयर अफ दि म्याच घोषित भएकी छिन्।

२० वैशाख, काठमाडौं । नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको उपाधि जितेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा भएको प्रतियोगिताको फाइनल खेलमा १० खेलाडीमा सीमित त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४ ले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

पोखरामै पहिलो पटक भएको महिला गोल्डकपको उपाधिसँगै पुलिसले ५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता आर्मीले ३ लाख रुपैयाँ प्राप्त गरेको छ ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएको थियो । पहिलो हाफमै १० खेलाडीमा सीमित आर्मीले पुलिसलाई निर्धारित समयसम्म गोलरहित बराबरीमै रोक्यो ।

पहिलो हाफको २७औं मिनेटमै आर्मी १० खेलाडीमा सिमित भएको थियो । पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकी डिफेन्डर विमला विकले डीबक्स नजिक लडाएपछि रातो कार्ड पाएकी थिइन् ।

३७औं मिनेटमा आर्मीको अवसरमा पुलिसकी समीक्षा घिमिरे बाधक बनिन् । हिमा चौधरीले गरेको क्रस गोललाइन नजिकबाट समिक्षाले क्लियर गरिन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

६३औं मिनेटमा रेखा पौडेलको प्रहारलाई आर्मीकी गोलरक्षक कोपिला खड्काले उत्कृष्ट बचाउ गर्दा रिबाउन्ड बलमा अनुस्का शेर्पाको प्रहारपनि उनले बचाइन । ६९औं मिनेटमा रेखाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो ।

७५औं मिनेटमा रेखाको कर्नरमा निरु थापाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । ८०औं मिनेटमा अनिस्काको प्रहारमा कोपिला बाधक बनिन ।

८१औं मिनेटमा आर्मीकी चन्द्रा भण्डारीको प्रहार उषाले बचाइन् । ८८औं मिनेटमा आर्मीले स्वर्ण अवसर खेर फाल्यो । चन्द्राको पासमा हिमाको प्रहार आकाशियो । नेपाल पुलिसकी समिक्षा घिमिरे प्लेयर अफ दि म्याच घोषित भइन् ।

विधागत पुरस्कारतर्फ पनि पुलिसकै दबदबा रह्यो । पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित भइन । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै उत्कृष्ट गोलरक्षक पुलिसकी उषा नाथ घोषित भइन् ।

रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन् । रेखाले जारी प्रतियोगितामा कुल पाँच गोल गरिन् । पहिलो खेलमा आयोजक विरुद्ध उनले पाँच गोल गरेकी थिइन् ।

उत्कृष्ट दुवैले समान १५ हजार रुपैयाँ प्राप्त गरे । अनुशासित टिमको पुरस्कार आर एस पोखराले प्राप्त गर्‍यो ।

तीन दिनसम्म चलेको प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पुलिस, आर्मीसँगै संकटा र आयोजक आरएस पोखरा फुटबल क्लबको सहभागिता रहेको थियो ।

प्रथम महिला गोल्डकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय