News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले यूएईसँगको खेलमा ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखलाई बाहिर राखेर अर्जुन कुमाल र विनोद भण्डारीलाई मौका दिएको थियो।
- उपकप्तान दीपेन्द्रसिंह ऐरीले शृंखलामा दुई अर्धशतक र एक शतक प्रहार गरिसकेका छन् भने सन्दीप लामिछानेले ३ खेलमा ७ विकेट लिएका छन्।
- नेपालले २२ वैशाखमा ओमानसँग खेल्दै शृंखलामा तेस्रो जित निकाल्ने लक्ष्य राखेको छ र मौसममा वर्षाको सम्भावना छ।
२१ वैशाख, काठमाडौं । पछिल्ला वर्षहरूमा नेपाली क्रिकेट टोलीको सदाबहार ओपनिङ जोडीको रूपमा रहेका कुशल भुर्तेल र आसिफ शेख गत शुक्रबार यूएईसँगको खेलमा खेलेनन् ।
पछिल्लो समयको खराब लय अनि निराशाजनक प्रदर्शनपछि दुवै ओपनरलाई बाहिर राख्दा युवा अर्जुन कुमाल र अनुभवी विनोद भण्डारीलाई नेपालको प्लेइङ ११ मा मौका दिइएको थियो ।
उक्त खेलमा नेपालको ब्याटिङ सुधारिएको देखियो पनि । त्यसकारण अब कम्तीमा मंगलबार हुने नेपाल र ओमानबीचको खेलमा यही ओपनिङ जोडीले निरन्तरता पाउने कुरा विदितै देखिन्छ ।
अनि, सम्भवत: यही टिम कम्बिनेसनका साथ खेलेर अघिल्लो जितको लय दोहोर्याउँदै यस शृंखलामा तेस्रो जित निकाल्ने लक्ष्यमा नेपाल हुनेछ ।
यद्यपी नेपालले अन्य केही क्षेत्रमा पनि सुधार गर्नुपर्ने अवस्था भने कायम नै छ । कप्तान रोहित पौडेल र टप अर्डर ब्याटर भीम सार्की आफ्नो उत्कृष्ट लयमा नहुनु अर्को समस्याका रूपमा यथावत् छ ।
हाल नेपालको मध्यक्रम ब्याटिङ उपकप्तान दीपेन्द्रसिंह ऐरीमा निर्भर देखिएको छ । यूएईसँगको खेलमा विनोद भण्डारीले संयमित ब्याटिङ प्रदर्शन गरेका थिए भने मध्यक्रममा दीपेन्द्रको शतक मद्दतमा नेपालले राम्रो योगफल खडा गरेको थियो ।
त्यसअघिका दुई खेलमा पनि दीपेन्द्रले अर्धशतक बनाएका थिए । यूएईसँगकै खेलमा दीपेन्द्रको अर्धशतकमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेर जित पनि निकाल्न सफल भयो भने ओमानसँग पराजित भएपनि दीपेन्द्रले आफ्नो उत्कृष्ट लय कायमै राखे ।

ओपनरसँगै शीर्ष ४ का अन्य ब्याटरबाट पनि राम्रो ब्याटिङ भएमा नेपालको मध्यक्रमलाई दबाब बढ्ने छैन र खुला रूपमा खेल्न पाउनेछन् । यसो हुँदा दीपेन्द्रमाथिको दबाब पनि कम हुनेछ ।
ओमानसँग मंगलबार खेल्दै गर्दा नेपालले अझै पनि कायम रहेका कमीकमजोरीहरू सुधार गर्ने प्रयास गर्दै ओमानसँगको पहिलो खेलको हारको बदला लिएर शृंखलामा तेस्रो जित निकाल्ने र सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।
साथै, यस शृंखलामा तीन जितका साथ नेपालले अर्को सातादेखि सुरु हुने अर्को शृंखलामा उच्च मनोबल लिएर जानेछ । नेपालले आगामी सातादेखि लिग २ का शीर्ष २ टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ र त्यसका लागि जारी शृंखलाको लय महत्त्वपूर्ण हुनेछ ।
उपकप्तान दीपेन्द्रले सुरुवाती दुई खेल राम्रो नभएपनि तेस्रो खेलमा ब्याटरहरूले पनि राम्रो खेलेको र आगामी खेलमा पनि राम्रो हुने बताए । ‘ब्याटिङ राम्रो भएको छ, अबको खेलमा पनि त्यही इन्टेन्ट लिएर खेलौं नतिजा पनि राम्रो आउँछ’ दीपेन्द्रले भनेका छन् ।
हालको लय अनि हेड टु हेड
लिग २ अंकतालिकामा हाल ओमान २७ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ भने नेपालले २३ खेलमा १६ अंक जोडेर सातौं स्थानमा छ । अर्को टोली यूएईको २४ खेलमा १४ अंक छ ।
यही शृंखलामा यसअघि भएको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । नेपालले यूएईसँगको दुवै खेल जितिसकेको छ । अब ओमानलाई पनि हराएर नेपाल शृंखलामा तेस्रो जितको खोजीमा हुनेछ ।
नेपाल र ओमान हालसम्म ओडीआई फर्म्याटमा ९ पटक आमनेसामने भएका छन् । नेपालले तीन खेल जित्दा पाँच खेलमा पराजित भएको छ । एक खेल रद्द भएको थियो ।
कीर्तिपुरमा भने यी दुई टोली ४ पटक आमनेसामने भएका छन् जसमा नेपालले १ खेल जित्दा ओमानले ३ खेल जितेको छ ।
लिग २ क्रिकेटअन्तर्गत कीर्तिपुरमा भएका खेलमा नेपालले ओमानलाई हराउन सकेको छैन । कीर्तिपुरमा आएको एक जित भने एसीसी प्रिमियर कपको खेलमा थियो ।

टिम कम्बिनेशन र सम्भावित ११
अर्जुन कुमाल र विनोद भण्डारीलाई प्लेइङ ११ मा समेट्दा ब्याटिङमा देखिएको परिवर्तनका कारण नेपालले अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिने सम्भावना छ ।
यूएईसँगको खेलमा अर्जुन कुमालले ११ रन बनाउँदा विनोदले अर्धशतक बनाएका थिए । खेलपछि कुरा गर्दै नेपाली टोलीका उपकप्तान दीपेन्द्रले युवा खेलाडी अर्जुनको प्रशंसा गरेका थिए । ‘योङ खेलाडी छ, राम्रो बलरलाई डिफेन्स गरेर खेलिरहेको छ उसले राम्रो गर्न सक्छ’ दीपेन्द्रले भनेका थिए, ‘विनोद दाईको पनि राम्रो पुनरागमन भयो।’
ओमानले आइतबार यूएईसँग खेल्दा टोलीमा केही परिवर्तन गरेको थियो । ओमान त्यही टोलीका साथ उत्रने सम्भावना देखिन्छ ।
नेपालको सम्भावित ११ : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), अर्जुन कुमाल, विनोद भण्डारी, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी
ओमानको सम्भावित ११ : जतिन्दर सिंह (कप्तान), आशिष ओडेरा, प्रुथ्वीकुमार मच्ची, जितेन रामानन्दी, विनायक शुक्ला, आर्यन बिश्ट, हम्माद मिर्जा, शकील अहमद, वासिम अली, नदीम खान, मुहम्मद इमरान
प्लेयर्स टु वाच
नेपालका लागि ब्याटिङमा दीपेन्द्रसिंह ऐरी नै मुख्य खेलाडीका रूपमा हुनेछन् । दीपेन्द्रले जारी शृंखलामा दुई अर्धशतक र एक शतक प्रहार गरिसकेका छन् । उनी शानदार लयमा देखिएका छन् । यस्तै ओपनरद्वय अर्जुन कुमाल र विनोद भण्डारीमाथि नजर रहनेछ ।
यस्तै बलिङमा सन्दीप लामिछाने मुख्य हतियार हुनेछन् । सन्दीपले जारी शृंखलाका हरेक खेलमा २ भन्दा बढी विकेट लिएका छन् । उनले ३ खेलमा ७ विकेट लिएका छन् । उनी ओडीआईमा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी समेत हुन् ।
यता ओमानका लागि कप्तान जतिन्दर सिंहको पावरप्ले ब्याटिङमा नजर रहनेछ । नेपालविरुद्धको पहिलो खेलमा उनले शानदार शतक प्रहार गरेका थिए । बलिङमा शकील अहमदको स्पेल सबैभन्दा महत्त्वपूर्ण हुनेछ भने पेस बलर मुहम्मद इमरानले पनि बाउन्सर बलमा फसाउन सक्छन् ।

खेल : नेपाल भर्सेस् ओमान
मिति र समय : २२ वैशाख, विहान ९:३०
मौसम : वर्षाको सम्भावना
प्रतिक्रिया 4