News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले ९ महिना २४ दिन नेतृत्व सम्हालेपछि १७ वैशाखमा राजीनामा दिएका छन्।
- अर्यालले आफ्नो कार्यकालमा विश्वविद्यालयमा संरचनात्मक सुधार, परीक्षा प्रणाली सुधार र अनलाइन सेवा प्रवाह विस्तार गरेको बताएका छन्।
- उनले विश्वविद्यालयको जग्गा संरक्षण, क्याम्पस स्तरोन्नति र सेवा प्रवाह सरलीकरणका लागि विभिन्न समितिहरू गठन गरिएको उल्लेख गरेका छन्।
२१ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा प्रा.डा. दीपक अर्यालले ९ महिना २४ दिन नेतृत्व सम्हाले । तत्कालीन प्रधानमन्त्री एवं कुलपति केपी ओलीले अर्याललाई उपकुलपतिमा २०८२ असार २५ मा नियुक्त गरेका थिए । चार वर्षको कार्यकाल थियो तर उनले नयाँ सरकार गठन भएपछि १७ वैशाखमा राजीनमा दिए ।
९ महिनाको अवधिमा राजनीतिक पक्षधरता नदेखाएको निर्वातमान उपकुलपति अर्यालले दाबी गरेका छन् ।
सोमबार उनले धन्यवाद ज्ञापनपत्र सार्वजनिक गर्दै भनेका छन्, ‘कुनै राजनीतिक पक्षधरता वा पदीय दुरुपयोग नगरी मर्यादित र निष्पक्ष ढंगले कार्यसम्पादन गर्न इमान्दार प्रयास गरिएकै हो ।’
अर्यालले आफ्नो कार्यकालमा गरिएको सुधारका कामसमेत सार्वजनिक गरेका छन् । शिक्षामा गुणस्तरीय सुधार ल्याउने उद्देश्यले त्रिविको संरचनात्मक तथा व्यवस्थापकीय सुधार गरिएको उनले उल्लेख गरेका छन् ।
परीक्षा प्रणाली अन्तर्गत शैक्षिक पात्रोको कार्यान्वयन अर्थात परीक्षा समाप्त भएको मितिले १०० दिनभित्र नतिजा प्रकाशनको थालनी गरिएको उनको भनाइ छ ।
‘विश्वविद्यालयका अभिलेखहरूको सुरक्षणका लागि सूचना तथा नवप्रवर्तन केन्द्रको सवलीकरण गरी अनलाइनका माध्यमबाट सेवा प्रवाहमा विस्तार र शुदृढीकरण, शिक्षक तथा कर्मचारीको वृत्तिविकास, तथा कार्यसम्पादनमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने दिशामा ठोस पहल गरिएको थियो,’ अर्यालले भनेका छन् ।
विश्वविद्यालय प्रशासनलाई चुस्त र दुरुस्त राख्न आगामी दिनमा शैक्षिक तथा प्रशासनिक सहजताका लागि सामुदायिक क्याम्पसका शिक्षकहरूको स्तर निर्धारण, करार सेवामा रहेका शिक्षक कर्मचारीहरूको सेवा निवृत्त हुने बेला पाउने सुविधा, एकेडेमिक अडिटिङ, विश्वविद्यालयको पुनर्संरचना, संगठनात्मक व्यवस्थापन लगायत १० भन्दा बढी समितिहरू गठन गरी कार्य प्रारम्भ गरिएको उनले उल्लेख गरेका छन् ।
‘वर्षौंदेखि रोकिएको सम्बन्धन प्राप्त क्याम्पसको नवीकरणलाई सहज ढंगले प्रदान गर्ने व्यवस्था मिलाउँदै थिए,’ उनले भनेका छन् ।
विश्वविद्यालयको जग्गा जमिनको संरक्षण र उपयोगलाई प्रभावकारी र व्यवस्थित बनाउने कार्यका लागि सरकारको समन्वयमा विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ लाई कार्यान्वयनमा लगिएको उनले बताएका छन् ।
गण्डकी प्रदेशस्थित त्रिविको आंगिक क्याम्पस पृथ्वीनारायण (पीएन) क्याम्पसलाई डिग्री उपाधि प्रदान गर्ने क्यामपसको रूपमा स्तरोन्नतिको प्रकृया अगाडी बढेको धन्यवाद पत्रमा उनले उल्लेख गरेका छन् ।
‘विश्वविद्यालयको सेवा प्रवाहलाई सरलीकरण गर्न, विद्यार्थीले प्राप्त गर्नुपर्ने सबै सेवा सुविधालाई नजिकैबाट उपलब्ध गराउन, दीक्षान्त समारोहमा सबै विद्यार्थीहरू उपस्थित हुने अवस्था निर्माण गर्न हो,’ उनले भनेका छन्, ‘पाठ्यक्रम स्तरीकरण तथा परीक्षासम्बन्धी कार्यहरूलाई अधिकार प्रत्यायोजन र मौजुदा ऐनको दायरमा रही नियममा परिमार्जन गरी सेवा प्रवाहलाई व्यवस्थित गर्न मद्दत मिल्ने छ भन्ने विश्वास लिएको छु ।’
प्रतिक्रिया 4