News Summary
Generated by OK AI. Editorially reviewed.- दशौं पीएम कप एनभीए भलिबल लिग २०८३ मा रुकुम पश्चिम भलिबल क्लब पुरुषतर्फ नयाँ च्याम्पियन बनेको छ।
- नेपाल पुलिस क्लब महिलातर्फ च्याम्पियन बनेको छ भने रुकुम पश्चिमले हेल्प नेपाललाई फाइनलमा तीन सेटमा हराएको छ।
- रुकुम पश्चिमले उपाधिसहित नगद १० लाख पुरस्कार प्राप्त गरेको र प्रशिक्षक तेजविक्रम बुढाले आफ्नो सपना पूरा भएको बताउनुभयो।
२१ वैशाख, काठमाडौं । घरेलु भलिबलमा तीन विभागीय टोली र हेल्प नेपाल स्पोर्ट्स क्लबको दबदबालाई तोड्दै रुकुम पश्चिम भलिबल क्लब नयाँ च्याम्पियन बनेको छ ।
शनिबार सम्पन्न दशौं पीएम कप एनभीए भलिबल लिग २०८३ मा रुकुम पश्चिम भलिबल क्लब पुरुषतर्फ र नेपाल पुलिस क्लब महिलातर्फ च्याम्पियन बन्यो । महिलातर्फ पुलिसले नै वर्चश्व कायम राख्दा पुरुषतर्फ भने यस पटक रुकुम पश्चिम नयाँ च्याम्पियनको रुपमा उदाएको छ ।
घरेलु भलिबलमा पछिल्लो दशक दबदबा बनाएको तीन विभागीय टोली देखि पाँच पटक एनभीए लिग जितिसकेको हेल्प नेपाल स्पोर्ट्स क्लबको वर्चस्वलाई तोड्दै कर्णाली प्रदेशको रुकुम पश्चिमले राजधानीमा आएर च्याम्पियनको कथा कोरेको छ । नेपाली भलिबलको इतिहासमा अब रुकुम पश्चिमको नाम इन्ट्री भइसकेको छ ।
गत शनिबार भएको फाइनलमा हेल्प नेपालले साविक विजेता समेत रहेको ५ पटकको च्याम्पियन हेल्प नेपाललाई सोझो सेटमा हरायो । रुकुमले लगातार तीन सेट जितेपछि खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।
पहिलो सेट टाइब्रेकरमा २७-२५ ले आप्नो पक्षमा पार्दै अग्रता लिएको रुकुम पश्चिमले दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनाएको थियो । तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । २४-२२ ले पछि रहेको अवस्थामा पनि रुकुमले पुनरागमन गर्दै २४-२४ को बराबरी गर्दै ३२-३० ले उक्त सेट आफ्नो पक्षमा पार्दे रोमाञ्चक जित निकालेको थियो ।

लिग चरणमा हेल्प नेपालसँगै पराजित भएर दोस्रो स्थानमा रहेको रुकुमले फाइनलमा त्यसको बदला मात्र लिएन, च्याम्पियन नै बन्यो । उपाधिसहित नगद १० लाख पुरस्कार प्राप्त गर्यो ।
नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गर्ने प्रतियोगितामा यो लिग फर्म्याटको सबैभन्दा ठूलो प्रतियोगिता हो । जसमा पुरुषतर्फ उत्कृष्ट ८ टिमले प्रतिस्पर्धा गर्दै आएका छन् ।
यसअघि भएको नवौं एनभीए भलिबल च्याम्पियनसिपबाट शीर्ष ८ टोली भित्र पर्दै एनभीए लिगमा छनोट भएको रुकुम पश्चिमले यस पटक उपाधि नै उचालेको हो ।
एनभीए लिगको उपाधि जितेपछि रुकुम पश्चिमका मुख्य प्रशिक्षक तेजविक्रम बुढाले आफूले धेरै अघि देखि देखेको सपना पूरा भएको बताए । ‘मैले एउटा लक्ष्य लिएर क्लबको स्थापना गरेको थिएँ । एउटा सपना पूरा भएको छ’ बुढाले अनलाइनखबरसँग भने, ‘यो सुरुवात मात्र हो अझ धेरै गर्न बाँकी छ । यो सफलता र उपलब्धि मेरो मात्र होइन सबै रुकुम पश्चिम जिल्ला र सम्पूर्ण कर्णाली प्रदेशकै हो ।’
पाँच पटकको च्याम्पियन हेल्प नेपालदेखि विभागीय तीनै टोलीलाई एकै प्रतियोगितामा हराएर च्याम्पियन बन्दा बुढा खुशी छन् । ‘पाँच पटकको च्याम्पियन हेल्प नेपाललाई हराउन विभागीय क्लबहरूलाई समेत कठिन परिरहेको थियो । लिग चरणमा हेल्प नेपालसँग पराजित भएका थियौं । तर फाइनलमा हामीले सोचेको जस्तै भयो । सायद हेल्प नेपाललाई यसरी तीन सेटमा फाइनलमा हराउने हामी पहिलो नै होला ।’
एनभीए लिगमा च्याम्पियन यात्रा
एनभीए च्याम्पियनसिपमा विभागीय टोली विरुद्ध मिश्रित नतिजा निकालेको रुकुम पश्चिमले यस पटक तीनवटै विभागीय टिमलाई माथ दियो । त्यसपछि साविक विजेता हेल्प नेपालसँग लिग चरणमा पराजित भएपनि फाइनलमा हेल्प नेपाललाई नै हराएर आफु बलियो भएको प्रमाणित गर्यो ।
नवौँ एनभीए च्याम्पियनसिप देखि रुकुम पश्चिमले सहभागिता जनाउन थालेको हो । त्यसबेला सेमिफाइनलसम्म पुगेको थियो । तर पहिलो सहभागिता अनुभवको कमीले गर्दा सेमिफाइनलमा आर्मीसँग प्रतिस्पर्धात्मक खेलमा ३-२ ले पराजित हुँदा फाइनल रुकुम पश्चिम पुग्न सकेन ।
तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिसँग पराजित हुँदै चौथो भयो । त्यही प्रतियोगिता एनभीए लिगका लागि पाठ बन्यो । बुढाले अन्य प्रदेशका खेलाडीदेखि राम्रो विदेशी खेलाडीहरू समावेश गरेर यस पटक बलियो टिम बनायो । पहिलो खेलमै एपीएफलाई हराएपछि रुकुमले राम्रो सुरुवात गर्यो । लिग चरणमा ७ मध्ये ६ खेल जित्दा हेल्प नेपालसँग पराजित भयो तर फाइनलमा बदला लिएर उपाधि जित्यो ।
हेल्प नेपालले लिगको पहिलो खेलमै विभागीय टोली नेपाल एपीएफ क्लबलाई २५-१४, २५-२१, २५-१५ ले हराएर यात्रा सुरुवात गरेको थियो । त्यसपछि कोशी प्रदेशलाई २५-२३, २५-१७, २५-२० ले, खिलजी युवा क्लबलाई २५-२२, २५-१८, २५-१४ ले र बुढानिलकण्ठ भलिबल क्लबलाई २५-१७, २५-२०,१६-२५, २५-११ ले पराजित गर्दै लगातार चार खेल जित्यो ।
साविक विजेता हेल्प नेपालसँग पाँचौं खेलमा २५-२३, २५-२२, २५-२३ ले पराजित हुँदा जित यात्रामा ब्रेक लागेको थियो । त्यसपछि फाइनल पुग्न रुकुम पश्चिमलाई त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विरुद्धको खेल जित्नुपर्ने अवस्था थियो । जसमा रुकुम पश्चिमले त्रिभुवन आर्मीलाई २५-२२, २५-१८, २९-३१, २५-२१ ले रहाएर एक कदम फाइनलमा यात्रा तय गरिसकेको थियो ।
लिग चरणको अन्तिम दिन रुकुम पश्चिम र पुलिसबीचको खेल अघोषित सेमिफाइनल जस्तो बन्यो । जित्ने टोली फाइनल पुग्ने समिकरण बन्यो । त्यसमा रुकुम पश्चिमले पुलिसलाई २५-१२, ३०-२८, १६-२५, २५-१६ ले हराएर फाइनलमा स्थान बनायो ।

डायमन्ड खड्काको कप्तानीमा रहेको रुकुम पश्चिमले यस पटक एनभीए लिगका लागि तीन विदेशी खेलाडीसहित यसअघि गण्डकी प्रदेशबाट खेल्दै आएका पाँच खेलाडी अनुबन्ध गरेको थियो ।
पाकिस्तानका फहद राजा, एडनान खान र अफाक खानलाई भित्र्याएको रुकुम पश्चिमले गण्डकी प्रदेशका हिमाल सुनारी, राजन दर्लामी, विवश आले मगर, सन्तोष विक र अजय सुनारलाई अनुबन्ध गरेको थियो ।
हिमाल र लिबेरो राजनले पहिलो रोजाइमा लगातार खेले भने पछिल्ला खेलहरूमा भने सन्तोषले पनि सेटमा खेल्दै महत्वपूर्ण प्रदर्शन गरे । यस्तै विवश र अजयले पनि केही खेलमा खेले ।
रुकुम पश्चिमका नियमित कप्तान डायमन्ड खड्का भने चोटका कारण यस पटक खेल्न नसकेको प्रशिक्षक तेज बुढाले जानकारी दिए । डायमन्डसँगै रोशन खड्का रुकुम पश्चिमकै पुराना खेलाडीहरू हुन् ।
घरेलु भलिबलमा चर्चित नाम सन्जु विक्रम शाहलाई पनि रुकुम पश्चिमले अनुबन्ध गरेको थियो । तर सुरुवाती केही खेल खेलेपनि उनको विदेशको भिसा आएपछि भने खेलेनन् । यस पटक जसरी पनि उपाधि जित्ने नै लक्ष्यका साथ राम्रो विदेशी खेलाडी र गण्डकीको खेलाडी अनुबन्ध गरेको प्रशिक्षक बुढाले बताए ।
‘नवौं एनभीए भलिबल च्याम्पियनसिपमा हामी पहिलो पटक सहभागी हुँदा चौथो भएर एनभीए लिगका लागि छनोट भएका थियौं । त्यस बेला हामीले कर्णालीकै स्थानिय खेलाडीहरूलाई पनि अवसर दियौं । तर अनुभवमा केही कमी भएको जस्तो देखियो । त्यसैले यस पटक हामीले उपाधि जित्ने गरी नै बलियो टिम बनाएका थियौं । गण्डकीका खेलाडीहरू देखि राम्रा विदेशी खेलाडीहरू अनुबन्ध गर्यौं’ बुढाले भने ।
उनले प्रतियोगिताका दौरान धेरै संघर्ष र दबाबहरू आएपनि त्यसलाई पार गर्दै अघि बढेको प्रशिक्षक बुढाले बताए । ‘हामीलाई यति धेरै बाधा अड्चनहरू आयो कि त्यसको बयान गरेर साध्य छैन । विभिन्न खालको आरोपहरू पनि लाग्यो । तैपनि हामीले कोर्टमा खेलमा केन्द्रित भएर खेल्दा सफलता हात पार्न सफल भयौं’ उनले भने ।
व्यक्तिगत विधामा पनि रुकुम पश्चिमकै खेलाडीको वर्चश्व रह्यो । पाकिस्तानी खेलाडी फहद राजा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए भने राजन दर्लामी बेस्ट लिबेरो, एडनान खान बेस्ट सेटर, अफाक खान बेस्ट स्पाइकर र तेज विक्रम बुढा बेस्ट कोच घोषित भए ।
उपविजेता हेल्प नेपालका पाकिस्तानी खेलाडी मुरद जेहान बेस्ट सर्भर र कप्तान चिरन्जिबी खड्का बेस्ट ब्लकर घोषित भए ।

यसरी जन्मियो रुकुम पश्चिम
तेज बुढा सानैदेखि भलिबल खेल्थे । उनले विभिन्न प्रतियोगिताहरू पनि खेले । भलिबल उनलाई अति नै मन पर्ने खेल थियो । उनले २०७६ सालमा नेपालगन्जमा भएको आठौं वृहत् राष्ट्रिय खेलकुदमा तेज कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै भलिबल खेलेका थिए । दोस्रो प्रधानसेनापति कप पनि खेले । राष्ट्रिय स्तरको अन्य प्रतियोगिताहरू पनि खेले ।
तर कर्णाली प्रदेशले कहिल्यै ठूलो सफलता हात पार्न सकेन । त्यसले बुढालाई खिन्न बनाउँथ्यो । अनि त्यसबेलै उनले एउटा अठोट लिएका थिए आफैं क्लब स्थापना गरेर प्रतिस्पर्धा गर्ने ।
‘कर्णाली प्रदेश सधैं पछि परेको टिम, सधैं कमजोर प्रदर्शन गर्ने, दर्शकको साथ नपाउने हुन्थ्यो । यो देखेर दु:ख पनि लाग्थ्यो, हाम्रो समर्थनमा दर्शक कहिले आउला जस्तो लाग्थ्यो । त्यसे गर्दा एउटा इख पनि बस्यो’ बुढाले पुराना दिन स्मरण गरे । त्यही इख लिएर तेज बुढाले २०८९ सालमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र स्थापना गरे । त्यसै मार्फत उनले स्थानिय स्तरमा रुकुम कप आयोजना गर्ने देखि राष्ट्रिय स्तरमा सहभागिता जनाउने सम्मको टिम तयार पारे ।
‘सुरुमा हामी स्थानिय स्तरमै रुकुम कपको आयोजना गर्यौं । त्यसको तीन संस्करण आयोजना भइसकेको छ । जहाँ राष्ट्रिय स्तरका चर्चित खेलाडीहरू समेत खेलिसकेका छन् भने नयाँ ट्यालेन्टहरू पनि उत्पादन भएका छन्’ उनले भने ।

एनभीए च्याम्पियनसिप र एनभीए लिग खेल्नुअघि रुकुम पश्चिमले बुटवलमा भएको मदन भण्डारी कप पनि खेलेको थियो ।
नेपालमै भलिबलको विकासमा केही योगदान गर्छु भनेर धेरै आए, कोही हराए तर तेजको जिद्दीपनले अन्तत: सफलता दिलाएरै छाड्यो ।
तेज बुढाले देखेको सपना रुकुम पश्चिम भलिबल क्लबले पूरा गर्यो । कर्णाली प्रदेशको टिम रुकुम पश्चिमले विभागीय क्लब देखि हेल्प नेपाल जस्ता बलिया दाबेदार टिमहरूलाई पाखा लगाउँदै राष्ट्रिय स्तरमा एनभीए लिगको उपाधि जित्दै आफ्नो समर्थकलाई खुशी बनाउँदै ऐतिहासिक सफलता हात पार्यो ।
यो उपलब्धि तेज बुढाका लागि मात्र नभएर रुकुम पश्चिम जिल्ला र समग्र कर्णाली प्रदेशकै लागि एउटा हौसला जगाउने जित बन्यो । यसमा बुढाले गरेको मिहिनेत, समय र पैसाको लगानी देखि प्रतियोगिता खेल्दासम्म लागेको ऋण सबैको अनुभव उनीसँग छ ।
‘जति पैसा खर्च भएपनि रुकुम पश्चिमको नाम देशभर चिनाउँछु सपना पूरा गर्छ भनेर लागें । धेरै संघर्ष गर्नुपर्यो’ उनले सुनाए ।
रुकुमको सान पहल र सुरेन्द्र
अहिले नेपाल पुलिस क्लबबाट खेल्ने पहल गहतराज र नेपाल एपीएफ क्लबबाट खेल्ने सुरेन्द्र केसी रुकुम पश्चिमबाटै आएका हुन् । उनीहरू त्यहाँ रुकुम पश्चिम प्रशिक्षण केन्द्रले आयोजना गरेको रुकुम कपको प्रडक्ट हुन् ।
दुवै त्यहाँ भएको रुकुम कपबाट उदाएका थिए । पहलले राष्ट्रिय टिमबाट पनि खेलिसकेका छन् । उनी अहिले राष्ट्रिय टिमको सदस्य र नेपाल पुलिसको महत्वपूर्ण खेलाडी बनिसकेका छन् । पहलले एनभीए अवार्डमा उत्कृष्ट खेलाडीको अवार्ड समेत जिते । काभा यू-२० पुरुष च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा पनि पहल महत्वपूर्ण सदस्य थिए ।
यस्तै सुरेन्द्र केसी अर्को उदाउँदो खेलाडीको रुपमा छन् । ‘पहल पहिलो संस्करण र सुरेन्द्र दोस्रो संस्करणको रुकुम कपबाट उदाएका हुन् । पहल अहिले राष्ट्रिय टिममै मुख्य खेलाडी बनिसकेको देख्दा खुशी लाग्छ । तेस्रो संस्करणमा पनि कर्णाली प्रदेका नयाँ युवा खेलाडीहरू आएका छन् । उनीहरू पनि पछि राम्रो हुने आशा छ’ बुढाले भने ।
स्थानीय स्तरमा प्रतियोगिता आयोजना गर्दै अरु नयाँ प्रतिभावान खेलाडीहरू जन्माउन पनि लागि पर्ने प्रशिक्षक बुढा बताउँछन् । ‘भलिबलमै केही गर्ने भनेर यति धेरै समय र पैसा खर्च गरिसकेको छु । अब स्थानीय स्तरमा प्रतियोगिता गरेर नयाँ खेलाडी उत्पादन गर्ने अनि राष्ट्रिय स्तरमा निरन्तर खेल्ने हाम्रो लक्ष्य छ’ उनले भने ।
काभामा पदक ल्याउने लक्ष्य अझै बाँकी छ
रुकुम पश्चिमले एनभीए लिग जितेपछि अब काभा क्लब च्याम्पियनसिपका लागि छनोट भएको छ । सेन्ट्रल एसियाका उत्कृष्ट क्लबहरूबीच काभा क्लब च्याम्पियनसिप हुँदै आएको छ ।
यसअघि एनभीए लिग च्याम्पियनसिपको हैसियतमा हेल्प नेपालले दुई पटक खेलेको थियो । अब भने रुकुम पश्चिमले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियनसिप खेल्दैछ । उज्वेकिस्तानमा हुने भनिएपनि उक्त प्रतियोगिताबारे धेरै जानकारी आएको छैन ।
तर रुकुम पश्चिमले भने काभा क्लब च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ तयारी गर्ने प्रशिक्षक बुढाले बताए । ‘हामी नेपालभित्र च्याम्पियन बन्यौं । नेपालमा त गरें अब मेहेनत गरेर नेपालको लागि काभा क्लब च्याम्पियनसिपमा पनि पदक ल्याउने लक्ष्य छ’ उनले भने ।
उनले नेपालको पुरुष टिम राष्ट्रिय वा क्लबले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको र अब त्यो उपलब्धी दिलाउनका लागि प्रयास गर्ने बताए । ‘अब हामी अझै राम्रा विदेशी खेलाडीहरू अनुबन्ध गर्नेछौं । अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका खेलाडीहरू ल्याएर काभा क्लब च्याम्पियनसिपमा स्वर्ण पदक नै जित्ने मेरो अर्को ठुलो लक्ष्य छ’ बुढाले अबको लक्ष्यबारे सुनाए ।

५० लाख ऋण बाँकी छ
च्याम्पियन बन्दा सबैले वाहावाही गर्ने, रमाउने गर्छन् । तर त्यस भित्रको वास्तविक संघर्ष पिडा भोग्नेलाई मात्र थाहा हुन्छ । तेज बुढाको हकमा पनि ठिक यस्तै छ ।
उनले रुकुम पश्चिमलाई यो स्थितिमा ल्याएर च्याम्पियन बनाउँदासम्म धेरै दु:ख, पिडा, सास्ती र दबाब झेलेका छन् । तर उनले हिम्मत हारेनन् । आफूलाई कमजोर बनाएर । आफूले लिएको अठोट र लक्ष्यमा टिमलाई पुर्याएर छाडे ।
यस क्रममा उनलाई धेरै ऋण पनि लागेको छ । ‘पछिल्लो दुई प्रतियोगिता एनभीए च्याम्पियनसिप र एनभीए लिग खेल्दा धेरै ऋण लागेको छ । तीन वटा रुकुम कप आयोजना र यो दुई प्रतियोगिता एनभीए च्याम्पियनसिप र एनभीए लिग खेल्दा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र ५० लाख ऋणमा छ’ उनले भने ।
प्रतियोगिता आयोजना गर्दा र राष्ट्रिय स्तरमा प्रतियोगिता खेल्दा खर्च गरेको भन्दा धेरै कम रकम मात्र उठ्ने गरेको उनले सुनाए । यस क्रममा देश विदेशमा बस्ने साथीभाइहरूको चन्दा सहयोग र आफ्ने पैसाले टिम चलाएको उनले सुनाए ।
यस पटक एनभीए क्लब च्याम्पियनसिपमा पनि तीन विदेशी खेलाडी अनुबन्ध गरेर काठमाडौंमा खेल्दा ३० लाख भन्दा बढी खर्च भएको बुढाले बताए ।
सानै देखि भलिबल खेल्ने र भलिबलमै केही गर्छु भनेर लागेर बुढाले अहिलेसम्म भलिबलमै ३ करोड भन्दा बढी खर्च गरिसकेको सुनाए । ‘मैले भलिबलमा लागेर खेत समेत बेचेको छु । ३ करोड भन्दा बढी खर्च गरिसकेको छु । अब अन्तिम विकल्प नै यही एनभीए लिग हो भनेर लागेको थिएँ । यसमा उपाधि जित्दा हामी खुशी त छौँ तर ऋण लागेकोले म पूर्ण रुपमा अझै खुशी हुन सकेको छैन’ उनले दुखेसो पोख्दै भने ।
कुनै बेला घरबाट समेत भलिबलमा नलाग्ने भन्दा पनि जिद्दी गरेर भलिबलमै निरन्तर लागेका बुढाको बुबा आमा भने अहिले खुशी छन् । ‘बुबा आमाले सुरुमा भलिबल बाहेक अरु नै काम गर भन्नुभएको थियो । मैले भलिबल छाडिनँ । तर अहिले छोराको टिम नेपालकै च्याम्पियन बन्दा बुबा आमा पनि धेरै खुशी हुनुहुन्छ’ बुढाले भने ।
प्रतिक्रिया 4