+
+
Shares

एमालेमा बढ्दैछ छटपटी

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संयोजन गरिरहेको भनिएको एमाले पुनर्गठन अभियानलाई महासचिव शंकर पोखरेलले पनि साथ दिएको पार्टीपंक्ति बताउँछ । नेताहरूले भने खुलेर अभिव्यक्ति दिएका छैनन् ।

सइन्द्र राई सइन्द्र राई
२०८३ वैशाख २२ गते २१:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका युवा नेताहरूले निर्वाचनपछि पार्टी पुनर्गठनको दबाब अभियान थालेका छन्।
  • उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले पुनर्गठन अभियानलाई साथ दिएका छन्।
  • अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य समस्याका कारण समीक्षा बैठक राख्न तयार नभएका छन्।

२१ वैशाख, काठमाडौ । प्रतिनिधि सभा निर्वाचन सकिएको दुई महिना पुग्दा पनि पार्टीभित्र औपचारिक समीक्षा शुरु नभएपछि नेकपा एमालेका युवा नेताहरूले दबाब अभियान थालेका छन् ।

राजधानीमा शनिबार एक कार्यक्रम गरी उनीहरूले नीति र नेतृत्व पुनर्गठनको प्रस्ताव अगाडि बढाएका छन् ।

‘निर्वाचन पछिको अवस्थालाई मूल्याकंन गर्दा अब पुनर्गठन विकल्प हो भन्नेमा हामी छौं,’ युवा नेतृ नविना लामाले भनिन्, ‘अरु युवाहरू पनि यही तरिकाले एमाले बन्दैन भन्नेमा सहमत हुनुहुन्छ ।’

पार्टी पुनर्गठनको दबाब दिने उद्देश्यले शुरु भएको यो अभियानमा युवा नेताहरू झपट रावल, समिक बडाल, नरेश रोकाया, रमेश पौडेल, गजेन्द्र थपलिया, रोशन बस्नेत लगायत छन् ।

विगतमा विभिन्न जनसंगठनको नेतृत्व तहमा रहेका यी नेताहरूले पार्टी पुनर्गठनको अभियानलाई निरन्तरता दिने निष्कर्ष निकालेका छन् ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संयोजन गरिरहेको भनिएको एमाले पुनर्गठन अभियानलाई महासचिव शंकर पोखरेलले पनि साथ दिएको पार्टीपंक्ति बताउँछ । नेताहरूले भने खुलेर अभिव्यक्ति दिएका छैनन् ।

‘नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण नगर्ने हो भने गुमेको जनमत फर्काउन सकिने स्थिति छैन,’ युवा संघका पूर्व अध्यक्ष रमेश पौडेल भन्छन्, ‘तर पार्टीभित्र आवश्यक समीक्षा भएको देखिएको छैन, त्यसका निम्ति हाम्रो दबाव अभियान जारी रहन्छ ।’

शनिबारको छलफलमा सहभागी युवा नेताहरूले पनि वर्तमान नेतृत्वले एमालेलाई पुनजागृत गराउन नसक्ने निष्कर्ष निकालेका थिए ।

‘सर्मनाक पराजय बेहोरेको दुई महिना भइसक्यो, पार्टीमा समीक्षा बैठक बस्न सकेको छैन । यस्तो कमिटी र नेतृत्व विघटन गरेर जानुपर्छ,’ युवा नेता रोशन बस्नेतले भने, ‘विगतमा पनि तदर्थ नेतृत्व गठन गर्दा पार्टी पुनजागृत भएका उदाहरणहरू छन् ।’

०६४ सालको संविधान सभा निर्वाचनमा नराम्रो पराजय बेहार्दा पनि तत्कालीन पार्टी नेतृत्वले राजीनामा गरेको सन्दर्भ उनी सम्झन्छन् ।

‘पञ्चायतकालमा होस् अथवा ०६४ सालको संकटमा होस्, तदर्थ नेतृत्व चनेर पार्टीलाई पुनर्स्थापित गरेका नजीरहरू हामीसँगै छ,’ बस्नेत भन्छन्, ‘अहिलेको संकटबाट बाँच्न पनि केन्द्रदेखि जिल्लासम्मको नेतृत्व विघटन गरेर जानुपर्छ ।’

वर्तमान नेतृत्वले एमाले पुनर्स्थापित हुन नसक्ने निष्कर्ष सहित एक महिना अघि नै विशेष महाधिवेशनको माग सहित हस्ताक्षर अभियान शुरु भएको थियो ।

बुद्धिजिवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया, अनेरास्ववियुका नेता कमलराज जोशी लगायतले थालेको हस्ताक्षर अभियानलाई एमालेका शीर्ष नेताहरूले रोकेका थिए ।

स्रोतका अनुसार उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेलहरूले नै हस्ताक्षर अभियान रोकेका थिए ।

‘पुनर्गठनको निष्कर्षमा पार्टी नै पुग्छ तपाईंहरूले हस्ताक्षर अभियान रोक्नुस् भन्ने हामीले रोकिएका थियौ,’ अभियानमा लागेका एक नेताले भने, ‘तर उहाँहरूले भनेजस्तो नभएपछि फेरि हस्ताक्षर अभियान अगाडि बढाएका छौ ।’

उनका अनुसार हस्ताक्षर गर्नेहरूको पाँच सय नाघिसकेको छ ।

‘काठमाडौं केन्द्रित हुँदा हस्ताक्षर गर्ने संख्या धेरै नभएको हो । तर अब हामी जिल्लाजिल्ला पुग्छौ,’ ती नेताले भने, ‘पार्टी सिध्याउने कि जोगाउने भन्ने प्रश्नमा विधानले भनेजति संख्या जुटाउन गाह्रो हुन्न भन्ने विश्वास छ ।’

एमाले विधानको धारा ७३ ले विशेष महधिवेशनको व्यवस्था गरेको छ । बहुमत प्रतिनिधि अथवा दुई तिहाइ जिल्ला कमिटीको माग भएमा केन्द्रीय कमिटीले ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था उक्त धारामा उल्लेख छ । र, त्यस्तो विशेष महाधिवेशनले गरेको निर्णयले वैधानिकता पाउने व्यवस्था पनि एमाले विधानमा छ ।

‘विशेष महाधिवेशन/अधिवेशनले महाधिवेशन/अधिवेशनका लागि यस निर्वाचनका विभिन्न धारामा तोकिएको सम्पूर्ण अधिकार र कर्तव्य पालना गर्न सक्नेछ,’ विधानको धारा ७३ (घ) मा लेखिएको छ ।

नेताहरूका अनुसार नेतृत्व पुनर्गठनका निम्ति जुटेका युवा नेताहरू पनि विशेष महाधिवेशनको मागमा हस्ताक्षर संकलन गर्न अब जुट्नेछन् । ‘चुनावी नतिजाको हारजित लोकतन्त्रमा नियमित प्रक्रिया हो । तर अहिले एमाले सामान्य हारजितको स्थितिमा छैन,’ पूर्व केन्द्रीय सदस्य रमेश पौडेल भन्छन्, ‘एमालेप्रति नयाँ पुस्तामा घृणा देखिन्छ । त्यो घृणा बदल्न पनि पार्टी सच्चिनुपर्छ । सच्याउने अभियानमा युवाहरू जु्ट्छौं ।’

युवाहरूले देखिनेगरी पुनगर्ठनको बहस चलाए जस्तै अधिकांश पदाधिकारी पनि वर्तमान नेतृत्व फेर्न तयारीमा रहेको नेताहरू बताउँछन् । ‘युवाहरूले भेला राख्ने, सडकमा नारा लगाउने, हस्ताक्षर गर्ने काम गरिरहेका छन्,’ एक शीर्ष नेता भन्छन्, ‘शीर्ष तहमा रहेका पदाधिकारीहरू चुप लागेर भने बस्नुभएको छैन । उहाँहरूको जोड पनि पुनर्गठनमै छ ।’

उनका अनुसार उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुनर्गठन अभियानको नेतृत्व गरिरहेका छन्, र महासचिव शंकर पोखरेलले पनि साथ दिएका छन् । यी दुई नेताको साथ नपाउने बुझेरै अध्यक्ष केपी शर्मा ओली भने समीक्षा बैठक राख्ने पक्षमा देखिएका छैनन् ।

‘चैत अन्तिम साता गरिएको अप्रेशनले उहाँलाई अहिले समस्या देखिएको छ । तर त्यसअघि पनि उहाँ बैठक राख्ने पक्षमा हुनुहुन्थेन,’ एमाले उच्च स्रोत भन्छ । जबकि उपाध्यक्ष पौडेलले लगातार बैठक राख्न ओलीसँग आग्रह गरेका थिए । स्रोतका अनुसार पौडेलले राजीनामाको विकल्प पनि दिएका थिए । ओली भने दुवै विकल्पमा तयार छैनन् ।

पार्टी धेरै गम्भीर अवस्थामा रहेकाले पनि पौडेल र पोखरेलबीच पुनर्गठनमा सहमति रहेको केन्द्रीय सदस्य खिमलाल भट्टराई बताउँछन् ।

‘नेताहरुबीच पार्टीको गम्भीर अवस्थाबारे कुराकानी भइरहेकै छ । अध्यक्ष सञ्चो भएपछि बैठक बस्छ । र खुलाखुलस्त छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं,’ भट्टराई भन्छन् । पुनगर्ठित र पुनजागृत एमाले निर्माणका निम्ति पनि नेताहरुबीच कुराकानी भइरहेको उनी बताउँछन् ।

यद्यपि एकपछि अर्को व्यक्तिगत समस्याका कारण ओलीलाई बैठक नराख्ने छुट भने मिलिरहेको छ । २१ फागुनको नतिजा आइरहँदा ओलीलाई पितृशोक पर्‍यो । शोकबाट निस्कनसाथ १४ चैतमा नयाँ सरकारले गिरफतार गर्‍यो । अदालतको आदेशबाट २६ चैतमा रिहा भएका ओलीले पित्तथैलीको शल्यक्रिया गराए ।

शल्यक्रिया पश्चात गुण्डु फर्किएका ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ‘अध्यक्षको स्वास्थ्यमा समस्या देखिएको छ । उहाँ ठीक नभइ बैठक बस्दैन होला,’ केन्द्रीय कार्यालय स्रोत भन्छ ।

निर्वाचनको सर्मनाक पराजयबारे समीक्षा गर्नेगरी एमालेका बैठक नबसेपनि नेता–कार्यकर्ताहरूको छटपटी भने लुकेको छैन । सामाजिक सञ्जालको स्टाट हेर्दा पनि उनीहरूको छटपटी बुझ्न सकिन्छ । पदाधिकारी तहकै नेताहरूले सामाजिक सञ्जाल मार्फत पुनर्गठन गर्नुपर्ने आवश्यकतामाथि बहस गरिरहेका छन् ।

केन्द्रीय सदस्य समीक बडाल, सामाजिक मनोविज्ञानको सम्मान गर्नु पनि पुनर्गठन आवश्यकता देख्छन् । ‘असल आचरण, सामाजिक अडिट र शुद्ध पुलिस रिपोर्ट भएका मानिसहरूलाई अगाडि ल्याएर एकताबद्ध भएर अघि बढे मात्र पार्टी जाग्छ,’ उनी भन्छन् ।

एमालेभित्रको यो छटपटीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि सक्रियता बढाएकी छन् । पार्टीभित्र र बाहिरका वृत्तसँग लगातार छलफल गरिरहेकी छन् । एमालेकै पदाधिकारीहरूसँग पनि नेतृत्व पुनर्गठनबारे अन्तरक्रिया गरिसकेकी छन् ।

एमाले पूर्वउपाध्यक्ष भण्डारी गत मंसिरमा सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व पुनर्गठन गर्ने पक्षमा थिइन् । तर पार्टी सदस्यता नवीकरण नगरेर भण्डारीलाई एमालेको राजनीतिमा आउन रोक लगाइएको थियो । गत निर्वाचनमा एमालेको सर्मनाक पराजय भएपछि भण्डारीको सक्रियता बढेको छ ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?